धार्मिक आस्थाकी देवी पाथीभरा (तस्बिरहरू)

ताप्लेजुङ । पूर्वको प्रसिद्ध धार्मिक स्थलहरूमध्येको एक हो, ताप्लेजुङको पाथीभरा मन्दिर । यहाँ हरेक वर्ष देश तथा विदेशबाट हजारौँ दर्शनार्थीहरु पुग्ने गर्दछन् । पाथीभरा माताले आफूले मागेको कुरा पूरा गरिदिने मान्यता रहिआएकोले पनि यहाँ दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ ।

ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारदेखि २५ किलोमिटर दुरीमा रहेको पाथीभरा ३ हजार सात सय ९४ मिटर उचाइमा अवस्थित छ । यहाँ पुग्नको लागि फुङलिङ बजारबाट काफ्लेपाटी (सानो फेदी) सम्म २० किलोमिटर गाडीमा र त्यसपछि ५ किलोमिटर उकालो हिँडेपछि पुग्न सकिन्छ ।

पाथीभरादेवी एक भेडा गोठालोले पत्ता लगाएको किंवदन्ती छ । भेडा चराउने क्रममा उनका सबै भेडाहरू अचानक हराएपछि खोज्दापनि भेटेनन् तर, उक्त दिन राति सपनामा एउटी माता आएर पशु बलिदिए उनका भेडा फिर्ता पाउने बताउँछन् र सोहीअनुरूप पशु बलि दिएपछि उनका सबै भेडा सोही स्थानमा फेला परेको भनाई रहेको छ ।

त्यसपश्चात् लगातार बलिदिएर पाथीभरा माताको पूजा गर्ने चलन रहिआएको छ । पाथीभरा दर्शन गर्न हरेक वर्षको असोज, कार्तिक र मंसिर दोस्रो हप्तासम्म भीड लाग्ने गर्छ भने वैशाखमा पनि धेरै सङ्ख्यामा दर्शनार्थीहरु आउने स्थानीय बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *