एक महिनाभित्र इनरुवा अस्पताललाई व्यवस्थित गरिने

विराटनगर । प्रदेश १ अन्तर्गत रहेको जिल्ला अस्पताल ईनरुवालई व्यवस्थित गर्नेबारेमा छलफल सुरु भएको छ । राजनीतिक आडमा कर्मचारी सरुवा हुन थालेपछि जिल्ला अस्पताल सुनसरीको अवस्था बिग्रँदै गएको थियो ।

अस्पतालको स्तरोन्नति नभएको भन्दै स्थानीयले मन्त्रीसहितलाई ध्यानाकर्षण गराएपछि सामाजिक विकासमन्त्री जयराम यादवले एक महिनाभित्र अस्पतालको स्तरोन्नति हुने बताएका हुन् । अस्पतालमा लामो समयदेखि मेडिकल सुपरिटेन्डेन्ट पद रिक्त रहेको र आवश्यक चिकित्सकको अभावलाई पनि एक महिनाभित्र व्यवस्थित गरिने भएको हो ।

सोमबार जिल्ला अस्पताल इनरुवामा पुगेको सामाजिक विकासमन्त्री यादवसहितको टोलीलाई स्थानीयले अस्पतालको व्यवस्थापनमा ध्यान दिन आग्रह गरेका थिए । इनरुवा अस्पताल सुदृढीकरणसम्बन्धी गरिएको छलफलका क्रममा प्रदेशले नियुक्त गर्ने अस्पताल प्रमुखको जिम्मेवारी दिनुपर्ने, विशेषज्ञ डाक्टर तीनै तहको सरकारको समन्वयमा राखिनुपर्ने, स्वास्थ्यकर्मीको सुरक्षाका लागि राजनीतिक प्रतिबद्धता हुनुपर्ने सुझाव दिएका छन् ।

स्वास्थ्य बिमा कार्यक्रम प्रदेश सरकार मार्फत सञ्चालन हुनुपर्ने लगायतका विषय मन्त्री यादवसमक्ष प्रस्तुत गरेका थिए ।

अस्पतालका कर्मचारी तथा स्थानीय सरोकारवालालाई अस्पतालभित्र राजनीति नगर्न मन्त्री यादवले आग्रह गरेका छन् ।

अस्पताल अनुगमनमा सामाजिक विकास मन्त्रालयका सचिव कमलप्रसाद भट्टराई, स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाईँलगायतको टोली रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *