ब्रिटिस कलेजमा  ‘साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’ विषयको पढाइ हुने 

काठमाडौँ । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेजमा नेपालमै पहिलो पटक ‘बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषय’को पढाइ हुने भएको छ।

कलेजले एक औपचारिक कार्यक्रमको आयोजना गरेर ब्रिटिस इन्जिनियरिङ काउन्सिल तथा ब्रिटिस कम्प्युटर सोसाइटीबाट समेत मान्यता पाएको विषय ‘बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’को पढाइ युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्याण्ड (युडब्लुइ)को सम्बन्धनमा सुरु गर्ने जानकारी दिएको हो।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले शैक्षिक कार्यक्रमको औपचारिक सुरुवात गरेका हुन्। त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै मिश्रले नयाँ शैक्षिक कार्यक्रम सुरु गरेकोमा खुसी व्यक्त गरे।

नेपालमा एटिएम ह्याक हुँदा त्यसको अनुसन्धान गर्न सिंगापुरबाट महँगो रकम तिरेर जनशक्ति ल्याउनुपरेको तितो यथार्थ पोख्दै मिश्रले ब्रिटिस कलेजबाट यस क्षेत्रलाई योगदान पु¥याउने जनशक्ति निर्माण हुने विश्वास व्यक्त गरे।

सोल्टी होटेलमा भएको कार्यक्रमको सुरुवात ह्याकिङले हाल देशमा निम्त्याएको खतरालाई प्रतिनिधित्व गर्ने विषयसँग सम्बन्धित विशेष नृत्यबाट भएको थियो।

त्यसपछि फ्याक्ट्स नेपालले तयार पारेको शैक्षिक कार्यक्रमसँग सम्बन्धित तथ्य सामग्री प्रस्तुत गरेको थियो। तथ्य सामग्री प्रस्तुत गर्दै फ्याक्ट नेपालका मनिष झाले नेपालमा यस क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिको अभाव रहेको बताए।

त्यस्तै, साइबर सेक्युरिटी सम्बन्धी तथ्य सामग्रीसहित प्रस्तुत भएका एनसेलका प्रमुख सूचना अधिकारी विशाल उपाध्यायले पनि केही पछिल्लो समय सूचना प्रविधिले फड्को मारेको भन्दै चुनौती पनि थपिएकोले यस क्षेत्रमा काम गर्ने जनशक्ति देशलाई पनि आवश्यक रहेको औल्याए।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह–सचिव अनिलकुमार दत्तले पनि आफ्ना भनाइहरू राख्दै डिजिटल नेपालको अवधारणमा जानको लागि सूचना प्रविधिको क्षेत्रमा धेरै कामहरू भइरहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *