कथा कमरेडको (कविता)

घोर अन्धकारको
भयानक ठूलो उपासनापछि
कमरेड महाराजलाई
प्राप्त भएको असीम शान्ति
परम ज्ञान
ज्ञानको ज्योति
एकदम असामान्य हुनेछ ।

घोडामा सवार नकचरो समयलाई
पछारेर झारिनेछ

कैद गरिनेछ
कामरेड्का दस्ताबेजहरूमा
टक्क रोकिनेछ
ब्रह्माण्ड र
कामरेडको
गो
जि
मा
बस्नेछ आफैँ
एकाएक
मानिसहरु सुखी बन्नेछन् ।

सम्पूर्ण साम्राज्यमा फैलनेछ
सम्पन्नताको डढेलो
त्यसैले जलाउनेछ सबै अज्ञान
अग्निले खाण्डव दाह गरेझैँ
कसैलाई उम्कन नदिई बनाइनेछ भस्म
लाचार अर्जुन त्यसबेला गाण्डिव नचलाएरै वीर हुनेछ ।

बायूपंखी घोडामा चढेर
स्वयं कार्ल मार्क्स
आइपुग्नेछन्
कामरेडको ढोकामा र
भन्नेछन्
‘मे आई कम इन् ?’

मुस्कुराउनेछ कमरेड
भलाकुसारी
अतिथि सत्कार
सकिएपछि सबै
बिदा हुनुअघि
कामरेडले भन्न बिर्सने छैन
कार्ल मार्क्सलाई
‘कामरेड जानुअघि
पशुपतिको दर्शन गरेर जानुस्’

घुमाउनेछ कामरेडले मार्क्सलाई
पशुपतिको मन्दिर
जहाँ हुनेछ
नाङ्गाबाबाको एकल सांस्कृतिक झाँकी
झस्किएका कार्ल मार्क्सको पिठ्यूँमा धाप मार्दै
भन्नेछ कामरेडले
देख्नुभो !
सर्वहारा सांस्कृतिक क्रान्ति ?

लाजले पानी पानी हुनेछन् मार्क्स
र भन्नेछन् ।
अर्को das capital मा
म शिवजीको महिमा अवश्य लेखूँला

बल्ल आत्मसन्तुष्टि देखिनेछ
कामरेडको अनुहारमा
उज्यालो उज्यालो उज्यालो
फैलनेछ सर्वत्र
सबै दिशामा
कामरेडको अनुहारको आभा फैलनेछ ।
तर यो कथा
कुन शताब्दीमा लेखियो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *