भारतीय भन्सार प्रमुखसँग व्यापार सहजीकरण गर्न विराटनगरका व्यापारीको माग 

विराटनगर । नेपाल भारत सहजीकरणको लागि विराटगरका व्यापारीले भारतीय भन्सार जोगबनीका भन्सार प्रमुख पीके कट्यारसँग भेटेका छन्  । सामानको आयात निर्यातमा हुने समस्यालाई सहजीकरणको लागि भारतीय भन्सार प्रमुखसँग भेटेको मोरङ व्यापार संघले जनाएको छ।

भारतीय भन्सारका अधिकारीहरूसँग भेट गरी नेपाल–भारत व्यापार सहजीकरण विषयहरूमा छलफल गरेको संघका वरिष्ठ उपाध्यक्ष नवीन रिजालले जानकारी दिए । पटनाको कस्टम्स कमिश्नरद्वारा गठित कस्टम्स क्लियरेन्स फेसिलिटेशन कमिटी (सीसीएफसी)को सदस्यको रुपमा रहेको मोरङ व्यापार संघले सीमानाका भारतीय पक्षबाट हुने अवरोधको बारेमा जानकारी गराएको थियो  ।

संघका अध्यक्ष  प्रकाश मून्दडाको नेतृत्वमा गएको संघको टोली मोरङ–सुनसरी आर्थिक कोरिडोरलाई भारतले विशेष सहजीकरण गर्दै जानुपर्ने बताउँदै नेपाल–भारत व्यापार, परिवहन र विभिन्न विषय समेटेर सुझाव दिएको थियो ।

जोगबनी र विराटनगरको आईसीपीहरूमा निर्मित रेल्वे यार्ड तत्कालै सञ्चालनमा ल्याउनु पर्ने, रेल्वे -याकमार्फत नेपालका लागि जोगबनी स्टेसन आउने मालवस्तुहरु हाललाई विराटनगर भन्सार कार्यालयबाटै जाँच पास गराउने व्यवस्था गरिनु पर्ने, संघले उठाएको माग बमोजिम बथनाहामा निर्माणाधीन मीरगञ्ज पुलको वैकल्पिक पुलको निर्माण कार्य तत्कालै सम्पन्न गरी शीघ्रताका साथ सञ्चालनमा ल्याउनु पर्ने सुझाव दिएको छ।

भन्सार जाँच पासका पूर्वाधारहरू थप गर्दै जाँच पास कार्यलाई तीव्रता दिइनु पर्ने, नेपाली कृषि उपजहरूको निर्यातमा सहजीकरण हुने गरी पूर्वाधारहरू निर्माण गरिनु पर्ने, भारतको दलखोलास्थित रेल्वे जक्सन पार गर्न मालवाहक सवारी साधनहरूका लागि फ्लाइओभर निर्माण गर्नु पर्ने पनि सुझावमा भनिएको छ। जोगबनीमा अध्यागमन सुविधा उपलब्ध गराउनु पर्ने, जोगबनी स्टेसनको सौन्दर्य  बढाउँदै भारतका विभिन्न सहर पुग्ने रेल्वेहरू थप गर्नुपर्ने सुझाव दिइएको वरिष्ठ उपाध्यक्ष रिजालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *