सुनसरीमा बाढी-पहिरो प्रभावित परिवारलाई राहत वितरण

सुनसरी । सुनसरीको भोक्राहा गाउँपालिकामा बेमौसमी वर्षापछि आएको बाढी र डुबानबाट प्रभावित परिवारलाई सहारा नेपालले राहत वितरण गरेको छ । बिहीबार भोक्राहा गाउँपालिकाका विभिन्न वडाका बाढी तथा डुबान प्रभावित पाँच सय ८५ परिवारलाई खाद्यान्न सामग्रीसहित अन्य सामाग्रीहरू वितरण गरिएको हो ।

भोक्राहा गाउँपालिकाकी उपाध्यक्ष पुनमकुमारी महताले पीडित परिवारलाई राहत सामाग्री वितरण गरे । विभिन्न वडामा पुगेर सामग्री वितरण गर्नुका साथै अनुगमन पनि गरे ।

बाढी तथा डुबानबाट पीडित भएका परिवारलाई सामग्री वितरण गर्दै उपाध्यक्ष पुनमकुमारी मेहताले विपत्‌को समयमा राहत सामग्रीले ठुलो सहयोग पुगेको बताइन् । गाउँपालिकाले यसअघि वितरण गरिएको सामाग्री पर्याप्त नभइरहेको अवस्थामा सहारा नेपालले खाद्य सामग्री प्रदान गर्दा थप सहयोग पुगेको बताइन् ।

यता, वडा नम्बर ७ का वडा अध्यक्ष रामचन्द्र यादवले बाढीको डुबानमा परी बिहान बेलुका दैनिक गुजारा गर्न गाह्रो परिरहेका परिवारलाई खाद्य सामग्रीले ठुलो सहयोग पुग्ने बताए ।

कात्तिकको पहिलो साता आएको बेमौसमी वर्षाले भोक्राहा गाउँपालिकामा ठुलो क्षति पुर्‍याएको थियो । त्यसमा पनि विशेष गरी गाउँपालिकाको वडा नम्बर ४, ५, ७, ८ मा बढी क्षति पुगेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले नै उपलब्ध गराएको विवरणका आधारमा बाढी प्रभावित सोही वडामा पुगेर सहारा नेपालले खाद्यान्न सामग्री वितरण गरेको हो ।

एक्सन एगेन्स्ट् हंगर नामक संस्थाको आर्थिक सहयोगमा गाउँपालिकाको सहकार्यमा सहारा नेपालले राहत सामग्री वितरण गरेको हो ।

बाढी तथा डुबानबाट प्रभावित भएकाप्रति परिवारलाई २५ केजी चामल, १० केजी दाल, २ केजी चिनी, २ लिटर तेल, २ केजी गेडागुडी, नुन, साबुन, बाल्टी, क्लोरिन झोललगायतका सामग्रीहरू वितरण गरिएको सहारा नेपालका उपाध्यक्ष सोमनाथ तिम्सिना जानकारी दिए ।

विपत्‌को समयमा प्रभावितहरूका लागि बाढी प्रतिकार्यात्मक परियोजनाअनुसार पीडित परिवारलाई राहत सामग्री वितरण गरिएको सहारा नेपालका कोषाध्यक्ष श्यामकुमार प्रधानले जानकारी दिए । यस परियोजनाले यसअघि पनि अन्य क्षेत्रमा राहत वितरण गर्दै आएको उनको भनाइ थियो ।

राहत सामग्री पाएका स्थानीयहरूले भने खुसी व्यक्त गरेका छन् । भोक्राहा गाउँपालिका-७ की ममता यादवले बाढीले खानेकुरा सबै बगाएको बताइन् । राहतमा पाएको खाद्य सामग्रीले ठुलो सहयोग पुगेको उनले प्रतिक्रिया दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =