घरभित्रको काम, खोई सम्मान ?

उनले लजाउँदै भनेकी थिइन्‚ ‘मैले के काम गर्छु र ?’ एक छिनपछि मैले प्रश्नलाई अलि परिमार्जन गरेर सोधेँ, ‘तपाईँको दिन कसरी बित्छ, तपाईँ दिनभर के के गर्नुहुन्छ, मलाई भनिदिनुहुन्छ ?’ यो प्रश्न गर्दै गर्दा उनको ८ महिनाको काखे बच्चा साथमा थियो । २ वर्षकी जत्रै देखिने छोरी उनले लगाएको म्याक्सीको फेरो समाइरहेकी थिइन् ।

उनले अलि अप्ठ्यारो महसुस गर्दै भनिन्, ‘दिदी पनि के के प्रश्न गर्नुहुन्छ, म के गर्छु र ? बिहान उठ्ने, बेलुका सुत्ने टुंगो नै हुँदैन । कहिले बच्चा रातभर सुत्दैन, आँखा झिमिक्क नगरी उज्यालो हुन्छ । त्यही पनि बिहान ५ बजे उठिसक्नुपर्छ । उठेर बच्चाका लुगा धोई नसक्दै, केटाकेटी उठ्छन् । तिनीहरूलाई लिटो, दूधलगायत दिनैपर्‍यो । ठुली छोरीलाई स्कुल जान बेलैमा खाना खुवाएर तयार बनाउनुपर्छ । ८ वर्षकी ठुली छोरीलाई स्कुल पठायो । आफू खाना खायो, खाएको भाँडा र भान्सा सफा गर्न नपाउँदै फेरि सानाले खाने बेला हुन्छ । फेरि त्यही त हो सानालाई पकायो खुवायो । एउटा भैँसी पालेको छ । त्यसलाई पनि घाँस काट्नै पर्‍यो, खोले पानी गर्नैपर्‍यो । केही कामै गर्न भ्याउँदिनँ हौ दिदी म त ।’

यति भनेर उनी रोकिइन् । म पनि रोकिएँ । सम्झिएँ सुरुको उनको उत्तर ‘मैले के नै काम गर्छु र ?’

दिदी पनि के के प्रश्न गर्नुहुन्छ, म के गर्छु र ? बिहान उठ्ने, बेलुका सुत्ने टुंगो नै हुँदैन । कहिले बच्चा रातभर सुत्दैन, आँखा झिमिक्क नगरी उज्यालो हुन्छ । त्यही पनि बिहान ५ बजे उठिसक्नुपर्छ । उठेर बच्चाका लुगा धोई नसक्दै, केटाकेटी उठ्छन् । तिनीहरूलाई लिटो, दूधलगायत दिनैपर्‍यो । ठुली छोरीलाई स्कुल जान बेलैमा खाना खुवाएर तयार बनाउनुपर्छ ।

छोराछोरी रिमाको म्याक्सीको फेरो समातेर रोइरहँदा छेवैमा उनका श्रीमान् भने मोबाइलमा व्यस्त थिए । कतिपय प्रश्नको उत्तर शब्दमा होइन व्यवहारमा हुन्छन् भनेको शायद यही होला । म केही काम गर्दिनँ भनेर सुरु भएकी रिमाले गर्ने काम (जसलाई उनी काम मान्दिनन्) भन्दै जाँदा उनले आराम गर्ने समय भेटिरहेकी थिइनन् । घरको काम गर्नु कुनै कामै होइन भन्ठान्नेको प्रवृत्ति सदियौँदेखि छ । त्यही भएर धेरैजसो महिलाले के काम गर्नुहुन्छ भन्दा म केही काम गर्दिनँ ‘हाउसवाइफ हो’ वा ‘गृहिणी हो’ भनिरहेका हुन्छन् ।

घरको काममा एकैछिन आराम नभेट्दा पनि घरको कामलाई कामै होइन भन्ने संरचनाले र सोचले रिमाजस्ता हजारौँ घरभित्र टुसुक्क बस्न नपाई काम गरेको गर्‍यै गर्ने महिला अन्यायमा छन् ।

रिमामात्रै होइन, कहिलेकाहीँ हजुरआमाले आफ्नो पुराना दिन सम्झँदै गर्दा म उहाँको भिडियो खिच्छु । आमा रोकिनुहुन्छ अनि फेरि भन्नुहुन्छ ‘के गर्नु‚ मैले ऊ बेलामा छोरो पिठ्यूँमा बोकेर रुखबाट घाँस झारेको तेरो मोबाइलले खिच्न पाएको भए पो हाम्रो दुःख देखिन्थ्यो । लोग्ने मान्छे कमाउन जाने भनेर बर्सौँ घर आउँदैन थिए, बालबच्चा र घर हेर्ने जिम्मा सबै महिलाकै हुन्थ्यो ।

त्यही पनि ‘हामीले कमाएर ल्याइदिएकै छ, जाबो पकाइतुल्याइ खान दिन पनि कति चर्को हो‚’ भन्थे । तरकारीमा नुन चर्को हुँदा होस् वा चियामा चिनी बढी हुँदा ‘पैसा कमाएर ल्याउन कति दुःख छ’ भनेर गाली गर्थे । के थाहा उनीहरूलाई घरभित्रको काम गरेर घर व्यवहार चलाउन त्यहाँभन्दा दुःख हुन्छ भनेर ।

अन्तरराष्ट्रिय श्रम संगठन आईएलओका अनुसार विश्वमा पुरुषको तुलनामा महिलाले ४ गुणा बढी काम गर्ने गर्छन् । सँगै जिन्दगी बिताउने भनिएका धेरैजसो श्रीमानले त घरभित्रको कामको मूल्याङ्कन नगर्ने गरेको पाइन्छ ।

महिलाले घरभित्र गरेको कामको जस राज्यले पनि नदिएको पाइन्छ । उदाहरणका लागि भर्खरै सम्पन्न राष्ट्रिय जनगणना २०७८ लाई हेर्न सकिन्छ । ‘पैसा कमाउने’ काममात्रै काम गर्नु हो भन्ने संरचनामा निर्मित प्रश्नावली र त्यस्तै मानसिकता बोकेर गएका गणकहरूले कस्तो खालको गणना गरेर आए ?

जनगणनाका विषयमा थुप्रै असन्तुष्टि सामाजिक सञ्जालमा देखिए । तर महिलाले घरभित्र गर्ने कामको मर्म नबुझेर जनगणनामा खटिएका गणकहरूले ल्याएका तथ्याङ्कको निष्कर्ष कस्तो आउला ? गएको कार्तिक ३० मा गणक घरमै आएर प्रश्न गरेका थिए । आमाले के काम गर्नुहुन्छ ? मैले ममीले घरभित्रको काम गर्नुहुन्छ, खाना पकाउनुहुन्छ, बच्चा हेर्नुहुन्छ, भैँसीलाई खोले पानी दिनुहुन्छ, बाख्रालाई घाँस झुन्ड्याउनुहुन्छ भन्दै थिएँ । उनले बिच्चैमा थपिन् ‘होइन, खेतीपातीको, कृषिको केही काम गर्नुहुन्न भनेर सोधेको ।’ बुबाले हामी खेतीपाती गर्दैनौँ उनी घरकै काम गर्छिन् भन्ने जवाफ दिनुभयो । तर फेरि उनले अर्को प्रश्न पेलिन् ‘एक घण्टा, आधा घण्टा पनि खेतीपातीको काम गर्नुहुन्न त ?’

महिलाले घरभित्र गरेको कामको जस राज्यले पनि नदिएको पाइन्छ । उदाहरणका लागि भर्खरै सम्पन्न राष्ट्रिय जनगणना २०७८ लाई हेर्न सकिन्छ । ‘पैसा कमाउने’ काममात्रै काम गर्नु हो भन्ने संरचनामा निर्मित प्रश्नावली र त्यस्तै मानसिकता बोकेर गएका गणकहरूले कस्तो खालको गणना गरेर आए ?

मलाई उकुसमुकुस भयो । मैले भनेँ‚ ‘ममी १ घण्टा होइन‚ बिहान उज्यालो भएदेखि बेलुकैसम्म घरभित्रको काम गर्नुहुन्छ‚ कि त आरामले बस्नुहुन्छ । घरधन्दाको काम गर्नुहुन्छ‚ त्यही लेख्नुस् न ।’ त्यसपछि गणक चुप लागेर टिक लगाए । तर गणकमात्रै चुप लागेर के गर्नु जनगणनाले नै महिलाको घरभित्र गरेको कामको मूल्याङ्कन नै नगरेको फेरि पनि पुष्टि भयो । राज्यले नै महिलाको धेरै समय व्यतीत हुने समयको गणना गरेको छैन, त्यसको सम्मान नगर्नु दुखद हो ।

राज्यले नै महिलाले घरभित्र गरेको काम कति महत्त्वपूर्ण छ भन्ने कुराको महसुस नगर्दासम्म महिलाले घरभित्र सम्मानजनक ठाउँ भेट्ने सम्भावना पनि कमै हुन्छ ।

ट्याक्टर बोलाएर १० मिनेटमा तोरी छरेको कामभन्दा महिलाले घरभित्र झिसमिसेदेखि रात पर्दासम्म निरन्तर गरेको काम किन काम हुन सकेन ? मौसमअनुसार आलु रोप्नु, धान रोप्नु, गोड्नु, काम हुँदा त्यही आलुलाई खनेर ल्याएर खानका लागि पकाएको काम कसरी कम भयो ? महिलाको जुन कामका कारण घरका परिवारले समयमै खान पाउँछन् । बच्चाबच्ची विद्यालय र श्रीमान् घर बाहिरको काम गर्न जान भ्याउँछन्, घर सफा सुग्घर रहन्छ, गमलामा फूल फुल्छ, बच्चाबच्चीले नुवाइधुवाइ गर्न पाउँछन्, बस्तुभाउले घाँस र दानापानी पाउँछन्, अनि त्यति महत्त्वपूर्ण काम चाहिँ काममा गणना नहुने ? घरभित्रको कामलाई राज्यले गरेको बेवास्तालाई सम्झिएर महिलाले एक दिन खाना पकाएनन् भने ? वा महिलाले घरभित्र गर्ने कुनै पनि काम गरेनन् भने ? कल्पना गर्नुस् त ।

यही कारण रिमाजस्तै लाखौँ महिला के काम गर्नुहुन्छ भन्ने प्रश्नको उत्तरमा आफूले गर्ने कामलाई कामै होइन भन्ठान्न बाध्य छन् । तर वास्तवमा कामै कामको चटारोले आराम गर्ने समय नै नपाउने रिमाहरू लाखौँ छन् ।

घरभित्रको कामलाई राज्यले गरेको बेवास्तालाई सम्झिएर महिलाले एक दिन खाना पकाएनन् भने ? वा महिलाले घरभित्र गर्ने कुनै पनि काम गरेनन् भने ? कल्पना गर्नुस् त ।

जनगणनाजस्तो महत्त्वपूर्ण गणनाले महिलाको घरभित्रको काम सेवामुखी भएको भन्दै त्यसको गणना नगर्नु कामको र महिलाको पनि अपमान हो । यस्तो हो भने महिलाले मात्र किन सेवा गरिरहने ? कहिलेसम्म सेवा गर्ने ? महिलाले घरभित्र गर्ने काम सेवामात्रै हो भने पनि त्यो सेवा कति जनाले गर्छन् भन्ने कुराको गणना त आउनुपर्छ नि होइन ?

महिलाले घरमा ‘सेवा’ दिएकै कारण कतिले घर बाहिरको काम गर्न सकिरहेका छन् भन्ने कुरालाई जनगणनाले सम्बोधन गर्न सकेन । यहाँनेर स्मरणीय के छ भने गएको फेब्रुअरीमा चीनमा श्रीमतीलाई घरायसी काममा लगाए बापत झन्डै ८ हजार डलर क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाइएको थियो । आफूले घरभित्रको काम गरेको र बच्चा स्याहारसुसार गरेबापतको क्षतिपूर्तिको लागि रकम दाबी गर्दै दायर भएको रिटमा बेइजिङ अदालतले ती महिलालाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने फैसला गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *