सफ्टवेरिका कलेजको ‘आइओटी’ प्रदर्शनी (तस्बिरहरू)

काठमाडौँ । इन्फरमेशन टेक्नोलोजी र इ–कमर्स पढाउने कलेज सफ्टवेरिकाले इन्टरनेट अफ थिङ ‘आइओटी’ प्रदर्शन सुरु गरेको छ । ‘अल नेपाल आइओटी च्यालेन्ज २०२१’ नाम दिइएको प्रदर्शनी आविष्कार र प्रविधिसँग सम्बन्धित छ । सफ्टवेरिका कलेज परिसर ज्ञानेश्वरमा मंसिर १७ गते शुक्रबारदेखि सुरु भएको प्रदर्शनी आइतबार समापन हुने कलेजले जनाएको छ ।


कक्षा १२ का विद्यार्थीलाई लक्षित गरी विभिन्न प्राविधिक आविष्कार र अवधारणाहरू समेटिएको प्रदर्शनी तीन वर्षदेखि नियमित आयोजना भइरहेको कलेजले जनाएको छ । प्रदर्शनीमा ट्रिनिटी, सिसिआरसी, केएमसी, किस्ट,डिएभी, काष्ठमण्डपलगायत कलेजका विद्यार्थीको संलग्नता छ ।

आफूहरूको आविष्कारको सम्पूर्ण खर्च आयोजकले नै व्यवस्थापन गरेको प्रदर्शनीमा संलग्न विद्यार्थीहले जानकारी दिए ।
प्रदर्शनीमा ५–५ जना विद्यार्थी रहेको सात वटा समूह विभाजन गरिएको छ । हरेक सदस्यले सक्दो मेहनत गरेर आविष्कार गरेको बताए । प्रत्येक समूहले आफ्नो प्रोजेक्टको नाम दिएका छन् ।

प्रदर्शनी अवलोकनका लागि पुग्नेले आफूलाई सबैभन्दा धेरै मन परेको अवधारणा र आविष्कारलाई भोट गर्न पाउने व्यवस्था गरिएको छ । बढी भोट पाएर पहिलो हुने समूहले ५० हजार, दोस्रो हुने समूहले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ पुरस्कार पाउने कलेजले जनाएको छ ।

प्रदर्शनीमा विद्युतीय कार, विद्युतीय ह्विलचियर, अटोनोमस सवारी, ट्राफिक म्यानेजमेन्ट सिस्टम, स्मार्ट एग्रिकल्चर, स्मार्ट पार्किङ, फ्लड डिटेक्सन, मास्क डिटेक्सन, इमर्जेन्सी भेन्डिङ स्टेसन, अटोमेटिक डस्टविन, ड्रोनलगायत अवधारणा समेटिएको छ ।


प्रदर्शनीमा सहभागी ‘दुर्गा’ समूहका प्रतिनिधि तथा काठमाडौँ मोडेल कलेजका विद्यार्थी आशुतोष अधिकारीले आविष्कार प्रविधिसँग जोडिन र केही नयाँ गर्न चाहनेलाई सरकारले प्रोत्साहन नगरेकोमा दुःख लागेको बताए । उनको समूहले फेस मास्क डिटेक्ट गर्ने सिस्टम बनाएको छ ।

जुन सिस्टममा एउटै मेसिनले मास्क लगाए नलगाएको पत्ता लगाउने, स्यानिटाइजर प्रदान गर्ने र शरीरको ताप नाप्ने काम गर्न मिल्छ । त्यस्तै डिएभी कलेजकी पृथा श्रेष्ठ समूह प्रतिनिधि रहेको म्याट्रिक्स समूहले ‘इमर्जेन्सी भेन्डिङ स्टेसन’ प्रोजेक्ट तयार पारेको छ ।

यसमा एउटा भेन्डिङ मेसिनमा स्यानिटरी प्याड, प्राथमिक उपचारका सामग्रीहरूलगायत राखिएको छ । जसलाई प्रयोग गर्न मेसिनमा नै एउटा सिस्टम जोडिएको छ । त्यही सिस्टममा सामान र त्यसको मूल्यमा क्लिक गरेपछि उक्त सामान मेसिनबाट बाहिर निस्कन्छ र आवश्यकताअनुसार प्रयोग गर्न सकिन्छ । यसमा स्क्यान गरेर वा सिक्का राखेर पैसा तिर्न सकिने उनले बताइन् ।

यस्तो भेन्डिङ स्टेसन सरकारले नै राखेर अति आवश्यक प्राथमिक उपचार र स्यानिटरी सामान उपलब्ध गराउन सकेमा धेरै उपयोगी हुने पृथा बताउँछिन् । प्रदर्शनीमा विद्युतीय कार पनि राखिएको छ । ट्रिनिटी कलेजका विद्यार्थी अनुश्न चौलागाईँले आफूमा एलन मस्कको टेस्लाबाट प्रभावित भएर स्मार्ट कार आविष्कारको अवधारणा आएको बताए ।

काष्ठमण्डप कलेजका अनुजय भट्टराई समूह प्रतिनिधि रहेको टोलीले बाढी आउने सम्भावनालाई पहिले नै थाहा दिने सिस्टम बनाएको छ । यो नेपाल जस्तो प्राकृतिक विपत् परिरहने देशलाई अति महत्त्वपूर्ण हुने अनुजय बताउँछन् ।

प्रदर्शनी सुरु हुनुअघि सफ्टवेरिकाले १० दिनको निःशुल्क बुट क्याम्पमा आइओटी प्रशिक्षण दिएको पनि जनाएको छ । प्रदर्शनीमा सहभागी विद्यार्थीहरूले सरकारले युवालाई प्रोत्साहन गर्ने खासै काम नगरे पनि सफ्टवेरिकाले यो अवसर दिनु आफूहरूका लागि ठूलो कुरा भएको बताए ।

तस्बिरहरू : सरोज बस्नेत/मकालुखबर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *