पाइलट केसी भन्छन्- ‘विमान धकेल्नु नौलो होइन’

काठमाडौँ । चारपाङ्ग्रे हलुका सवारीसाधनलाई मानिसहरूले धकेलेको त तपाईँ हामी सबैले देखेका छौँ । तर बुधबार बाजुराको कोल्टी विमानस्थलमा एउटा फरक दृश्य देखियो, यात्रुहरूले नै जहाज धकेलिरहेको ।

जिल्लाको पूर्वी उत्तरी भेगको कोल्टी विमानस्थलमा यात्रु लिन गएका जहाज आकाशमा उडिरहेको थियो । यात्रु विमानस्थलमा जहाज आउन थालेपछि एयरपोर्टमा भरिन थाले तर विमानस्थलमा जहाज अवतरण गर्न सकिरहेको थिएन । जहाज अवतरण गर्न नसक्दा यात्रु आत्तिन थाले । विमानस्थल खाली हुँदा पनि जहाज अवतरण गर्न नसक्नुको के कारण हुन सक्छ भन्ने यात्रु एकापसमा कुरा गर्न थालेका थिए । त्यसैबेला एक जना यात्रुले विमानस्थलतिर हेर्दै भने, ‘विमानस्थलको बीचमा त हवाईजहाज राखिएको छ ।’

त्यो जहाज थियो तारा एयरलाइन्सको । सो जहाजको टायर पड्किएर धावनमार्गको बीचमा हुँदा अर्को जहाज अवतरण गर्न सकेको थिएन । जहाज अवतरण गर्न नसकेर धावनमार्गमा रहेको तारा एयरको ९ एन एभीइको जहाजलाई यात्रुले धकेलेर सुरक्षित स्थानमा राखेपछि अर्को जहाज अवतरण भएको थियो । तारा एयरलाइन्सको उक्त जहाजको टायर पड्किएर बीच धावनमार्गमा रहेको र सो जहाजलाई यात्रुले धकेल्दै गरेको भिडियो र फोटो भाइरल बनेको छ ।

‘विमान धकेलेको दृश्य नौलो होइन’
लामो समय तारा एयरको ट्विनअटर विमान उडाएका क्याप्टेन रोशन केसी विमान धकेलेको दृश्य नौलो नभएको बताउँछन् । ‘प्रायः साना खाले जहाज (ट्विनअटर, डोर्नियर, बिचक्राफ्ट)मा रिभर्स गियर भएपनि त्यसको कमै प्रयोग गरिन्छ । रिभर्स गियर प्रयोग गर्दा आवाज बढी आउने र सन्तुलन पनि नहुने हुँदा खासै प्रयोग गरिन्न,’ उनले भने, ‘विमानस्थलमा यस्ता खाले जहाजलाई पछाडि धकेल्न ‘पुस ब्याक भेइकल’को प्रयोग गरिन्छ तर, दुर्गमको विमानस्थलमा यो भेइकल नहुँदा प्रायः मानिसले धकेलेरै सारिन्छ ।’

उनका अनुसार जहाजको चक्का पन्चर भएको अवस्थामा पनि ‘पुस ब्याक भेइकल’ नभएका विमानस्थलमा मानिसहरूले धकेलेर विमानलाई किनारा लगाउने गरिन्छ । ‘यो हाम्रो देशमा मात्र हैन, संसारका हरेक विमानस्थलमा हुने प्रक्रिया हो,’ क्याप्टेन केसीले मकालुखबरसँग भने । ताराको विमान उडाएका उनी अहिले श्री एयरलाइन्सको अपरेसन हेड छन् ।

याे पनि : विमास्थलमा यात्रुले धकेले विमान (भिडिओसहित)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *