व्यापारीसँग अर्थमन्त्रीको आग्रह- ‘मलाई सहयोग गर्नुस्’

विराटनगर । अर्थमन्त्री जनार्दन शर्माले व्यवसायीका समस्यालाई नीति निर्माण गरेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मोरङ व्यापार संघको ६५औं साधारण सभालाई सम्बोधन गर्दै मन्त्री शर्माले एकले अर्काको सहयोगको भावनाबाट प्रेरित भएर अघि बढ्न आग्रह गरे । यसो भयो भने समस्याको समाधान भएर जाने उनको दाबी थियो ।

अहिलेकै अवस्थामा ५ वर्ष कस्सिएर काम गर्ने मौका पाउने हो भने धेरै गर्न सकिने उनले बताए । शर्माले अहिलेका कतिपय नीतिहरू परिमार्जन गरेर जानुपर्ने अवस्था रहेकोले त्यस्ता कानून परिमार्जन गरेर कार्यान्वायन गर्ने हो भने सबै समस्या हल हुने दाबी गरे । ‘अहिलेको समस्या भनेको इच्छाशक्ति देखिँदैन, भाषण धेरै हुन्छ । काम गर्ने तत्परता केहीमा मात्र हुँदा गर्न खोजिएका कामहरू पनि हुन सकेका छैनन,’ मन्त्री शर्माले भने, ‘तपाईंहरूले मलाई सहयोग गर्नुस् । सरकारले तपाईंहरूलाई सहयोग गर्छ, हामी एक अर्काको सहयोगी बनेर अघि बढौँ ।’

राजनीति आन्दोलनको मुख्य कुरा भनेको आर्थिक विकास नै भएकोले विकासमैत्री हुनका लागि सबैक्षेत्र एक भएर लाग्न उनले आग्रह गरे । ‘एकले अर्काेको सहयोग र हातेमालो आवश्यक रहेको छ,’ उनले भने, ‘स्रोत साधन र इच्छाशक्तिले मात्र काम हुनसक्छ ।’

उनले संस्थागत सुदृढीकरणको खाँचो रहेकोसमेत औंल्याए । शर्माले अर्थ मन्त्रालयको सल्लाहकारको रूपमा मोरङ व्यापार संघ रहेको घोषणा गर्दै यसले दिएका सुझावलाई कार्यान्वायनमा लैजाँदै जाने बताए ।

प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले अहिलेको अवस्थामा देशको छिटो प्रगति गर्न सकिएन भने आत्मसमर्पणको अवस्थामा देश पुग्ने टिप्पणी गरे । अत्यन्त तीव्र गतिमा चीन र भारतले विकासको गति लिइरहेको स्मरण गराउँदै राईले यही अवस्था रहीरहे नेपाली जनशक्ति, पूँजी, रोजगारी, तन्नेरी सबै भारत पलायनलगायतका अन्य देश हुने र उद्योगधन्दा बन्द हुने अवस्थामा पुग्ने बताए । ‘अहिले नै केही त्यस्ता ऐन कानून र अप्ठेरो छन् भने सजिलो बनाउनुपर्छ,’ उनले भनेका छन्, ‘विकासको क्रमलाई ढिला हुन दिनुहुन्न ।’

उनले प्रदेशमा लगानी बोर्ड बनाएर नीजी क्षेत्रसँगको साझेदारीमा काम गर्ने आश्वासन दिए । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले अर्थतन्त्र सुधारका लागि नागरिकले के भन्छन् भन्ने मुख्य हुने बताए । नागरिकको मागको आधारमा नीति निर्माण गर्ने वा परिमार्जन गर्ने भन्ने कुराले अर्थ राख्ने भएकोले व्यवसायीको सुझावलाई विस्तारै कार्यान्वायनमा लगिने बताए । सरकारले लिएको ७ प्रतिशत आर्थिक बृद्धिदर कार्यान्वायन हुने दाबी गरे । पहिलाको जस्तो पूँजीगत खर्च समस्या नहुने बताएका मरासिनीले पूँजीगत खर्चमा इतिहास रच्ने दाबीसमेत गरेका छन् ।

व्यापारी समस्या मात्र सुनाउँछन्

विराटनगरका व्यापारीले हरेक वर्ष उठाउँदै आएको समस्या यो वर्ष पनि अर्थमन्त्रीलाई दोहोर्‍याएर सुनाएका छन् । विराटनगरका ठूला उद्योगी व्यवसायीहरूको संस्था उद्योग संगगठन मोरङ र मोरङ व्यापार संघको कार्यक्रममा सधैँ अर्थमन्त्री तथा गभर्नरहरू नै आएका हुन्छन् ।

प्रदशेका मन्त्री र सांसदको त ओइरो नै लागेको देखिन्छ । तर समस्या ज्यूँकात्यूँ छन् । कार्यक्रममा बोलाउँदा आउँछन्, आफ्ना भनाइ राख्छन् र केही आश्वासनका पोका बाँड्छन् र फर्कन्छन् ।

कार्यक्रम बोल्दै नेपाल उद्योग परिसंघ प्रदेश नं. १ का अध्यक्ष भीम घिमिरेले औद्योगिक नीति बनाउँदा सम्बन्धित सरोकारवालासँग छलफल गरेर मात्र बनाउँदा कार्यान्वायनमा सजिलो हुने बताए । उनले निर्यात मुलक उद्योगलाई समान अधकारी र सुविधा दिनुपर्ने बताए । पूँजीगत खर्च कमजोर भएको कारण तरलताको अवस्था आएको बताएका घिमिरेले कर्मचारी, राजनीति र व्यवसायी इमान्दार भएर सुशासन कायम गर्न ध्यानाकर्षण गराए ।

बैंक र ईस्योरेन्स कम्पनी पञ्चायत बेलाको साहु महाजनजस्तो भएको उल्लेख गर्दै सिंगल डिजिजमा बैंकको ब्याजदर कायम गर्दै बैक र ईन्स्योरेन्सलाई नियमन गर्न घिमिरेले आग्रह गरे ।

उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ अध्यक्ष टीका ढकालले पहिला नेपालबाट उत्पादन भएर विदेश निर्यात हुने सामाग्री सरकारको नीतिका कारण बन्द भएको बताए । ‘नेपालमा उत्पादन हुने र निर्यात हुने अवस्थाका सामग्री अहिले किन रोकियो ?,’ उनले प्रश्न गरे, ‘धान निर्यात हुन्थ्यो अहिले आयात गर्नुपर्ने अवस्था आएको छ, यस्तो अवस्था किन आयो ? सरकारले दिने छुट र सहुलियतमा किन समस्या ?’

नेपालबाट निर्यात हुने वस्तुहरूमा अहिले देखिएको समस्याको बारेमा व्यवसायीलाई स्पष्ट पार्नुपर्ने बताए । उद्योगी पवनकुमार सारडाले कोभिडको महामारीको बीचमा पनि अर्थतन्त्र चलायमान गराउने काम भएको बताए ।

बैकले अत्यन्त सास्ती दिएको सारडाको आरोप छ । ‘बैंकले हिजो घरमा आएर पैसा लग भन्थ्यो । अहिले तत्काल पैसा फिर्ता गर भनेर तनाव दिने गरेको छ । बैंक तथा वित्तीय संस्थाको व्यवहारले व्यवसायी हैरान भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *