नेपालसँग हवाई सम्झौता गर्न रुवाण्डाका राजदूतको प्रस्ताव

काठमाडौँ । रुवाण्डाका गैर आवासीय राजदूत जेक्युलिनी मुकाङ्गीराले नेपाल र रुवाण्डाबीच दुई पक्षीय हवाई उडानको सम्झौता गर्न प्रस्ताव राखेकी छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग आइतबार मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा राजदूत मुकाङ्गीराले नेपाल र रुवाण्डाबीच अहिलेसम्म हवाई सम्झौता नभएकाले हवाई सम्झौताका लागि प्रस्ताव गरेकी हुन् ।

भेटका क्रममा राजदूत मुकाङ्गीराले नेपाल र रुवाण्डा बीच हवाई सम्झौता गरिए पर्यटक प्रवर्द्धनमा फाइदा हुने भएकाले उक्त सम्झौता गर्न आवश्यक रहेको बताइन् । उनले भनिन्, ‘रुवाण्डाका पर्यटक भित्रयाउन भए पनि नेपाल र रुवाण्डा बीच हवाई सम्झौता गर्न आवश्यक छ, उक्त सम्झौताले दुइ देश मित्रता पनि थप कायम हुने छ ।’

सोही भेटका क्रममा राजदूत मुकाङ्गीराले संस्कृति तथा पर्यटन क्षेत्रमा दुइ पक्षीय सहयोग आदान प्रदान हुनुपर्ने आग्रह गरे ।

राजदूत मुकाङ्गीराले राखेको दुई पक्षीय हवाइ उडानको सम्झौता प्रस्तावबारे मन्त्री आलेले सकारात्मक रुपमा लिइएको र औपचारिक माध्यमबाट उक्त प्रस्तावको प्रक्रिया अघि ढाइने बताए ।

उनले भने, ‘दुई पक्षीय हवाइ उडानको सम्झौता प्रस्ताव हामीले सकारात्मक रुपमा लिएका छौँ, औपचारिक माध्यम तथा छलफलबाट प्रक्रिया अघि बढाउने छौँ ।’

उक्त शिष्टाचार भेटका क्रममा मन्त्रालयका सचिव महेश्वर न्यौपाने तथा सह–सचिव बुद्धिसागर लामिछानेको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *