हामी ‘कोभिड’को अर्को उभारको सँघारमा छौँ

कोरोनामा उत्परिवर्तन स्वाभाविक, प्राकृतिक र अनुमानित पनि मानिन्छ । झन्डै एक वर्ष अगाडि भारत तथा नेपालमा विध्वंस मच्चाएको र हाल विश्वव्यापी फैलिएको ‘डेल्टा भेरियन्ट’पछि हाल यो नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विश्वव्यापी चासोको विषय बनेको छ ।

दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको बी ११ ५२९ नाम दिएको यो नयाँ भाइरस २४ नोभेम्बरमा पहिलो पटक विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) मा रिपोर्ट गरिएको थियो । डब्ल्यूएचओमा व्यापक छलफलपछि २६ नोभेम्बेरमा यो भाइरसलाई ‘ओमिक्रोन भेरियन्ट’ भनेर नामकरण गरिएकाे हाे । यसलाई ‘भेरियन्ट अफ कन्सर्न’ अन्तर्गत राखिएकाे छ ।

तीव्र गतिमा फैलनु, फरक लक्षण देखिनु, घातकता बढ्नु, जनस्वास्थका मापदण्ड प्रभावहीन हुनु, हाल उपलब्ध निधान गर्ने प्रविधि, खोप तथा उपचारमा समस्या देखिनु आदि मध्येमा एक वा सो भन्दा बढी लक्षण देखिएमा याे भाइरसलाई ‘भेरियन्ट अफ कन्सर्न’ अन्तर्गत राखिने गरिन्छ ।

यहीबीच सङ्क्रमण रोग विशेष डा. अनुप सुवेदीले हामी ‘कोभिड’को अर्को उभारको सँघार पुगेको भन्दै सतर्क रहन सबैमा आग्रह गरेका छन् । ‘विगत १/२ दिनमा देखिन थालेका कोभिडका बिरामीको सङ्ख्या र स्थिति देख्दा हामी अर्को उभारको सँघारमा उभिएका छौँ जस्तो देखिन्छ,’ उनले भने । पढौँ डा. सुवेदीको विचार :-

  • ओमिक्रोन देखा नपर्दै पनि डेल्टा भेरिएन्टले नै पनि हिउँदमा फेरि अर्को (अघिल्लो भन्दा सानो) उभार ल्याउने अपेक्षित थियो नै । त्यसको कारण थियो- मुख्यतः उच्च जोखिम समूहका व्यक्तिमा पहिले कोभिड सङ्क्रमण भएर वा खोप लगाएर बनेको रोग(प्रतिरोधी क्षमतामा केही महिनापछि ह्रास आउने देखिएकाले ।
  • ओमिक्रोन देखिएपछि त त्यस्तो लहर झन् चाँडो आउने र डेल्टामात्रको लहर भन्दा ठूलो हुने पनि सुनिश्चित जस्तै भएको छ। खालि त्यो ओमिक्रोनको लहर अघिल्लो (दोस्रो)लहरजस्तै ठूलो वा उस्तै हताहती गराउने हुन्छ कि केही सानो, कम क्षति गराउने हुन्छ भन्ने मात्र अहिल्यै अनुमान गरिहाल्न सकिँदैन ।
  • विगत केही दिनमा विशेष गरी सभा-सम्मेलन, बिहे, भोजमा सङ्क्रमित भएर हप्ता दिन जति पछि अस्पताल जाने, भर्ना हुने क्रम बढ्न थालेको देखिन्छ । यो डेल्टाकै पहिलेदेखिकै अपेक्षित हिउँदे उभार हो कि यसमा केही मात्रामा ओमिक्रोनको पनि देन छ, सरकारको जिनोम सिक्वेन्सिङ अध्ययनले मात्र त्यो बताउला । तर मूल कुरो, सबै फेरि एकदम सतर्क हुनुपर्ने भयो । बिहेबारी, भोजभतेर, सभा-सम्मेलनबाट सकेसम्म टाढै बस्नुहोला ।
  • घरबाहिर निस्केको बेलामा घरका सबै सदस्यले सकेसम्म एन-९५ वा सो सरहको मास्क हरबखत लगाउनुहोला । आफूले स्कुल पठाएका केटाकेटीहरूलाई पनि त्यसो गर्न सिकाउनुहोला ।
  • मास्क लगाउँदा, मास्कको छेउ वा तलमाथिबाट हावा ननिस्कने गरी अनुहारमा टपक्क मिल्ने मास्क मात्र लगाउनुपर्छ । त्यस्तो मास्क नभेटिएमा बरु टपक्क मिल्छ भने एन-९५ मास्क र सर्किजल मास्क, वा सर्किजल र कपडाको मास्क, आदि २ थरी मास्क एकैचोटी लगाउने गर्नुपर्छ ।

  • यो युट्युब भिडियो लिंकमा देखाइए झैँ मास्कको दुई छेउमा गाँठो र मुजा पारेर लगाउँदा पनि मास्कलाई तपाईँको अनुहारमा उपयुक्त तरिकाले टपक्क बस्ने बनाउन सकिन्छ ।
  • वातायन (भेन्टिलेशन) राम्रो नभएको बन्द कोठा वा ठाउँमा अरू व्यक्तिसँग मास्क लगाएरै पनि सकेसम्म नबस्नुहोला । सकेसम्म भेटघाट, र विशेष गरी अरू व्यक्तिसँग खानपान, बाहिर खुला ठाउँमा मात्रै गर्नुहोला ।
  • परिवारको कसैलाई सामान्य रुघा वा खोकी, हल्का ज्वरो मात्र वा जुनसुकै कोरोनासँग मिल्न सक्ने लक्षण छ भने पनि तुरुन्तै पिसिआर जाँच गराउनुहोला । अनि रिपोर्ट नआउन्जेल घरका अरू कोही पनि सदस्य कार्यालय, स्कुल वा बाहिर कतै नजानुहोला ।
  • यदि घरको १ जनाको मात्र पिसिआर पोजेटिभ देखियो भने पनि पोजेटिभ हुने त छुट्टै बस्नै पर्‍यो, बाँकी अरूले पनि क्वारेनटिन सबै नियमको पालना सकेसम्म गर्नुहोला । नियम: सकेसम्म सबै आफू आफू पनि छुट्टै बस्ने, एकै कोठामा बस्दा सकेसम्म मास्क लगाउने, सँगै खाना नखाने, ७-१० दिनमा पिसिआर गर्ने ।
  • कसैले खोप लगाउनुभएको छैन भने तुरुन्त सरकारले दिएको खोप लगाउन गइहाल्नुहोला । जतिसुकै महिनाका गर्भवती, स्तनपान गराउने आमा, जुनसुकै दीर्घ रोग हुने वा औषधी खाने सबैले कोभिडविरुद्ध सरकारले उपलब्ध गराएको जुनसुकै खोप पनि लगाउन सुरक्षित छ, र लगाउनुपर्छ ।

सबै जना आफू जोगिऊँ, अरूलाई जोगाऔँ !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *