रोपेको धान, भित्रियो धतुरो

रेशम किरोले मानिसको आङ ढाकिदिएर अमर हुने काम गर्छ । कमिलाले मेहनत सिकाउँछ । कुकुरले स्वामीभक्तिमा कदाचित गद्दारी गर्दैन । शक्तिशाली भएको दम्भमा बाघले हप्ता त के भोलिका निम्ति पनि आहारा सञ्चय गरेको थाहा छैन । निरीह प्राणी भ्यागुतो र मृगपछि नै प्रकृतिले सर्प र बाघको निर्माण गरेको हो । प्रकृतिको सरल व्याकरणभित्र नेपाली मनोदशा विचित्र खालको छ । जुनसुकै शासक आएपनि उसका दुखान्त कथा पढ्नु नयाँ पुस्ताको नियति बन्दै आएको छ । हुँदा हुँदा राजा महाराजादेखि अस्तिसम्म लोकलाई तिरिमिरी पार्ने शासक बनेका पारस शाहसमेत इतिहासको एउटा दुखिया पात्र बन्ने सुनिश्चित छ ।

हामी नेपालीकै जिन नै आँसुमा डुब्न सोख मान्ने हो कि जस्तो भइसक्यो । सधैँ एक्लो दुखमा रमाउने पुस्तैनी विशेषता बन्दै गयो । बटुवाले एक गिलास खानेपानी माग्दा ‘छोरीको पेवा’ भनेर दिन इन्कार गर्ने गाउँमा आज घरघर पानी पुगेको छ । दिनभरि लगाएर एक गाग्री पानी ल्याउन खटिने सयौँको त्यो जनशक्ति मिलेर ६ महिना मेहनत गरिदिएको भए त त्यतिबेलै गाउँमा पानी आउने रहेछ नि । गफ धेरथोरै होला रे, पानीको स्रोत त घटीबढी हुन्न । पानी कसैले एक थोपो बनाउने सामर्थ्य राख्दैन । यो त रिचार्ज हुने बस्तु हो । जब घोडा भन्दाअघि बग्गीको साम्राज्य बढ्छ, त्यसबखत नीति फन्टुस बन्दै जान्छ । उनीहरूलाई थाहा हुन्न कि मुखुुण्डो लगाएर अनुहारको आवरण छोपिँदैन ।

२१ वर्षकी रन्जु दर्शनाले राजनीतिमा आउने रहर त गरिन तर उनलाई टेष्टमै हत्याइदिए । उज्ज्वल थापा दैवको प्यारो बन्दा धेरै छाती फुटाएर रोए । उनका लागि एकैदिनमा आधा करोड उपचार खर्च जुट्यो । आखिर तिनै मतदाता र दानवीरले आफ्नो क्षेत्रमा ईश्वर पोखरेललाई विजयमाला पहिर्‍यायाए ।

समाजको नर्सरीमा फैलिएको यही संस्कृति राजनीतिमा फोटोकपी भएर फक्रिएको छ । न व्यक्ति फेरिए, न चरित्र फेरियो । मतदाता उस्तै देखिए । फेसबुकमा क्रान्ति उराले तर भोट तिनै गाली गरिने जनमाथि खन्याए । अमेरिका जस्तो देशमा घरजग्गा कारोबारी डोनाल्ड ट्रम्प सारथि भए । छिमेकी भारतमा केजरीवाल, अन्ना हजारे, योगी आदित्यनाथजस्ता पात्र सतहमा आए । चीनमा त झन् दुई बिस हाराहारी उमेरकाहरु कार्यकारी तहमा पुगिसके । २१ वर्षकी रन्जु दर्शनाले राजनीतिमा आउने रहर त गरिन तर उनलाई टेष्टमै हत्याइदिए । उज्ज्वल थापा दैवको प्यारो बन्दा धेरै छाती फुटाएर रोए । उनका लागि एकैदिनमा आधा करोड उपचार खर्च जुट्यो । आखिर तिनै मतदाता र दानवीरले आफ्नो क्षेत्रमा ईश्वर पोखरेललाई विजयमाला पहिर्‍यायाए । आजका मितिसम्म जेलनेल र कोरा भाषण नै बिकिरहेछ । आफूले पाएको भन्दा अरूको उपलब्धिमा नेताहरू जलेका छन् । केपी ओलीलाई गुमेको शक्ति र सत्ताले भन्दा प्रचण्ड र माधव नेपालको छायाले झस्काउने गरेको छ । यदि दलको मर्यादा नाघेको अपजस खेप्नु पर्दैनथ्यो भने कमल थापा उनको पहिलो रोजाइका पात्र हुन्थे । शेरबहादुर देउवालाई आफ्नो भाग कसरी जोगाउने भन्ने ध्याउन्न छ । आर्थिक लाभांशको शेयर र राजनीतिको मेयर दुवै खोज्दा नेताहरू झन्झन् नाङ्गिँदै गएका छन् । चण्डमुण्ड, हुक्के, ढोके, नन्दीभृंगीले बचाएको लाजले कति दिन धान्नु ?

नेपालमा अब बेथितिको उपचार मतदानबाट नहुने पक्का छ । मतदान मर्यादा वनभोजको रमाइलोभन्दा माथि देखिएन । यहाँ मलेसियाको कायापलट गर्ने मोहम्मद महाथिर, सिंगापुर बनाउने लिक्वान, विहारलाई दोहोरो अंकको आर्थिक विकासमा पुर्‍याउने नितिशकुमारको संघर्षगाथाको कुनै प्रभाव पर्दैन । हामी पछि परेको नजानेर, नबुझेर, नदेखेर नभई नियत नै खोटो भएर हो । सरकारको नीति कार्यक्रमभन्दा मुन्द्रेको कमेडीको भाउ छ । बब मार्लिनको लट्टे कपाल बिक्छ । राखी सावन्तको छिल्लिएको मादक नखरा बहसको विषय बन्छ । नेपालमा मानिसको भिजन हैन, पोर्नस्टार सन्नी लियोनको अद्र्धनग्न जवानी बिक्छ । जनकपुरका रामवरण हराउँछन्, मिथक रामको खोजी हुन्छ । अझ विश्वबाट काम नलाग्ने भनी मिल्काइएको माओ डक्टिन भित्तामा पुर्‍याइँदा पनि अझैँ टालाटुली बटुलीका शैलीमा तानतुन पारेर राजनीतिक भोटो सिउने प्रयास गरिन्छ । यसरी क्रान्तिका नाममा रोपिएका धतुरोबाट धानको अपेक्षा गरिन्छ । अनि धान नफल्दा पुर्पुरोलाई धिक्कार्ने काम हुन्छ । विकासवादले नभई इच्छाशक्तिले हुन्छ भन्ने नर्सरी बालकले बुझेको सत्य तिनका हजुरबा पुस्ताको मथिंगलमा पसेको छैन । जीवनको पूर्वाद्धलाई उपेक्षा गरियो भने उत्तरार्द्धमा पुगेर बुझेको सत्य काम लाग्दैन । भूपी शेरचनको कविताले अरूलाई मिठास दियो ।

आर्थिक लाभांशको शेयर र राजनीतिको मेयर दुवै खोज्दा नेताहरू झन्झन् नाङ्गिँदै गएका छन् । चण्डमुण्ड, हुक्के, ढोके, नन्दीभृंगीले बचाएको लाजले कति दिन धान्नु ?

तर जीवनको उत्तरार्द्धमा उनले निष्कर्ष निकाले- आफूलाई दुईवटा क ले बिगारे । जसको अर्थ थियो- कविता र कम्युनिष्ट । जीवनभर नास्तिकवादमा कलम चलाउने लक्ष्मीप्रसाद देवकोटाले ब्रम्हनालमा पुगेपछि भने- ‘आखिर श्रीकृष्ण रहेछ एक ।’ विश्व राजनीतिमा निरंकुशताको सजीव पात्र सम्झिइने हिटलर कालिदासको साकुन्तल महाकाव्यका प्रशंसक मात्र भएनन्, आर्य संस्कृतिको प्रतिरक्षा गरे । त्यसैले राजनीतिका नाममा मनमा एकथोक, बोलाई अर्को र गराई तेस्रो खाले संस्कृति नत्यागेसम्म हाम्रा लागि राजनीति सेवा हैन, धोकाको अर्को नाम हुने निश्चित छ । सर्वहारा हैन, सर्वआहारा अनि दाँती मिलेका घर भएका धनाढ्यहरू कम्युनिष्ट पार्टीको चुल्हो चौकोमा पुगेपछि रगत र पानीको भेद अन्त्य भएको छ । धनयुद्धको राप र तापमा टिक्न नसकेर जनयुद्धका महिषीहरूको हातमा पश्चात्ताप सिवाय अरू केही हात लागेन । माओवादी नेतृत्वले जब शहरी नुनसँग बढी सम्झौता गर्न थाल्यो, ऊभित्रको रातो रङ्ग खरानी बन्दै गयो ।

पुरुषको सफलता पछाडि महिलाको हात हुन्छ । यो सुल्टो व्याख्या भयो । तर उसको असफलता पछाडि महिलाको हात हुन्छ हुँदैन ? यो पेचिलो प्रश्नको उत्तर त्यति सहज छैन । धन त आउँछ, जान्छ । धन गएर मानिस बिग्रँदैन, तर चरित्र गयो भने मरेकोमर्‍यै हुन्छ । विश्वका राजनेताहरूले बदनामीबाट बच्न पारिवारिक बन्धन चुँडाल्ने हिम्मत गरेका छन् । उनीहरूले राजनीतिको अम्लेठ खान खोजे तर अण्डाको माया गरेनन् । पतिको शारीरिक कुरूपताप्रति तीव्र वितृष्णा भाव राख्ने मेरी टोड लिंकन कर्कश स्वभावकी थिइन् । विलासी जीवनको चाहना राख्थिन । यस विपरीत अब्राहम लिंकन शान्त, सादा, सरल र विनयी थिए । कतिसम्म भने स्प्रिंग फिल्डमा रहँदा उनले लिंकनको मुखमा तातो कफी मिल्काइ दिएकी थिइन ।

संसारको कुनै पनि मनुष्यले आफ्नाे दाम्पत्य जीवन पीडादायी र कष्टकर बनोस् भनेर चाहेको हुँदैन । समाजका सामान्य मानिसहरू मात्र होइन खातीप्राप्त महामानवहरूको सोचाइ पनि यस्तै हुन्छ । तर शक्ति र सत्ताको राजकीय मर्यादाका कारण यी महान् दम्पतीको पारिवारिक जीवन सदैव विषादपूर्ण रह्यो । भारतीय स्वतन्त्र संग्रामका महारथी महात्मा गान्धी पत्नी कस्तुरबा गान्धीलाई एकसय चार ज्वरो आउँदा पनि वास्ता गर्दैनथे । विश्वविख्यात राजनेता मण्डेला जब सत्ताको सप्रभुताको सिंहासनमा बस्न पुगे दुखका दुष्कर यात्रामा साथ दिने पत्नी बिन्नीलाई त्याग नगरी धर पाएनन् । लोकतन्त्रको मातृभूमि मानिने बेलायती युवराज चाल्र्स र डायना परस्परमा छिन्नभिन्न हुनुपर्‍याे । माओत्सेतुङ व्यक्तिगत हैसियतमा अत्यन्त खर्च कम गर्थे । पुरानो कोट र खुइलिएको कमिज नफाटुन्जेल लगाउँथे । १९५८ तिर चिया र मासु महँगो ठानेर खानै छोडिदिए । तर श्रीमती बटुल्ने र सन्तान जन्माउनेमा यिनी लापर्बाह थिए । ४८ वर्षको उमेरमा २३ वर्ष कान्छी ज्वांगसंग चौथो घरजम गरे । उनको विलासी व्यवहार सम्झिनेहरू अहिले पनि नाक खुम्च्याउँछन् । आफ्नो परस्त्री प्रतिको रुचिमा सुशीलाको गुनासो रहने गरेको स्वयं बीपीले उल्लेख गरेका छन् ।

पुरुषको सफलता पछाडि महिलाको हात हुन्छ । यो सुल्टो व्याख्या भयो । तर उसको असफलता पछाडि महिलाको हात हुन्छ हुँदैन ? यो पेचिलो प्रश्नको उत्तर त्यति सहज छैन । धन त आउँछ, जान्छ । धन गएर मानिस बिग्रँदैन, तर चरित्र गयो भने मरेकोमर्‍यै हुन्छ ।

अरू त अरू हरे कीर्तनमा लागेकी श्रीमतीको व्यवहारबाट जीवनको उत्तरार्द्धमा देशको मन्त्री भइसकेका लक्ष्मीप्रसाद देवकोटा आजित थिए । त्यसबेलाका धर्मगुरु कविप्रसाद गौतममाथि धर्मको आडमा समाज भाँडेको आरोप थियो । धर्म आवरणमा उनी महिलालाई जुठो ख्वाउने, खुट्टा ढोगाउने, खुट्टाको धुन लगाए पानी ख्वाउनेजस्ता काम गर्थे । एकातिर रोगी देवकोटा उपचार खर्च नपाएर थलिएका थिए भने अर्कातिर देवकोटा पत्नी मनदेवीमा यस्तो धार्मिक भूत चढेको थियो कि उनी लोग्नेको आँखा छलेर दहीको कतारोभित्र चाँदीको मोहोर लुकाएर गुरु पोस्ने गर्थिन् । समाजमा अपराध बढेपछि गेरुवस्त्रधारीहरुको व्यापार पनि स्वतः बढ्छ । समय फेरियो, पात्र फेरियो तर शैली र प्रवृत्ति अहिले पनि उस्तै छ । जताततै कर्मवादीभन्दा भाग्यवादीहरूको उपस्थिति सघन बन्दै गएको छ ।

बुद्ध, एरिस्टोटल प्लेटो कसैको वाद थिएन, समूह थिएन, झण्डा थिएन । तर विचारका लागि सधैँ सधैँ बाँचेका छन् । पूज्य छन् । धृतराष्ट्रले दुर्योधनको दुर्गुण, अहङ्कार र स्वार्थबारे पूर्ण जानकारी राख्दा राख्दै पनि मोह त्याग्न नसक्दा महाभारतको युद्ध भई सुखद सपना दुखद घटनामा अवसान भयो । महाभारत सकिएपनि आखिर आँसुको कथा सकिएन । पाण्डवहरू जितेर पनि हारे । राजनीतिमा नैतिक बल गुमेपछि नेताको अवस्था भनेको रोबर्ट मान्छेको बचाई मात्र हो । सर्वहाराको शासन, गरिबको सत्ता, जनवाद यी सबै पण्डित र धामीका मन्त्रजस्तै हुन् । गुजुल्टिएको चाउचाउ सिधा होला तर यी शब्दको अर्थ बुझ्न कठिन छ । हरेक शास्त्र हुने र नहुने बीचको लडाइँमा केन्द्रित छ । हुनेले नहुनेलाई थोरै मात्र मन फुकाएर दिने हो भने समस्याको गाँठो आफैँ फुक्छ । तर यही रसायन नमिलेकै कारण महाभारतका श्रृंखला कहिल्यै सकिएनन् ।

औँसीको रातमा उज्यालोको गीत गाउनु ती चिल्ला सुकिलाहरूको दिनचर्या हो । रगत चुस्न आउने लामखुट्टे त टाढैबाट टिं…..गर्दै थाहा दिएर आउँछ भने दुष्ट आत्मा भएका मान्छेहरूले पनि आफू बस्ने घर कालो रङले पोतिदिए कमसेकम असल मानिसले गोता खानु पर्दैनथ्यो कि ?

यदि संसारमा सर्वहाराको राज्य हुन्छ भने नेपालका कम्युनिष्टहरुले आदर्श नेता परिवर्तन गरी दिगम्बर रुपधारी महादेवलाई स्थापित गर्नुपर्छ । फगत: खरानी र बाघको छालामा रमाएका महादेवजस्ता बिन्दास पात्र शायदै राजनीतिमा पाइएलान् । सधैँका मस्तराम महादेवको परिवार पार्वतीको भरोसामा चलेको थियो । उनीहरूको परिवारभित्रको अन्र्तद्वन्द्व कुनै पनि भौतिकवादी, मार्क्सवादी चिन्तनभन्दा लाखौँ गुना बढी चाखलाग्दो थियो । पिताको वाहन सर्पबाट मुसो बचाउन गणेशले गर्नुपर्ने भगीरथ प्रयास, अनि कुमारको मयूरबाट सर्प बचाउन पिता महादेवलाई पर्ने धौधौ थोरै सास्तीपूर्ण थियो होला र ? आत्मरक्षाको द्वन्द्वमा फसेको परिवारको डुङ्गा पार्वतीको बुद्धिमतापूर्ण व्यवहार र महानताका कारण चलेको थियो । राजनीतिमा पनि यस्तै त्राण दिने व्यक्तित्वको खाँचो छ । आँपको बोटमा महत्त्वपूर्ण आँपै हो तर आँप फल्न हाँगाबिँगा जरा सब चाहिएजस्तै राजनीतिका अंगलाई ध्वस्त पारेर निर्माणको भाषण गर्नु भनेको वनवास जानुअघि बन मास्नुजस्तै हो ।

व्यक्ति असफल हुन्छ, राजनीति असफल हुँदैन । नेता खोटो मोहोर हुनसक्छ, विचार खोटो हुँदैन । राम्रो विचार र सुन जति पुरानो भयो, उति चहकिलो हुन्छ । मानिसको लामो यात्रा ठूलो पहाडले होइन, जुत्तामा अड्किएको सानो ढुंगाले छेक्छ । समुद्रमा कति पानी छ भनेर तर्क कुतर्क गर्नुको अर्थै छैन नि । बरु तपाईँको लोटीमा कति पानी अटाउँछ ? त्यो पो मुख्य सवाल हो । काठमाडौँका केही पात्र यति पुलपुलिएका र पाखण्डी छन् कि डाक्टरले भनिदिने हो भने तिनीहरू पानीसमेत साबुनले धोएर खान बेर लगाउँदैनन् । औँसीको रातमा उज्यालोको गीत गाउनु ती चिल्ला सुकिलाहरूको दिनचर्या हो । रगत चुस्न आउने लामखुट्टे त टाढैबाट टिं…..गर्दै थाहा दिएर आउँछ भने दुष्ट आत्मा भएका मान्छेहरूले पनि आफू बस्ने घर कालो रङले पोतिदिए कमसेकम असल मानिसले गोता खानु पर्दैनथ्यो कि ?

©[email protected]

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *