बिना कसुर ४० वर्ष भारतीय जेलमा थुनिएका दुर्गाप्रसादले ८ लाख क्षतिपूर्ति पाउने

काठमाडौँ । बिना कसुर ४० वर्ष भारतीय जेलमा थुनिएका इलाम माई नगरपालिका– १० लुम्बकका दुर्गाप्रसाद तिम्सिनाले ८ लाख रुपैयाँ (पाँच लाख भारतीय रुपैयाँ) क्षतिपूर्ति पाउने भएका छन् । उनलाई बिना कसुर ४० वर्ष जेलमा थुनिएको भन्दै ८ लाख रुपैयाँ क्षतिपूर्ति दिन कोलकाता उच्च अदालतले आदेश दिएको हो  ।

 उच्च अदालतका मुख्य न्यायाधीश प्रकाश श्रीवास्तव र न्यायाधीश राजर्षि भारद्वाजको संयुक्त इजलासले तिम्सिनाको खातामा तत्काल भारु पाँच लाख (८ लाख नेपाली रुपैयाँ) जम्मा गर्न पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ।

हत्या अभियोगमा ४० वर्षअघि पक्राउ परेका तिम्सिनालाई  गत वर्ष चैतसम्म पश्चिम बंगालका विभिन्न जेलहरूमा राखिएको थियो। बिना सुनुवाइ जेलमा राखिएका तिम्सिनालाई कलकत्ता उच्च अदालतले गत वर्ष रिहा गर्न आदेश दिएको थियो।

अदालतको आदेशपछि रिहा भएका तिम्सिना गत चैतमा इलामको लुम्बाकमा रहेको घरमा फर्किएका थिए। घर फर्किएपछि उनी केही महिना परिवारसँगै बसे पनि कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएकाे थियाे ।

सुरुवातमा प्रदेश १ सरकारले निःशुल्क उपचार गरिदिए पनि फलोअप नगर्दा स्वास्थ्य बिग्रिन थाल्यो । घरै छाडेर बाहिर हिँड्न थालेपछि परिवारले हाल उनलाई विराटनगरस्थित मानव सेवा आश्रममा राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *