राष्ट्रसंघसँग बालुवाटारका गन्धर्वको गुनासो- वर्षौंदेखि लालपुर्जा पाएनौँ

सुर्खेत । बालुवाटार भन्नासाथ धेरैको ध्यान काठमाडौँको बालुवाटारतिर केन्द्रित हुनसक्छ । तर, यो प्रसङ्गचाहिँ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर-११ को बालुवाटारको हो‚ जहाँ गन्धर्व परिवारको बसोबास छ ।

उनीहरू वीरेन्द्रनगर नगरपालिका-११ स्थित जनता सामुदायिक वन नजिक झुप्रा खोलाको किनारमा २५ वर्षदेखि बस्दै आएका छन् । कास्की, बाग्लुङ र स्याङ्जालगायत ठाउँबाट फिरन्ते जीवन बिताउँदै सुर्खेत आइपुगेका गन्धर्व परिवारको मुख्य पेसा हो- सारङ्गी बजाउँदै गीत गाउने ।

यसका साथै उनीहरू नजिकैको झुप्रा खोलामा गिट्टी कुट्ने, बालुवा चाल्ने‚ बजार लगेर बेच्ने र गुजारा चलाउने गर्दै आएका छन् ।

२५ वर्षदेखि गन्धर्व परिवार बसोबास गर्दै आएको यो क्षेत्रलाई २०४५ सालमा सरकारले सामुदायिक वन क्षेत्र घोषणा गरेको छ । उपभोक्ता समूहले समय समयमा सूचना निकालेर स्थान खाली गर्न दबाब दिइरहेको छ‚ जसले गर्दा गन्धर्व परिवारलाई कुनैपनि बेला घरवारविहीन हुन्छौँ कि भन्ने चिन्ता छ । २५ परिवार उक्त वनभित्रको करिब ३ कठ्ठा ऐलानी जग्गा भोगचलन गर्दै आएका छन् । जग्गाधनी प्रमाणपत्र नहुँदा उनीहरू भूमिहीन अवस्थामा छन् ।

यो गन्धर्व बस्ती दैनिक ज्यालादारी, बालुवा संकलन, गिट्टी कुट्ने तथा भारतमा मजदुरी गरी जीविकोपार्जन गरिरहेको छ । यहाँ चरम गरिबी छ । उनीहरूले भोगचलन गर्दै आएको जग्गाको स्वामित्व उपलब्ध गराउन, आवासको सुविधा, दीगो जीविकोपार्जनका लागि वैकल्पिक स्रोत (खेतीयोग्य जमिन, आयआर्जनका कार्यक्रम)को व्यवस्था तथा आधारभूत सुविधामाथिको पहुँच सुनिश्चित गरिदिन माग गर्दै आएका छन् ।

यसै क्रममा कर्णाली प्रदेशको गरिबी र यहाँका समस्या बुझ्ने उद्देश्यसहित संयुक्त राष्ट्रसंघको टोली कर्णालीमा आएको छ । राष्ट्रसंघको विशेष र्‍यापोटर ओलिभियर डी-स्कटरको नेतृत्वमा रहेको टोलीले पनि गन्धर्व बस्तीमा पुगेर अनुगमन गरेको छ ।

टोलीसँग गन्धर्व समुदायले सरकारी क्षेत्रबाट कुनै पनि सहयोग नभएको र वषौँदेखि लालपुर्जा समेत नपाएको गुनासो गरेका छन् । उनीहरूले सरकारसँग लालपुर्जा दिनुपर्ने मुख्य माग राखेपनि हालसम्म सुनुवाइ नभएको भन्दै तत्काल यो समस्या समाधान गरिदिन आग्रह गरेका छन् ।

टोलीसमक्ष गन्धर्व समुदायका अगुवा तथा गन्धर्व बस्ती खाद्य अधिकार सञ्जालका सदस्य धनबहादुर गन्धर्वले आफ्नो समुदायमा भएका विभिन्न समस्या समाधानका माग राखेका थिए । धनबहादुरले भने‚ ‘हाम्रो हालको समस्या भनेको भेरीको अशुद्ध पानी पिउनुपर्ने बाध्यता रहेकाले तत्कालका लागि शुद्ध खानेपानीको पहल गरिदिन आग्रह गर्दछु‚’ धनबहादुरले थपे‚ ‘हाम्रो गन्धर्व समुदाय लामो समयदेखि ऐलानी जग्गामा बसोबास गर्दै आएको छ । खेतीपातीका लागि जमिन उपलब्ध गराउने पहल गरिदिन हाम्रो तर्फबाट अनुरोध छ ।’

विशेष र्‍यापोटर ओलिभियरले लामो समयदेखि स्थानीयले भोग्दै आएको समस्या समाधानका लागि केन्द्र सरकार मार्फत विशेष पहल गर्ने बताए ।

टोलीले बस्तीका समस्याहरू प्रदेश सरकार, केन्द्र सरकार मार्फत समाधानका लागि प्रयत्न गरिने समेत बताएको छ । कर्णालीमा बर्सेनि हुने खाद्यान्न संकट, अव्यवस्थित बस्ती, भूमिहीन अवस्था लगायत विषयको अध्ययन गर्न टोली आएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *