एमालेको झगडाले मन्त्री भएकी लिम्बुवान सांसद

विराटनगर । देशमा नै लिम्बुवानको गढ भनेर कोशी पूर्वको ९ जिल्लालाई चिनिन्छ । यहीँबाट लिम्बुवान प्राप्तिको आन्दोलन शुरु भयो र यो आन्दोलन अहिले पनि उस्तै अवस्थामा छ । लिम्बुवानको माग गर्दै विभिन्न संघ संस्थाले आन्दोलन गर्दै आएपनि पछिल्लो समय लिम्बुवानको आन्दोलन सेलाएको जस्तो देखिन्छ ।

अहिले सत्तामा पुगेको लिम्बुवानको माग उठाउने मध्येको एउटा शक्तिशाली पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रदेश १ मा एकजना मात्र सांसद छन् । नेकपा एमालेको सरकार ढलेपनि अहिले सत्ता र सरकारमा प्रतिनिधित्व गर्ने मौका यो दलकी एक्ली सांसद विष्णुमाया तुम्बाहाम्फेले पाएकी छिन् । समानुपातिकबाट एकजना सांसद पाएको मञ्चले प्रदेश १ मा गठबन्धनको सरकार बनेपछि सरकारमा जाने मौका पाएको हो ।

प्रदेश-१ सभा सदस्य तुम्बाहाम्फे ५ दलीय गठबन्धनबाट सामाजिक विकास राज्यमन्त्री बनेकी हुन् । गत कात्तिक १६ गते ५ दलीय गठबन्धनबाट उनी मन्त्री हुने मध्येकी एक मात्र राज्यमन्त्री हुन् । भौतिक पूर्वाधार, सामाजिक विकास, आन्तरिक मामिला तथा कानन मन्त्रालयमा पूर्ण मन्त्रीहरू नियुक्त भए तर उनलाई राज्यमन्त्री बनाइएको छ ।

राजनीति घटनाक्रमको मौका
सत्तामा पुगौँला मन्त्री बनौला भनेर कहिल्यै नसोचेकी तुम्बाहाम्फेको लागि एउटा मौका आइलाग्यो जसले उनलाई सत्तामा पुर्‍यायो । एमालेको बहुमत भएको प्रदेश १ मा ५१ जनाबाट नेकपा एकीकृत समाजवादीमा १० जना सांसद गएपछि एमालेको नेतृत्वको सरकार ढल्यो र गठबन्धनको सरकार आयो ।

त्यही गठबन्धन सरकार भित्र उनले पनि मन्त्री बन्ने अवसर पाइन् । ‘राजनीतिक घटनाक्रमले गर्दा यस्तो मौका पाइयो,’ उनी भन्छिन्, ‘यसका लागि विशेष धन्यवाद नेकपा एमालेलाई दिनुपर्छ । एमालेमा झगडा नगरेको भए हामीले कहाँ मौका पाउने थियौँ र ।’ सडक, सदन र आन्दोलनमा रहेको अवस्थामा मन्त्रीसम्मको मौका पाइएला भनेर नसोचेको उनले सुनाइन् ।

एउटा परिस्थितिको बिचमा पाँच दलीय गठबन्धन बनेपछि सरकार चलाउनुपर्ने अवस्था काँधमा आएपछि सरकारमा जाने की नजाने भनेर पार्टी भित्रको छलफलको आधारमा सरकारमा गएको उनले बताइन् । ‘आन्दोलन मात्रै गरेर पनि नहुने रहेछ, सदनमा पनि जाने, सरकारमा पनि जाने र सडकको आन्दोलन पनि कायम राख्ने भन्ने सोचले नै सरकारमा गइयो,’ उनले भनिन्, ‘पार्टीमा लामो समय छलफल भएपछि  सरकारमा जाने निर्णय भएको हो ।’ सत्ता र शक्ति बेगर केही पनि नहुँदो रहेछ भन्ने उनको बुझाई छ ।

गठबन्धनले पहिचानवादीको कुरा सुन्नुपर्छ 
सरकारको मन्त्रीमा नियुक्त भएकी सामाजिक विकास राज्यमन्त्री तुम्बाहाम्फेले गठबन्धनको सरकार बनेकोले पहिचानवादीका कुरा पनि सुनुवाइ हुनुपर्ने बताएकी छिन् । ‘गठबन्धनले पहिचानवादीहरूको कुरा पनि सुन्नु पर्छ,’ राज्यमन्त्री तुम्बाहाम्फेले भनिन्, ‘हाम्रो मुख्य मुद्दा भनेकै प्रदेशको नाम हो । प्रदेशले अहिलेसम्म नाम पाएको छैन । नामकरण हुँदा ऐतिहासिक पृष्ठभूमिको आधारमा हुनुपर्छ यो अडानबाट म पछि हट्दै हट्दिन ।’

सरकार सहमतिमा पनि जानुपर्ने, सहकार्य गर्नु पर्ने, अरूको अस्तित्व पनि स्वीकार गर्नुपर्ने उनको भनाई छ ।  ‘अब एकलौटी त सरकारले पनि गर्न पाउँदैन, उनले भनिन्, हामी पनि सरकारमा छौँ, हाम्रो कुरा पनि सुन्न पर्‍यो ।’ दुई महिना अघि राज्यमन्त्री बनेकी तुम्बाहाम्फेले अहिलेसम्म मन्त्रालयमा मात्र प्रवेश गरेको तर भित्रको कामको बारेमा मेसो नपाएको बताएकी छिन् । ‘मन्त्रालयको भर्खर ढोकाबाट छिर्ने काम भएको छ,’ उनी भन्छिन्, ‘भित्र छिरेर कोठामा पसेर चुलोचौका घुम्ने समय पाएको छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *