नेपाली कांग्रेस प्रदेश १ को अधिवेशन उद्घाटन नहुँदै विवाद, भोलिसम्म स्थगित

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को अधिवेशन भोलlसम्मका लागि स्थगित भएको छ । प्रदेश १ को अधिवेशन आज दिउँसो २ बजे उद्घाटन गर्ने भनिए पनि विलम्ब हुँदै गर्दा साँझ स्थगित भएको हो । निर्वाचन कार्यक्रम भने यथावत रहेको कांग्रेस नेताहरूले बताएका छन् ।

उद्घाटन कसले गर्ने भन्ने विषयमा विवाद हुँदा स्थगित भएको नेपाली कांग्रेसका एक नेताले बताए । भएको सहमतिअनुसार नै उद्घाटनको विषय टुङ्गो लगाउनुपर्नेमा पार्टी सभापतिले नभ्याउने भनेपछि अरुले उद्घाटन गर्न नमिल्ने भएपछि स्थगित भएको एक नेताले बताए ।

भर्चुअल माध्यमबाट शेरबहादुर देउवाले गर्ने भनिए पनि त्यो सम्भव नभएपछि डा शेखर कोइरालाले गर्ने भनिए पनि पहिला भएको सहमतिअनुसार नै देउवाले गर्नुपर्ने संस्थापनको माग भएपछि आजको उद्घाटन कार्यक्रम भोलिका लागि सारिएको हो ।

सुरुमा नेतृत्वमा सहमति खोज्नका लागि भनेर उद्घाटन रोकिएको भनिएपछि पछि कसले उद्घाटन गर्ने भन्ने विवादका कारण कार्यक्रमपछि सरेको सार्वजनिक भएको थियो । आज स्थगित भएको प्रदेश अधिवेशन भोलि बिहान ८ बजेदेखि हुने नेपाली कांग्रेसले जनाएको छ ।

भोलि बिहान ९ बजेदेखि नै उम्मेदवारीको मनोनयन दर्ताको कार्यक्रम तय भएको छ । प्रदेश १ को प्रदेश अधिवेशनका लागि केन्द्रीय प्रतिनिधि कृष्णप्रसाद सिटौलाले अधिवेशन भोलि बिहान ८ बजे सुरु हुने बताए । केही प्राविधिक कारणले आज अधिवेशन सुरु हुन नसकेको जानकारी दिए ।

दिनभरको छलफलपछि प्रदेश १ सभापतिमा डा.शेखर कोइराला र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट केन्द्रीय सदस्य गुरूराज घिमिरे उठ्ने लगभग पक्का भएको छ भने सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट उद्धव थापा प्रदेश सभापति पदमा उठ्ने निश्चित भइसकेको भएपनि मनोनयन दर्ता भोलिमात्र हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *