आफूले जन्म मिति नसच्याएको न्यायाधीश खड्काको स्पष्टीकरण

काठमाडौँ । सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काले आफूले एउटा मात्र नागरिकता लिएको र आफ्नो जन्म मिति २०१४ साल जेठ २ गते नै भएको बताएकी छन् । आफूले २८ माघ २०३३ मा जिल्ला प्रशासन कार्यालयबाट लिएको नागरिकतामा उमेर १९ वर्ष भए पनि सम्पूर्ण शैक्षिक प्रमाणपत्र तथा अरू कागजातमा जन्म मिति २०१४/२/ २ नै कायम रहेको समेत उनले बताएकी हुन् ।

आफ्नो जन्म मितिबारे उठेको विवादबारे स्पष्टीकरण दिन शुक्रबार विज्ञप्ति निकालेर न्यायाधीश खड्काले न्याय परिषद् बुलेटिन प्रकाशित गर्ने क्रममा केही वर्ष त्रुटि बस आफ्नो जन्म मिति २०१३/१०/२८ उल्लेख भएको र परिषद्ले नै त्यो त्रुटि सच्याएको बताएकी हुन् ।

न्यायाधीश खड्काले निकालेको विज्ञप्तिमा भनिएको छ,  ‘परिषद् आफैँले त्रुटि सच्याई २०७१ देखि २०७८ साल पौष ३ गतेसम्म प्रकाशित न्याय परिषद् बुलेटिनहरूमा मेरो वास्तविक जन्म मिति २०१४/०२/०२ भनी उल्लेख गरिएकाले मेरो जन्म मिति सम्बन्धमा कुनै प्रकारको संशय वा भ्रम रहनु पर्ने कारण छैन ।’

न्याय परिषद्ले त्रुटिवश आफ्नो वैयक्तिक विवरण फरक लेखिँदा आफ्नो वैयक्तिक चरित्रमा प्रश्न उठाउनु उचित नहुने पनि उनले बताएकी छन् ।

न्याय परिषद्‌मा राखिएको आफ्नो शैक्षिक प्रमाणपत्रहरूमा आफ्नो जन्म मितिको पूर्ण र यथार्थ विवरण रहेको उल्लेख गर्दै न्यायाधीश खड्काले आफूले जन्म मिति सच्याउनुपर्ने कुनै कारण नभएको र आफूले जन्म मिति पनि नसच्याएको बताएकी हुन् । न्यायाधीश खड्काले जन्म मिति सच्याएको बारेमा समाचार प्रकाशित भएपछि उनले शुक्रबार त्यसको खण्डन गरेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 16 =