राजनीतिक नेतृत्वको पुस्तान्तरण बहसमै सीमित ?

काठमाडौँ । यत्तिबेला देश महाधिवेशनमय छ । राजनीतिक दलहरू अर्को कार्यकालका लागि धमाधम नेतृत्व छनौट गरिरहेका छन् । नेकपा (एमाले) ले भर्खर दशौं महाधिवेशन सम्पन्न गर्‍याे । अर्को ठूलो दल नेपाली कांग्रेस पनि १४औं महाधिवेशनको चटारोमा छ । देशकाे तेस्राे ठूलो दल नेकपा (माओवादी केन्द्र) ले पनि राष्ट्रिय सम्मेलनको तयारी गरिरहेको छ ।

यता प्रजातन्त्रसहितको राजतन्त्रको पक्षमा वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि महाधिवेशनमा हाेमिसकेकाे छ ।

एमालेको अध्यक्षमा केपी शर्मा ओली दोहोरिएका छन् । उनी आगामी फागुनमा ७० वर्ष पुग्दैछन् । ७० वर्षपछि अवकाश हुनुपर्ने पार्टीको विधानका कारण ओली ७० पुग्नुअघि नै महाधिवेशन सम्पन्न गरिएको छ । अध्यक्षमा ओली दोहोरिनुसँगै एमालेको पदाधिकारीमा सबैजसो अघिल्लो पुस्ताकै नेताहरू दोहाेरिएका छन् ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, विष्णुप्रसाद पौडेल, सुवासचन्द्र नेम्वाङ, युवराज ज्ञवाली, रामबहादुर थापा ६० वर्षमाथिका छन् । पोखरेल, नेम्वाङ र थापा त अर्को महाधिवशेनअघि नै ‘रिटायर्ड’ हुनेछन् ।

पदाधिकारीमा प्रवेश गर्ने पहिलो खुट्किलोका रूपमा रहेको सचिवमा नयाँ पुस्ताका कसैले आँट गरेनन् । गोकर्ण विष्ट र योगेश भट्टराई दोहोरिएका छन् । यस्तै सचिवमा देखिएका नयाँ अनुहारहरू पद्‌मा अर्याल, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट र टोपबहादुर रायमाझी पनि पुरानै पुस्ताका नेताहरू हुन् ।

कांग्रेसमा ७५ वर्ष पुगिसकेका बहालवाला सभापति शेरबहादुर देउवाले पुनः सभापतिकै दाबेदारी पेस गरिरहेका छन् । उनलाई उम्मेदवारी घोषणा गरेर दोस्रो पुस्ताका नेताहरूले दबाब त दिएका छन् तर उनीहरूबीच साझा उम्मेदवार कसलाई बनाउने भन्नेबारे समस्या छ । जसका कारण फेरि देउवा नै दोहोरिने सम्भावना उच्च रहेको कांग्रेस नेताहरू नै बताउँछन् । एक कांग्रेस नेता भन्छन्— ‘नयाँ पुस्ताले नेतृत्व गर्नुपर्छ भन्ने त हाे । तर त्यसकाे सम्भावना कम देख्छु म त । देउवाजीलाई टक्कर दिने नेताहरू नभएका हाेइनन् छन् । तर आफैँमा समस्या छन् ।’

तेस्रो ठूलो दल माओवादी केन्द्रभित्रको दृश्य पनि एमाले र कांग्रेसको भन्दा भिन्न छैन । विगत झन्डै ३० वर्षयता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व गरिरहेका माओवादी हुन लागेको सम्मेलनबाट पनि अध्यक्षमा दाहाल नै दोहोरिने निश्चितजस्तै छ ।

यसको संकेत प्रचण्डले गरिसकेकै छन् । पार्टी मुख्यालय पेरिसडाँडामा भएको एक कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘पार्टीको जिम्मा लिने नेता यसो हेर्छु, अँह कोही देख्दिनँ ।’ यसको अर्थ फेरि पनि माओवादी केन्द्र ६७ वर्ष पुगिसकेका प्रचण्डकै हातमा जाने निश्चितप्रायः छ ।

फुट्ने र जुट्ने कुनै टुङ्गो नभएको भनेर आलोचित राप्रपाले एकता महाधिवेशन गरिरहेको छ । जसमा नेतृत्वका लागि दुई पक्षबीच रस्साकस्सी देखिन्छ । नेतृत्वको चाहनाकै कारण पटक–पटक फुटेको राप्रपामा यसपटक कमल थापालाई राजेन्द्र लिङ्देनले टक्कर दिएका छन् । पुरानो पुस्ताका पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले उम्मेदवार नबन्ने बताएका छन् । थापाले भने नेतृत्वमा आफ्नो विकल्प नभएको जिकिरसहित उम्मेदवारी दिएका छन् ।

थापाको समूहमा यसअघिकै नेताहरूको बाहुल्य देखिन्छ भने लिङ्देन पक्षमा केही नयाँ अनुहारहरू पनि समेटिएका छन् । राप्रपाको सहमहामन्त्री भक्ति सिटौला जनता र देशले अब नेतृत्वमा युवा पुस्ता मागेको बताउँछन् । तर लामो विरासत भएका थापालाई हराएर नेतृत्व हत्याउन लिङ्देनलाई उनी र उनको पक्षले दाबी गरेजस्तो सजिलो भने छैन ।

जे होस्, राप्रपाले युवा पुस्ता छान्छ वा पुनः पाका नेताहरू नै दोहोरिन्छन् । त्यो हेर्न बाँकी छ ।

000

नेपाली राजनीतिक दलमा युवा पुस्ताको हस्तक्षेपकारी भूमिकाको खोजी भएको वर्षौँ भइसक्यो । यसबारेमा धेरै चर्चा भएपनि युवाहरूले त्यो भूमिका निर्वाह गर्न भने सकेका छैनन् ।

विश्वका धेरै देशमा राजनीतिक नेतृत्वमा पुस्तान्तरणको क्रम चलेपनि नेपालमा त्यो क्रम एकदमै सुस्त रहेको छ ।

सन् २०१९ को अन्त्यतिर फिनल्यान्डको प्रधान मन्त्रीमा ३३ वर्षकी सान्ना मरिन पहिलो महिला प्रधान मन्त्री बनिन् । जसले विश्व जगत्मै एउटा सकारात्मक ऊर्जा र सन्देश थपियो । न्युजिल्यान्डमा ३९ वर्षका जेसिन्डा अर्डेनले दोस्रो पटक प्रधान मन्त्री बने । साउथ अफ्रिकाको संसद्‌मा आधाजसो प्रतिनिधि युवा र महिला निर्वाचित भए ।

क्यानडामा जस्टिन ट्रूडाे राष्ट्रपति बन्दा विश्वभरि नै युवा नेतृत्वको चर्चा भएको थियो ।

एकसमय विवेकशील नेपाली, साझा पार्टी वा विवेकशील साझा पार्टीले पनि युवा नेतृत्वको सम्भावना बढाएपनि आन्तरिक विवादलगायतका कारणले वैकल्पिक राजनीति पनि प्रभावकारी हुन सकेन र युवा नेतृत्वको अभाव उस्तैगरी खड्कियो ।

सुशासन र लोककल्याणकारी राज्य निर्माणका लागि साझा विवेकशीलजस्ता युवामैत्री नेतृत्व र सक्रिय युवाहरू अनियमितताको विरुद्ध खबरदारी गरिरहेका भने छन् ।

‘युवा पुस्ता तयार भएकै छैनन्’

राजनीतिक विश्लेषक हरि रोका राजनीतिक नेतृत्वमा आउन युवा पुस्ता तयार नै भइनसकेको विश्लेषण गर्छन् । ‘युवा पुस्ता नेतृत्व सम्हाल्न तयार नै देखिँदैन,’ उनी भन्छन्, ‘युवा पुस्ताहरू छलफल कम गर्छन्, अध्ययन कम गर्छन्, विचारमाथि मनथन कम गर्छन् । यसैले उनीहरूलाई त्यो आइडीया नै छैन कि नेतृत्व के हो ? नेतृत्व पाउनलाई के गर्नुपर्छ भनेर ।’

नेतृत्व भनेको महत्वाकांक्षाले मात्रै पाउने कुरा नभएको रोकाको दाबी छ । यद्यपि युवा केही युवाहरूमा मात्रै नभएर सिङ्गो युवा पुस्ता नै त्योप्रति चिन्तन नगर्ने उनी बताउँछन् ।

युवा पुस्ता सुविधा उपभोग गर्ने र चाकरी गर्न मात्र सिपालु रहेको देखिएको उनी बताउँछन् । ‘सुविधा उपभोग र चाकरीबाजबाट नेतृत्वमा पुग्न सकिँदैन । केहीगरी पुगियो भने पनि त्यो नेतृत्वको लागि नेतृत्व मात्रै हुन्छ,’ रोकाले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *