भ्रष्टाचार गरेको अभियोगमा काठमाडाैँ महानगरका ५ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नयाँ भवन निर्माणको ठेक्कामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ ।

गलत लिखत तयार गरी योग्यता नै नपुगेको निर्माण कम्पनीलाई भवन निर्माणको ठेक्का दिएको भन्दै आयोगले बुधबार विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको हो । नयाँ भवन निर्माण गर्न महानगरले समानान्तर जेभी कम्पनीलाई ७९ करोड ४९ लाख ४ हजार ६ सय २३ रुपैयाँ अनुमानित लागतको उक्त ठेक्का दिइएको थियो । तर, उक्त कम्पनीको अनुभव नै नभएको तर अनुभवनको दाबी गर्दै गलत लिखत तयार गरेको पाइएको अख्तियारको भनाइ छ । सरकारी कागज सच्याएर भ्रष्टाचारजन्य काम गरेको भन्दै ती कर्मचारीविरुद्ध मुद्धा दायर गरिएको अख्तियारका सह प्रवक्ता केदारप्रसाद भण्डारीले बताए ।

अख्तियारले महानगरका निर्देशक भैरवबहादुर बोगटी, खरिद इकाई प्रमुख, निर्देशक बखतबहादुर साउद, उपनिर्देशक सुमन अधिकारी, उपनिर्देशक वीरबहादुर खड्का र इन्जिनियर उमेशकुमार बुढाथोकीविरुद्ध मुद्दा दायर गरेको हो ।

तर, अख्तियारले महानगरका मेयर विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली भने उक्त प्रकरणमा संलग्न भएको पुष्टी नभएको भन्दै उनीहरुविरुद्ध मुद्दा दायर गरेको छैन । अधिकृत ज्ञवालीले निर्माण कम्पनीको योग्यताललगायत विषय प्राविधिक भएकोले त्यसबारे आफूलाई जानकारी नहुने बयान अख्तियारलाई दिएका थिए । मेयर र प्रमुख प्रशासकीय अधिकृतकाे स्वीकृति नभइ उक्त ठेक्का सम्झाैता नै नहुने भए पनि मेयर र प्रशासकीय अधिकृत भने उक्त मुद्दामा मुछिएका छैनन् ।

आरोपपत्रमा पाँच प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐनको दफा ९ बमोजिम सजाय माग गरिएको छ। उक्त ऐन अनुसार दाषीलाई ३ महिनादेखि १ वर्ष कैद र १० हजारदेखि ५० हजार रुपैयाँ जरिवाना हुने उल्लेख छ।

महानगरले टेकुमा निर्माण गर्न लागेको भवनको ठेक्का सम्झौतामा सेटिङ भएको भन्दै उजुरी परेपछि यसबारे अख्तियारले अनुसन्धान सुरु गरेको जनाएको छ ।

उक्त खरिद सम्झौताका लागि महानगरले आह्वान गरेको बोलपत्रमा रविना/श्याम सुन्दर जेभी, शर्मा एण्ड कम्पनी, गौरीपार्वती/विकोइ जेभी, कोनटेक/धर्म जेभी, आशिष/लुम्बिनी जेभी र समानान्तर समेत ६ कम्पनीले बोलपत्रमा आवेदन दिएका थिए। तर, समानान्तर निर्माण सेवाको मात्रै प्राविधिक प्रस्ताव छनोट भएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *