दिन कटनी, मानो पचनी

भनिन्छ, आमाको जस्तो न्यानो र चोखो माया संसारमा केही पनि छैन । त्यसैले भनिएको होला, अरुको लाख, आमाको काख । घटना संयुक्त राज्य अमेरिकाको हो । त्यहाँका सुप्रसिद्ध अन्वेषक विलियम किर्डी आफ्नो कामको सिलसिलामा कहिँबाट आफ्नो घरतर्फ फर्किँदै थिए । यस्तैमा उनले त्यहाँको जंगलमा एक आदिवासी रेड इन्डियन महिला भुईंमा रक्ताम्य भएर लडेको देखे । विलियमले तिनको घाउमा पट्टी लगाइदिए । उनको हेरविचार गरे । होसमा आएपछि ती महिलाई यस्तो अवस्था आउनु पछाडिको कारण सोधे ।

ती महिलाले आफ्नो कथा यसरी सुनाइन्, केही अगाडि उनीहरूको बस्ती र त्यहाँ नजिकै रहेको अर्को बस्तीबीच युद्ध शुरु भएछ । त्यसैले त्यहाँका महिला केटाकेटीहरू सुरक्षाका लागि सुरक्षित स्थलतर्फ लागे । तर‚ ती महिला र उनको सानो बच्चा अरुसँग चाँडै हिँड्न नसक्दा बाटैमा छोडिएछन् । ती महिलाबाट यति कुरा थाहा पाएपछि विलियमले थप जिज्ञासा राख्दै सोधे, तर यो घाउचाहिँ कसरी भयो त ? यो घाउ मैले आफैँले बनाएको हो । यति भन्दै उनले आफू पछाडि भएको माछा मार्ने बल्छी हेरिन् र फेरि भनिन्, ‘म गएको तीन दिनदेखि निक्कै भोको छु । मेरा स्तन पूरै सुख्खा भइसकेका छन् । मेरो बच्चा मर्न लागेको छ । अरु के गर्न सक्थेँ र ? त्यसैले मेरो बच्चा बचाउन मैले आफ्नै पाखुराबाट मासु निकालेर बल्छीमा राखेको थिएँ । ताकी मैले माछा मारेर मेरो बच्चालाई ख्वाउन सकूँ । मैले यति गर्न सकिन भने मेरो बच्चा मर्न पनि सक्थ्यो । यो सुनेर विलियम छक्क परे ।

अहिले यो देश साइरन बजाउँदै सडकमा कुद्ने मुखियाहरूले नभएर फेसबुक र ट्वीटरवालाहरूले चलाएका छन् । शायद यही भएर होला‚ आमाका यस्ता कथा नेपाली समाजमा पाइला पाइलामा भेटिन्छ । यदि फेसबुक, ट्वीटर सरकार नियन्त्रित हुन्थ्यो भने सम्भवतः यसका सुविधामा पनि आरक्षण कोटा लागू भइसक्थ्यो ।

अहिले यो देश साइरन बजाउँदै सडकमा कुद्ने मुखियाहरूले नभएर फेसबुक र ट्वीटरवालाहरूले चलाएका छन् । शायद यही भएर होला‚ आमाका यस्ता कथा नेपाली समाजमा पाइला पाइलामा भेटिन्छ । यदि फेसबुक, ट्वीटर सरकार नियन्त्रित हुन्थ्यो भने सम्भवतः यसका सुविधामा पनि आरक्षण कोटा लागू भइसक्थ्यो । देशमा गरिने ९० प्रतिशत कर्म कर्तव्यका लागि नभएर फेसबुकको भित्तोमा छाप्ने हतारोमा गरिन्छ भन्यो भने अन्यथा हुँदैन । नेपाली समाज समाधानभित्र समस्या, तर्कभित्र कुतर्क, मानभित्र अपमान, जन्मसँगै मृत्यु, आदरसँगै अपमान थोपर्ने विचित्र मनोविज्ञानको लाभामा फस्दैछ ।

वर्तमान परिवेशमा भगवान् गौतम बुद्ध, कुशल राजनेता जनक, सत्यवादी युधिष्ठिर हुन्थे भने पनि तिनीहरुलाई पथभ्रष्ट गराउने सामर्थ्य हामीभित्र यथेष्ट थियो । युद्धधर्म आत्मसात् गर्ने दुर्योधनको स्पात शक्ति सिध्याउन शकुनी पर्याप्त भएजस्तै यहाँका सत्यवादी सिध्याउन रक्तबीज शैलीमा दुखीआत्माहरूको उपस्थिति प्रबल बन्दैछ । देश लुट्न पाइँदैन भन्यो भने सत्तारुढहरू दुखी हुन्छन् । विधिको शासनको एजेन्डा विपक्षीलाई बिझाउँछ । देश टुक्र्याएर विलो लाउने शिकार होइन भन्दा मधेशीहरू बुरुक्क उफ्रिन्छन् । मिटरमा उठेजति पैसा लेऊ न भन्यो भने ट्याक्सी सेवा ठप्प हुन्छ । मालअनुसार मोल लिएपछि हावाले ठेलेर मिटर नचढाऊ भन्दा पम्पवालाहरूलाई सह्य हुन्न । कुहिएको खाद्यान्न उपभोक्तालाई नबेच्नभन्दा व्यापारीहरू आन्दोलित हुन्छन् । भाडामा बस्नेले पानी माग्यो भने घरबेटी आगो ओकल्छन् ।

देशमा हुने/नहुने काम सेटिङमा हुने गरेको थियो तर अब त त्यसको आकार बदलिएर स्कर्टिङमा शुरु भएको छ । एउटा सामान्य साग व्यापारीदेखि आर्यघाटमा अन्तिम बिदाइको काम गर्नेलाई समेत देश चलाउने ठेक्का आफूलाई परेको दम्भ छ । राजनीति त्यस्तो चौताराको मादल भएको छ, जसले जतिबेला ठटाए पनि फरक पर्दैन । कामको नभएर अपराधको चेन अफ कमान्ड मौलाउँदा यतिबेला स्यालदरबारलाई सिंहदरबार, विद्युत् अपराधिकरणलाई प्राधिकरण, घायल निगमलाई आयल निगम, पुलिसको सत्य सेवा भक्षणम्‌लाई सुरक्षणम्‌मा अनुवाद गर्ने ठूलो चुनौति थपिएको छ । जनताले आफ्नै हातले संविधान बनाए पनि हुने खाने र हुँदा खानेबीचको लक्ष्मणरेखालाई सन्कीपनको बक्ररेखाले धावा बोल्दैछ ।

गरिबले गाईको मासु खाएको सूचना आउनासाथ मुलुकी ऐन आकर्षित भएर ऊ जेलको पाहुना हुन्छ । तर‚ ठूलाबडाले त्यही मासु ‘बिफ’का नाममा खाओस् त उसको इज्जतै अर्कै । शहरिया बिहे पार्टीमा बँदेलको थुतुनो देखाएर सुँगुरको मासुका पकवान बनाइएको छ भने पण्डितले समेत आध्यात्मिक संविधानको वैकल्पिक धारा प्रयोग गरेर सबैका लागि ग्रहणयोग्य ‘प्रसाद’ बनाइदिन्छन् । खानेहरूले त झन् एक हप्ता यसैका बारेमा गफ लगाएर थाक्दैनन् । एउटा निमुखा गरिब बाहुनले सुँगुर छोयो भने मात्रै पनि उसलाई कर्मबाट छुट्टी गराइन्छ । शक्तिहीनले विभिन्न कारणले अतिरिक्त घरजम गरेको सुइँको पाउनासाथ डाँडा कटाइन्छ‚ महिलावादीहरू बुरुक्क उफ्रिन्छन् । हुनेखानेले यही कर्म गर्‍यो भने ‘लिभिङ टुगेदर’को बर्को ओढाएर उसलाई अभिनन्दन गर्न बेर लाइँदैन ।

कामको नभएर अपराधको चेन अफ कमान्ड मौलाउँदा यतिबेला स्यालदरबारलाई सिंहदरबार, विद्युत् अपराधिकरणलाई प्राधिकरण, घायल निगमलाई आयल निगम, पुलिसको सत्य सेवा भक्षणम्‌लाई सुरक्षणम्‌मा अनुवाद गर्ने ठूलो चुनौति थपिएको छ ।

समाजमा एउटा असल मानिस मर्‍यो भने मलामीको खडेरी लाग्छ तर दलसँग नातो बाँधिएको एउटा अपराधी मर्दा क्रान्तिनायकको अवशान भएको भन्दै उसको अवतार खोजिन्छ । महँगो रक्सी खाएर र विलासी गाडीमा चढ्नेहरू सभ्य नागरिक तर भट्टीछापहरू जँड्याहा कहलिन्छन् ।

यसै सन्दर्भमा एउटा प्रेरक सन्दर्भ उठाउनु सान्दर्भिक ठहर्ला । एउटा पुरानो चिहानको वरिपरि पर्खाल लगाउन चन्दा संकलन गरिँदै थियो । व्यंग्यकार मार्क टवेनलाई चन्दा माग्दा उनले सरासर चन्दा दिन इन्कार गरे । चिहान सुरक्षा कमिटीले यस्तो सामाजिक काममा पनि असहयोग गरेको भनेर टिप्पणी गर्दा उनको उत्तर थियो‚ ‘चिहानभित्र जो छन्, तिनीहरुको बाहिर आउने क्षमता नै छैन, जो चिहानबाहिर छन्, तिनीहरुको भित्र जाने इच्छै छैन, अनि किन चिहान सुरक्षित राख्नुपर्‍यो ?’ हुनसक्छ, यहाँ पनि ट्वेनका चेलाचपाटीहरूको संख्या बढ्दो छ ।

राज्य सञ्चालनका गतिविधि हेर्दा लाग्छ- प्रचण्डले ल्याएको जादूगरी र उल्काका गफमा विवेकको आँखा बन्द गरेर लाचारीको ल्याप्चे लाउनु बाँकी सबै दलका नेताको दैनिकी बनेको छ । कुनै दिन उनले फरक विचारकालाई सम्मान गर्नुपर्छ भन्ने नाममा पूर्वराजा ज्ञानेन्द्रलाई राजनीतिक विचारविमर्शमा समावेश गर्ने प्रस्ताव ल्याए भने एक टेकमा ओके हुने पक्का छ । फोनमा त अप्टिकल फाइबर हुँदै वेभको जमाना आइसक्यो भने छिनभरमा परिवर्तन हुने मानिसको मन कतिबेला कहाँबाट सञ्चालित हुन्छ भन्न सकिँदैन ।

६ दशकसम्म प्रजातन्त्रका लागि लडेका गिरिजाप्रसाद लहरे फोनमा अल्झिरहँदा स्याटेलाइट फोनबाट राजनीतिक बिजनेस गर्ने प्रचण्ड कुन हदसम्मको खुराफात र चलखेल गर्न सक्छन् भनेर कांग्रेस, एमाले र मधेशी नेताहरू निर्णय गरेको ६ महिनापछि मात्र बुझ्ने औकातका छन् ।

गफका क्रान्तिकारीहरू प्रयोग हुन र प्रयोग गरिन कतिसम्म आज्ञाकारी हुन सक्छन् भन्ने भेउ मालिकहरूले ती पार्टीमा गरेको रजगजबाटै थाहा हुन्छ । माओवादीको चलाखी देश जनताको हितमा भइदिए हुन्थ्यो भन्ने कामनामात्र हो । राज्यले आतंककारी करार गर्दा त राज्यका संयन्त्रमा विष वृक्ष रोप्न सक्ने माओवादी अहिले सिँढी उक्लने हैन, फड्किनेका लागि स्वर्ग बन्दै आएको छ ।

माझी सल्लाहमा दिन कटनी र मानो पचनी गर्दै आएका नेताहरूका लागि अबको रोडम्याप त्यति सजिलो छैन । हरेक दल अब मादल, पैदल, जोरपाटी, क्षेत्रपाटी, भत्केको पाटीमा परिणत भइसकेका छन् । नेताहरू गुठी प्रमुखमा रुपान्तरण भएका छन् । वडादेखि केन्द्रसम्म दलाली र सुराकी मौलाउँदो छ । नेताहरूको सत्कर्मले होइन, राजनीतिको धर्मले देशको अस्मिता यतिसम्म जोगिएको छ । मान्छेको रगत चुस्ने लामखुट्टे पनि त्यति निर्दयी हुँदैन कि कमसे कम ऊ आउँदा झुँ… गरेर सतर्क रहन सचेत गराउँछ । विवेकहीन रेसम किरो मर्दा पनि मान्छेको आङ ढाक्ने कपडा दिएर वर्षौँसम्म आफूलाई अमर गराउँछ । तर‚ तीन करोड जनताको व्यवस्थापन गर्न भनेर राजनीति गर्नेहरू किन गाली गर्न पनि नसुहाउने नालायक बन्दैछन् ?

६ दशकसम्म प्रजातन्त्रका लागि लडेका गिरिजाप्रसाद लहरे फोनमा अल्झिरहँदा स्याटेलाइट फोनबाट राजनीतिक बिजनेस गर्ने प्रचण्ड कुन हदसम्मको खुराफात र चलखेल गर्न सक्छन् भनेर कांग्रेस, एमाले र मधेशी नेताहरू निर्णय गरेको ६ महिनापछि मात्र बुझ्ने औकातका छन् ।

पेट सारंगी भएकाहरूका लागि एकमुट्ठी माड, आङमा भ्वाङ परेकाहरूका लागि एक शरीर टालो र तिर्खाएकाहरूका लागि एक गिलास जल नै लोकतन्त्र हो । अरु बाँकी परिभाषा त राजनीतिका नाममा बकवास गर्नेहरूले कन्याउने सुकेलुतोमात्र हो । तिनीहरूलाई के थाहा‚ सत्य मान्छेपिच्छे फरक हुँदैन । ती पटमूर्खहरू त अनुहारमा पोतिएको कालो देख्दैनन्, तर रातदिन ऐना पुछिरहन्छन् । पाँचपटक प्रधानमन्त्री भएका कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा साथीभाइसँग भन्छन् रे- ‘मैले तीन नेताबाट एक एक गुण सिकेको छु । किसुनजीबाट रक्सी खान सिकेँ । गिरिजाबाबुबाट चुरोट खान सिकें । गणेशमानजीबाट अन्टसन्ट बोल्न सिकेँ ।’

गिरिजाप्रसादलाई हेलिकोप्टरमा उडाएको भरमा सेनाका क्याप्टेन नारायणसिंह पुनः केन्द्रीय राजनीतिमा पुगे । गिरिजाप्रसादको कमजोरीमा खेल्न जानेका प्रचण्ड उनकै शब्दमा राजनीतिको ‘भाले’ भए । तर‚ विडम्बना शेरबहादुरले बिँडी तान्न सिकेछन् । त्यसै पनि शेरबहादुरका विषयमा धेरै जोक छन् । त्यसमध्येको एउटा यस्तो छ- शेरबहादुर देउवालाई आधारातमा चुरोट खाने तलतल चलेछ । चुरोट गोजीमै रहेछ । झिकेर मुखमा राखेछन् । सलाई खोजेछन्, पाएनछन् । लाइटर खोजे, त्यो पनि भेटेनन् । ओच्छ्यानका पत्र पत्र पल्टाए, लुगा, र्‍याक सबै ठाउँ हेरे, अहँ छैन । अनि दिक्क मानेर अगाडि रहेको मैनबत्ती झ्याप्पै निभाएर सुतेछन् ।

नेपाली कांग्रेस राजनीतिक रुपमा सामर्थ्य र एजेन्डाविहीन जानुको परिणामले पनि यस्ता ठट्टालाई बल दिन्छन् । बीपी, केपी, जीपी हुँदै डीपी (देउवा/पौडेल)मा आएको कांग्रेस स्याटेलाइट कांग्रेस बन्दै गएको पीडा हरेक कांग्रेसीजनमा छ । माओवादी आतंकमा समेत अडिग रहेका कांग्रेस कार्यकर्ता‚ अहिले झन् बिच्किँदै गएका छन् । मूर्ख तीनपटक हाँस्छ रे, पहिलो बुझ्दै नबुझी अरु हाँसेको देखेर, दोस्रो यथार्थ बुझेर र तेस्रो अगाडिको अवस्था सम्झिएर । नेताको ताल त यस्तो छ भने तिनीहरूले भाग्य बनाइदिएर सुखी हुनुपर्ने जनताको हविगत कुन हालतमा होला ? मान्छेको अनुहारमा रहेको नाक अङ्गमात्र होइन । यो इज्जतको प्रतिक पनि हो । यसमा ठेस लाग्यो भने जितेका धेरै खेल हारिन्छ । प्रतिष्ठाको नाक हराउँदा कस्तो पीडा हुन्छ भन्ने तथ्य कोरियालीहरूले भोगेका छन् ।

विश्व इतिहासमा सन् १५९७ मा जापानी सेनाद्वारा कोरियाली प्रायद्वीप कब्जा गरेको घटना उल्लेखनीय रुपमा आउँछ । अनि त्यस समय जापानीले गरेका बर्बरताका घटना पनि प्रचलित छन् । यसै प्रसङ्गमा जापानी सैनिकहरुले एक लाख कोरियाली मारेका थिए । त्यसताका जुन जापानी सैनिकले बढी कोरियाली सैनिक हत्या गर्न सक्यो, उसलाई ठूलो पुरस्कार दिइन्थ्यो । तर‚ आफूले गरेको हत्याको प्रमाण स्वरुप मारिएका कोरियालीहरूको नाक बुझाउनुपर्थ्यो । अन्यथा पुरस्कार पाइँदैनथ्यो । ती सैनिक अधिकारीहरूसँग काटिएका नाकको ठूलो भण्डार भइसकेको थियो । जापानको योकोहामा भेटिएको चिहानमा २० हजार कोरियाली सैनिकको नाक गाडिएको थियो ।

राजनीतिमा आपराधीकरण नेपालमात्र होइन, विश्वमै चासोको विषय हो । अपराधको माखेसाङ्लोबाट गुज्रिनु नियति बन्दै आएको छ । लागुऔषधका तस्कर, हत्या, हिंसा र आपराधिक क्रियाकलापमा लागेका मानिसहरू, माफियातन्त्रको नेटवर्कमा काम गर्नेहरू जघन्य अपराधबाट बच्न राजनीतिमा लागेका हुन्छन् । यिनीहरूको पहुँच समाजका ठूला ठूला क्षेत्रमा हुने भएकाले पैसाको आडमा आफूअनुकूल देशका नीति, नियम र कानुन बनाउन सक्षम हुने गरेका छन् । त्यसो त कतिपय देशका राजनीतिक दलहरू अवैध संगठनहरूसँग अवैध रकम लिन्छन् ।

राजनीतिमा आपराधीकरण नेपालमात्र होइन, विश्वमै चासोको विषय हो । अपराधको माखेसाङ्लोबाट गुज्रिनु नियति बन्दै आएको छ । लागुऔषधका तस्कर, हत्या, हिंसा र आपराधिक क्रियाकलापमा लागेका मानिसहरू, माफियातन्त्रको नेटवर्कमा काम गर्नेहरू जघन्य अपराधबाट बच्न राजनीतिमा लागेका हुन्छन् ।

बहुर्राष्ट्रिय कम्पनीहरूले आफूअनुकूल सरकार नभएमा सरकारकै तख्ता पलट गरिदिएका थुप्रै उदाहरण छन् । यस्ता कम्पनीहरूले एसिया, अफ्रिका तथा ल्याटिन अमेरिकी देशहरूमा भ्रष्टाचार बढाइदिएका छन् । अरु त अरु वाटरगेट काण्डले निक्सनलाई खायो । जापानका प्रधानमन्त्री काकुई तानाकाले चुनावका लागि घुस लिएको आरोपमा पदबाट हात धुनुपर्‍यो । भारतमा झारखण्ड मुक्तिमोर्चाका सांसदहरूलाई खरिद गर्न आर्थिक चलखेल गरेको भनेर भारतीय प्रधानमन्त्री पीभी नरसिंह राव अदालत धाउनुपर्‍यो । वोफोर्स काण्ड, चारा आहारा काण्डमा भारतका मै हुँ भन्ने माइकलालहरू पनि बाँकी रहेनन् । बेनजिर भुट्टो पतिको मर्यादाहीन आचरणका कारण बद्नाम भइन् । हालै चीनका एक मन्त्री फाँसीका लागि योग्य ठहरिए ।

तर‚ यसो भन्दैमा निराशा नै निर्विकल्प होइन । एउटा सपना भाँचिएसँगै अरु अनन्त सपना जोडिन्छन्‚ जसले मानिसलाई आशामुखी हुन प्रेरित गर्छ । एउटा सपना टुक्रिने अनि अरु नजोडिने हो भने मानव सभ्यता उहिलै डाइनोसर भइसक्ने थियो । जर्मनीको एक कलम कम्पनीले हालै यस्तो कलम बनाएको छ, जसले तपाईंले लेखेको कुरा गलत भएको खण्डमा जनाउ दिन्छ ।

यो कलमले कागजमा लेख्दा यसमा रहेको सेन्सरले हातको चालका साथै अक्षरको आकार पहिचान गरेर शब्द सही भए/नभएको पत्ता लगाउँछ र भाइब्रेसनको माध्यमबाट सचेत गराउँछ । नेपालमा चुनाव आउँदैछ । दलहरूले घोषणापत्र लेख्ने नै भए । चुनावका लागि दिने विदेशी सहायता कम गरेरै भए पनि यहाँका सबै दललाई एक एकवटा यो कलम दिइयोस्, ताकि चुनाव घोषणापत्र झुटको पुलिन्दा हुनबाट जोगियोस् ।

तपाईँ आध्यात्मिक पाना पल्टाउनुस् त एउटा राजनीतिक व्यक्ति चाणक्य उपनिषद्, वेद, व्याकरण, गणित, अर्थशास्त्र, राजनीतिशास्त्र, शास्त्र विद्या, दर्शन, ज्योतिष र रसायनमा विज्ञ थिए । नबिर्सौँ दुराचारीको कुल, मूर्खको रुप, अयोग्यको विद्या र भोग नगरिएको धन नाशवान छन् । प्रकृतिले सुनमा सुगन्ध, उखुमा फल, श्रीखण्डमा फूल किन लगाएनन् ? हेर्नुस् त माटोले फूलको बास्ना लिन्छ तर फूलले माटोको बास्ना लिदैन ।

कुवाको पानी र ज्ञानउस्तै हो । जो कहिल्यै झिकेर र बाँडेर रित्तिँदैन । त्यसै पनि मानव जीवन आस्था हो, विश्वास हो । बहस होइन । कसैले भनेका छन्- मुखबाट बोली निकाल्नुअघि एकपटक सोच्नुस् । लेख्नुअघि दुईपटक सोच्नुस् । केही काम गर्नुअघि तीनपटक सोच्नुस् । संसारमा सबैभन्दा मूल्यवान तरल पदार्थ आँसु हो‚ जसमा १ प्रतिशत पानी ९९ प्रतिशत भाव हुन्छ । त्यसैले आँसु होइन, हाँसोको खेती गरौँ । रुँदा एक्लो परिन्छ । हाँसोमा सबैले साथ दिन्छन् । संसारको सबैले बुझ्ने भाषा हाँसो बाहेक अरु के छ र ? रिल भएको क्यामेरा त ठिकै हो तर सफा दिल भएको मान्छे काम छैन भन्ने दिन नआओस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *