सडक अनुशासनका लागि ट्राफिक सप्ताह

पाँचथर । पाँचथरसहित प्रदेश नं १ का १४ वटै जिल्लामा सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताह–२०७८ सुरु भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नं १ र प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको आयोजना तथा प्रत्येक जिल्लामा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा सप्ताहव्यापी अभियान आजदेखि सुरु भएको हो ।

पाँचथरमा आज जिल्ला समन्वय समितिको सभाहल फिदिममा आयोजित कार्यक्रममा नयाँ नमूना माध्यमिक विद्यालयकी छात्रा उमा राईलाई हेलमेट लगाइदिएर प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले ट्राफिक सप्ताहको सुरुआत गरे । सप्ताहको सुरुआतअघि सचेतनामूलक प्लेकार्डसहितको -याली जिल्ला प्रशासन कार्यालयबाट सुरु भई फिदिम नगर परिक्रमापछि जिल्ला समन्वय समितिको सभाहलमा पुगी सभामा परिणत भएको थियो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार ट्राफिक सप्ताहअन्तर्गत आइतबारदेखि पुस १० गतेसम्म नियमित कार्यक्रम सञ्चालन हुनेछन् । पुस ५ गते सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणसम्बन्धी जानकारीमूलक पर्चा तथा पम्प्लेट वितरण गर्ने, बालबालिकालाई बाटो काट्ने नियमबारे जानकारी गराउने तथा कोभिड–१९ सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन हुनेछन् ।

यस्तै पुस ६ गते अव्यवस्थित पार्किङ हटाउने, सडक क्षेत्रका टहरा, निर्माण सामग्री, ठेलालगायत सामग्री हटाउने, ट्राफिक चिह्न तथा बोर्डको अनुगमन गरी स्थापना तथा पुनःस्थापना गर्ने कार्यक्रम रहेको छ । यसमा स्थानीय तह, नागरिक सङ्घ संस्थालगायतबाट सहयोग लिइने प्रहरी निरीक्षक विश्वकर्माले जानकारी दिए ।

यस्तै पुस ७ गते सवारीसाधनको अनुगमन गर्ने, सवारी चालकलाई पहिचान झल्किने पोशाक लगाउन प्रेरित गर्ने, सवारीसाधनको अवस्थाको परीक्षण गर्ने, सवारीसाधनको क्षमताको अनुगमन तथा चेक गर्ने, मालबाहक सवारीले यात्रु ओसारपसार गरे–नगरेको अनुगमन गर्ने, सवारी चालक तथा अटोरिक्सा चालकलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

यस्तै पुस ८ गते भीडभाड हुने स्थानमा सचेतनामूलक कार्यक्रम गर्ने, विद्यालय–क्याम्पस सम्पर्क कार्यक्रम सञ्चालन गर्ने, गाउँसम्म सचेतनामूलक कार्यक्रम विस्तार गर्ने, सवारीसाधनमा आरक्षण सिटको प्रयोगको अवस्था, भाडादर टाँसको अवस्था, भाडा असुलीको अवस्थाको अनुगमन गर्ने कार्यक्रम रहेको विश्वकर्माले जानकारी दिए।

यस्तै पुस ९ गते सवारी साधनका चालकको स्वास्थ्य अवस्था परीक्षण गर्ने तथा सवारीसाधनको यान्त्रिक अवस्थाको चेकजाँच गर्ने र पुस १० गते सरोकारवालासँग सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी सहायक निरीक्षक दीपक दुलालले जानकारी दिए ।

आज आयोजित ट्राफिक सप्ताह उद्घाटन कार्यक्रमका वक्ताले प्रहरीले थालेको अभियानमा नागरिक क्षेत्रबाट यथेष्ट सहयोग हुनुपर्नेमा जोड दिएका थिए । यस्तै सवारी दुर्घटना न्यूनीकरणका लागि आवश्यक पूर्वाधार विकास र विस्तारमा लाग्नसमेत उनीहरुले ध्यानाकर्षण गराए ।

पाँचथरमा सदरमुकाम फिदिम बाहिरका बजारसमेत विस्तार हुँदै गएकाले सदरमुकाम बाहिरसमेत ट्राफिक प्रहरी परिचालन गर्नुपर्ने, प्रयोगमा आउन नसकेको फिदिम–२ पल्लोटारस्थित बसपार्क सञ्चालनमा ल्याइनुपर्ने, बजार क्षेत्रमा अव्यवस्थित पार्किङ रोक्ने कार्यमा कडाइ गरिनुपर्ने, सचेतनाका कार्यक्रमलाई ग्रामीणस्तरसम्म पु¥याइनुपर्नेमा जोड दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले ट्राफिक सप्ताह प्रहरीको अभियान मात्रै नभएकाले सबै पक्षलाई सहयोग गर्न आग्रह गरे । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *