सम्भावना भएर पनि ओझेलमा विराटनगरको पर्यटन

विराटनगर । पर्यटनको क्षेत्रमा विराटनगर महानगरपालिकाले केही काम गर्न नसकेको पर्यटन व्यवसायीले बताएका छन् । महानगरपालिकाले पर्यटन व्यवसायीसँग छलफल समेत नगरेको उनीहरूको आरोप छ ।

पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र तथा पर्यटन व्यवसायीले लगानी गर्न खोज्दा खोज्दै पनि सरकारी निकायबाट कुनै सहयोग नपाएको उनीहरूको भनाई छ । विराटनगरमा संवाद समूहले आयोजना गरेको विराटनगरको पर्यटन प्रवर्द्धनको सम्भावनाको बारेमा आयोजित संवादमा पर्यटन व्यवसायी, निजी क्षेत्र तथा ट्राभल्स एजेन्सीहरूले सम्भावना भएर पनि महानगरपालिकाले सहयोग नगर्दा प्रशस्तै सम्भावना भएर पनि काम हुन नसकेको बताए ।

विराटनगर औद्योगिक नगरिको स्थापित भइसकेको छ पर्यटन व्यवसायी भविश श्रेष्ठले बताए । ‘पर्यटकीय हबको रूपमा विकास गर्न महानगरपालिकाले फोहोर मैला व्यवस्थापनलाई प्राथमिकता राख्दै पर्यटन व्यवसायीसँग निरन्तर छलफल थाल्नुपर्छ,’ उनले भने । राजनीतिक दल, पर्यटन व्यवसायी, होटल व्यवसायी, समुदाय र निजी क्षेत्रको बिचमा संस्थागत समन्वय गर्दै पर्यटनको विकासमा काम थाल्न सबै एक हुने हो भने प्रदेश राजधानीमा आउने व्यक्तिलाई विभिन्न गन्तव्यमा पुर्‍याउन सकिने उनले बताए ।

महत्त्वपूर्ण स्थल भनेको विराट राजा दरबार क्षेत्र भएकाले उद्योगी तथा मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष नवीन रिजालको भनाई छ । ‘यसको संरक्षण, विकास र यसलाई व्यवस्थित गर्नका लागि दल, निजी क्षेत्र, पर्यटन व्यवसायी, होटेल व्यवसायी, स्थानीय, प्रदेश सरकारसँग समन्वय गरेर जाने हो भने धेरै पर्यटक भित्र्याउन सकिन्छ,’ उनले भने, ‘महानगरपालिकाले जग्गा व्यवस्थापन गरिदिए पुग्छ । हामीले निजी क्षेत्र र समुदाय ठूलो लगानी गरेर एउटा सुन्दर गन्तव्य बनाउन तयार छौँ ।’

पर्यटन व्यवसायीबाट आधा दिनको प्याकेज बनाएर पर्यटनको विकास गर्न खोजेका भएपनि महानगरबाट पर्यटन सम्बन्धी अहिलेसम्म कुनै काम नभएको पर्यटन व्यवसायी ज्ञानमणि नेपालले बताए । दलहरूले पर्यटन व्यवसायीसँग मिलेर स्थानीय र प्रदेश सरकारसँग दबाब दिँदै पर्यटन गतिविधि बढाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेकपा एमालेका नेता सागर थापा र नेकपा माओवादी केन्द्रकी नेता नमिता न्यौपानेले अहिलेसम्म महानगरपालिकाले दीर्घकालीन सोचका साथ कुनै काम नभएको आरोप लगाए । ‘अहिलेसम्म कुनै त्यस्ता उल्लेख्य काम भएको छैन,’ उनीहरूले भने, ‘अब स्थानीय तह र प्रदेश सरकारसँग समन्वयको कामलाई अघि बढाउन दलहरूले दबाब दिएर पर्यटन सम्बन्धी गतिविधि बढाउन सहयोग गएका छौँ ।’

१० करोडसम्म विभिन्न मन्दिरको नाममा खर्च गर्ने स्थानीय सरकारले प्याकेजमा पर्यटन सम्बन्धी कुनै काम नगरेको आरोप दलहरूको छ । होटल व्यवसायी विजय प्रसाईँले आएका भारतीय वा आन्तरिक पाहुनालाई विराटनगर चिनाउने बारेमा पहिलो दायित्व स्थानीय सरकारको हुने बताए । होटल व्यवसायीले आफ्नो तर्फबाट पहल भएपनि सरकारी क्षेत्रबाट काम भएको छैन ।

अहिलेसम्म विराट राजा दरबार क्षेत्र भनिएपनि कुन गुरुयोजना निर्माण गरी काम थाल्ने काम नभएको होटल व्यवसायी पुण्य भट्टराईको भनाई छ । विराट राजा दरबार क्षेत्र नाम मात्रको भएको बताए । विमानस्थल प्रवेश सडकलाई २४ घण्टे नाइट स्टे बिजनेसको रूपमा काम गर्ने भनिएपनि त्यसमा समेत महानगरपालिकाको ध्यान नगएको उनले बताए ।

प्रदेश सरकारले गठन गरेर खारेज गरेको पर्यटन बोर्डका उपाध्यक्ष तथा पर्यटन व्यवसायी फणीन्द्र अधिकारीले विराटनगरमा मान्छेलाई घुमाउन सक्ने धेरै पुरानो मन्दिरहरू भएपनि अग्रस्थानमा काम गर्ने होटलका कर्मचारी, ट्याक्सी, सिटी र अटोलाई पर्यटकीय गन्तव्यको रूपमा बुझाउने गरी प्रशिक्षण दिनुपर्ने बताए । जुटमिल, विराट राजा दरबार, कोइराला निवास हुँदै बर्जुसम्मको लागि छुट्टै खालको विकास गरी महानगरपालिकाले पहिचानमा जानु पर्नेमा व्यवसायीको भनाई छ ।

महानगरपालिकाले सरसफाइको काम तत्काल थाली निर्वाचित पदाधिकारीसँग बसेर आधारपत्र तयार गरी पर्यटन सम्बन्धी काम तत्काल थाल्ने विराटनगर महानगरपालिकाका उपसचिव दीपक पौडेलले बताए । पर्यटनको लागि महानगरपालिकाले यो वर्ष १५ लाख बजेट छुट्याएको जानकारी दिँदै पर्यटन शाखा बनाएर पर्यटन सम्बन्धी काम बल्ल शुरु हुन खोजेको बताए । विराटनगर महानगरपालिकाले अहिलेसम्म पर्यटन नीति बनाउन सकेको छैन ।

विराटनगर महानगरपालिका कार्यालयभित्र विराटनगर झल्काउने बोर्ड तथा प्रचार प्रसार सामाग्री राख्ने, होटल तथा पर्यटन व्यवसायीले फ्रन्टलाईनरलाई प्रशिक्षण र आफ्ना व्यावसायिक स्थलहरूमा प्रचार बोर्ड तथा प्रचार प्रसारका सामाग्री राख्ने सहमति भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *