मेगा बैंकले सेयरधनीलाई १२ प्रतिशत लाभांश दिने

काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीहरुका लागि बोनस शेयरसहित १२.०७ प्रतिशत लाभांश पारित गरेको छ ।

काठमाडौँमा सम्पन्न मेगा बैंकको एघारौँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७÷७८ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य रकम मध्येबाट हाल कायम चुक्ता पुँजीको १२ दशमलव ०७ प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड ८८ लाख ५४ हजार २ सय ७० रुपैयाँ ३८ पैसा लाभांश पारित गरेको हो ।

त्यसमध्ये चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १ अर्ब ४६ करोड ५४ लाख ९६ हजार ४ सय ९५ रुपैयाँ ७६ पैसा बोनस शेयर र २ दशमलव ०७ प्रतिशतले हुन आउने रकम ३० करोड ३३ लाख ५७ हजार ७ सय ७४ रुपैंया ६२ पैसा नगद लाभांश साधारण सभाले पारित गरेको छ ।

साधारण सभाले बैंकमा वैदेशिक रणनीतिक साझेदार ल्याउन सञ्चालक समितिलाई अख्तियारी पनि दिएको छ ।

यसै गरी, गाभ्ने अथवा गाभिने (मर्जर) र प्राप्ति गर्ने सम्बन्धमा आवश्यकता अनुसार मर्जर समिति गठन गर्न, समझदारी गर्न, मूल्याङ्कनकर्ता नियुक्त गर्न र शेयर आदानप्रदान अनुपात निर्धारण लगायतका कार्यका लागि साधारण सभाले सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।

साधारण सभामा मन्तव्य राख्दै मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले निक्षेप सङ्कलन, व्यापार प्रवर्द्धन र लगानीकर्ताको जेथा वृद्धि र लाभांशको दृष्टिकोणले पहिलो पाँचौँ बैंक भित्र स्थापित गर्ने लक्ष्य लिइएको जानकारी दिए ।

शाखाको सञ्जाल विस्तार नभएका जिल्ला, नगरपालिका एवं पालिकामा शाखा खोल्ने नीति लिइने जानकारी गराउँदै अध्यक्ष शाहले उत्पादनमूलक तथा आयातलाई प्रतिस्थापन गर्दै निर्यात प्रवर्द्धन गर्ने रोजगारमूलक उद्योग व्यवसायमा लगानी केन्द्रित गर्ने गरी ठुला उद्योग तथा परियोजनाहरूमा लगानीकर्ता समूहको ‘लिड बैंक’का रूपमा मेगा बैंकलाई स्थापित गर्दै लगिने बताए ।

अध्यक्ष शाहले मेगा बैंकले गरेको व्यापार प्रवर्द्धनका आधारमा प्राप्त मुनाफाबाट राष्ट्रलाई ३० प्रतिशतका दरले कर भुक्तानी गरेर राष्ट्रिय ढुकुटीलाई सम्वृद्ध बनाउँदै आएको स्मरण गरे ।

जस अन्तर्गत यस आर्थिक वर्ष २०७७÷०७८ मा एक अर्ब एक करोड सत्र लाख पच्चीस हजार पाँच सय त्रिहत्तर रुपैयाँ राजश्व दाखिला गरेको उनले बताए । उनका अनुसार, मेगा बैंकले गत वर्षको तुलनामा ५१% बढी राजश्व दाखिला गरेको छ ।

आफ्नो स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्व वहनलाई समुदायमा बैंक र यसको सोचलाई स्थापित गराउँदै आएको मेगा बैंकले गत आर्थिक वर्ष १ करोड ३५ लाख कोभिडको रोकथाम तथा उपचारका निमित्त राष्ट्रिय तथा प्रादेशिक कोषहरूमा उपलब्ध गराएको जनाएको छ ।

मेगा बैंकमै रोजगारीको अवसर सृजना गर्न बैंकले “एक शाखा दुई छोरी” कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयहरूमा कक्षा १ देखि १२ सम्म अध्ययनरत ३९० जना छात्राहरूलाई वार्षिक रूपमा ४३ लाख रकम बराबरको छात्रवृत्ति उपलब्ध गराएको छ ।

यो छात्र वृत्तिले शाखा सञ्चालित वडा÷पालिकामा मेगा बैंकलाई जनताको बैंकको रूपमा स्थापित गरेको छ भने मेगा बैंकले “बैंक अफ दि इयर २०१९” नामक अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दा प्रमुख आधारशिला बनेको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप २ अर्ब ९९ करोड रुपैयाँले वृद्धि भई १ खर्ब ४८ अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।

यसै गरी, खुद कर्जा ८ अर्ब ५० करोड रुपैयाँले वृद्धि भई १ खर्ब ४४ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक पहिलो त्रैमासमा बैंकले ९१ करोड ४७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

मेगा बैंकले विभिन्न छुट तथा सुविधाहरू प्रदान गरिरहेको जानकारी दिँदै सिइओ अनुपमा खुञ्जेलीले ब्याज रकममा छुट, ब्याजदरमा छुट, किस्ताको भाका अवधि विस्तार, कर्जा पुनर्तालिकीकरण, जरिवाना छुट लगायतले कोभिडबाट प्रभावित ग्राहकहरूलाई राहत मिलेको बताइन ।

सिइओ खुञ्जेलीका अनुसार, कोभिडबाट प्रभावित देशको अर्थतन्त्रलाई उकास्न मेगा बैंकले करिब ५ अर्ब ७४ करोड रुपैंया सहुलियत कर्जा र ३ अर्ब ७६ करोड रुपैंया पुनर्कर्जाहरु प्रवाह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *