ओमिक्राेन नियन्त्रण गर्न सरकारले तयारी तीव्र पारेकाे छ : मन्त्री यादव

विराटनगर । प्रदेश १ का सामाजिक विकासमन्त्री जयराम यादवले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारको राम्रो तयारी रहेको बताएका छन् । कोरोना संक्रमण नियन्त्रणका लागि विगतमा भएका तयारीभन्दा अहिलेको तयारी तीव्र रहेको उनको भनाइ छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले विराटनगरमा आयोजना गरेको शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका सवालमा सरोकारवालावीच गरिएको प्रदेशस्तरीय अन्र्तक्रिया कार्यक्रममा मन्त्री यादवले प्रदेशमा हुनसक्ने सम्भावित अवस्थाको आँकलन गरी तयारी तीव्र बनाइएको बताए ।

प्रदेश नं. १ का १४ वटै जिल्लामा सञ्चालित कोभिड उपचार केन्द्रहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकिएकोसमेत उनले बताए ।

प्रदेश सरकारले सञ्चालन गरेको कोशी कोभिड १९ उपचार केन्द्रमा पनि बेडहरू थप गरिएको उनले जानकारी दिए । ‘कोभिड अस्पतालमा करिब २ सयको संख्यामा बेडहरू तयारी अवस्थामा छन्,’ उनले भनेका छन् , ‘अक्सिजन, भेन्टिलेटर बेडहरू पनि थप गरिएको छ ।’

प्रदेश सरकार कोरोनाको नयाँ भेरियन्टको नियन्त्रणका लागि सजग रहेको मन्त्री यादवको भनाइ छ । कोरोना संक्रमण हुन नदिनका लागि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन अपिल गरिएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *