पत्रकार पराजुलीको ‘मोम्चो कथासङ्ग्रह’ सार्वजनिक   

चितवन । कथाकार एवं पत्रकार वसन्त पराजुलीद्वारा लिखित नवीनतम् कथा सङ्ग्रह ‘मोम्चो’ सार्वजनिक भएको छ । भूँडीपुराण प्रकाशन प्रालिद्वारा प्रकाशित सो कृतिमा ११ समसामयिक कथा समावेश गरिएको छ ।

अक्षर समूह चितवनको संयोजनमा भूँडीपुराण प्रकाशनद्वारा आज यहाँ आयोजित कार्यक्रममा किशोरी रमिता चेपाङले कृति सार्वजनिक गरे। विशेषगरी ती कथामा चेपाङ समुदायमा बढ्दो बालविवाह र यसपछि महिलाले भोग्नुपरेका विविध समस्यालाई जीवन्त र सजीव रूपमा उतारिएको छ ।

साथै पितृसत्तात्मक समाजका कारण नारीले भोग्नुपरेका समस्या र सङ्घर्ष मार्मिक रूपमा सरल भाषामा प्रस्तुत गरिएका छन् । वरिष्ठ पत्रकार पराजुलीले यसअघि ‘कुमाता’ कथा सङ्ग्रह प्रकाशित गरिसक्नुभएको छ । सो कृति अहिले तेस्रो संस्करणमा प्रकाशित हुने क्रममा रहेको बताइएको छ ।

कार्यक्रममा कृतिमाथि वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले समीक्षा गर्नुहँदै ‘मोम्चो’ कथा सङग्रहभित्रका कथाले समाजमा विद्यमान नारीले भोग्नुपरेका समस्या, गर्नुपरेका सङ्घर्ष र पितृसत्तात्मक समाजको परिणामस्वरूप सिर्जित नारी समस्यालाई सशक्त रूपमा उठान गरेको बताए ।

उनले भने, “कथाको दम कथाकारितासँगै कथा शक्तिमा पनि उत्तिकै जोडिएको छ ।” आख्यानकार अश्विनी कोइरालाले सरल भाषामा नारी वेदनालाई कथाले जीवन्त रूपमा प्रस्तुत गरेको बताए । पुस्तकका लेखक पराजुलीले मोम्चो शीर्ष कथाबाट कृतिको नामाकरण गरिएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष नारायणप्रसाद अधिकारीले सञ्चारकर्मी पराजुली साहित्य विधामा पनि सशक्तरूपमा कलम चलाउन थाल्नुभएको टिप्पणी गरे। भूँडीपुराण प्रकाशन प्रालिका प्रबन्ध निर्देशक केशव पराजुलीले भने, “कथाकार वसन्तका कथा नारीवादी हुन्छन् । नारीका व्यथा र चित्कारलाई यथार्थ प्रस्तुत गरिएका हुन्छन् ।” अक्षर समूहका अध्यक्ष प्रभाकर पण्डितले पत्रकारितासँगै साहित्य क्षेत्रमा कथाकार पराजुलीको कलम सशक्त रूपमा चलेको उल्लेख गरे ।

कार्यक्रममा महिला अभियानकर्मी मीना खरेल, अक्षर समूहका कोषाध्यक्ष माया गुरुङ र लेखराम सापकोटालगायतले कथासङ्ग्रहका बारेमा चर्चा गरेका थिए । वरिष्ठ सञ्चारकर्मी पराजुली लामो समयदेखि ‘गोरखापत्र दैनिक’का चितवन जिल्ला समाचारदातामा कार्यरत छन् । उनी तीन दशकभन्दा बढी समयदेखि पत्रकारितामा क्रियाशील छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *