‘एक विद्यालय एक नर्स’ प्रभावकारी बन्दै, विद्यालयमै नि:शुल्क प्याड

अछाम । स्कुलमा पढाइ भइरहेकै बेलामा टाउको, पेट दुखेमा विद्यार्थी घरै जानुपर्ने बाध्यता अझै पनि छ । अति भएमा नजिकैको स्वास्थ्य केन्द्र पुग्छन् । मंगलसैन नगरपालिका- ९ वलिगाउँमा रहेको मंगला नेरा माविका छात्राले यस्तै समस्या भोग्थे । तर, सुदूरपश्चिम सरकारले सञ्चालन गरेको एक विद्यालय एक नर्स कार्यक्रम त्यहाँ पुगेपछि भने सहज भएको छ ।

मंगला नेरा मावि कक्षा १० मा अध्ययनरत छात्रा सृजना रावलले विद्यालय नर्स कार्यक्रम सञ्चालनपछि सहज रूपमा विद्यालयमै उपचार पाएको बताइन् । पहिले रजस्वला हुँदा विद्यालयमा प्याड नपाउँदा समस्या हुने गरेको भए पनि अहिले भने निःशुल्क सेनेटरी प्याड पाउँदा सहज भएको उनले बताइन्  ।

पहिले स्थानीय स्वास्थ्य चौकीमा प्याड किन्न जाँदा समस्या हुनुका साथै अध्ययनमा समेत बाधा पुग्दै आएको थियो । अहिले विद्यालयबाट निःशुल्क प्याड पाउँदा सहज भएको छ । सृजना मात्र नभई सोही विद्यालयमा अध्ययनरत माया भण्डारी पनि विद्यालय नर्स कार्यक्रम लागू भएपछि धेरै कुरामा सहज भएको बताउँछिन् ।

‘विद्यालयमा रजस्वला हुँदा अगाडि पछाडि बसेका साथीले जिस्क्याउने गर्थे,’ उनले भनिन्, ‘तर अहिले विद्यालय नर्सले जस्तो सुकै समस्या आउँदा पनि औषधि उपचारका साथै सामाग्री वितरण गर्ने भएपछि सजिलो भएको छ ।’ विशेष गरेर किशोरीले महिनावारीको समस्या धरै भोग्नु परेको थियो । विद्यालयमा महिनावारी भएमा पढाई नै छोड्नु पर्ने अर्को समस्या थियो । महिनावारीकै कारण धेरै दिन पढाई छुट्दै आएको थियो ।

करिब २ वर्षदेखि विद्यालयमा यस्ता समस्या नभएको विद्यालयका प्रधानाध्यापक भीमबहादुर भण्डारीले बताए । एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन भएसँगै विद्यालयका सम्पूर्ण गतिविधिमा परिवर्तन आउनुको साथै  समग्र विद्यालयको प्रगति भएको उनले बताए ।

विद्यार्थीले मात्र नभई अभिभावकले पनि सरसफाइमा विशेष ध्यान दिन थालेको उनको भनाइ छ । शौचालय गएपछि साबुन पानीले हात धुने बानीको पनि अभ्यास भएको छ। उनले महिनावारी भएको समयमा विद्यालय आउने छात्राको तुलनामा बढ्दै गएको पनि जानकारी दिए  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *