त्रिविको आन्तरिक प्रतियोगिता : १३ पदमा नतिजा शून्य, एक पदमा मात्र मागेजति उत्तीर्ण

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका कर्मचारीको बढुवाका लागि गरिएको आन्तरिक प्रतियोगितात्मक परीक्षामा १३ वटा प्रशासनिक पदको नतिजा शून्य आएको छ ।

जम्मा १८ वटा प्रशासनिक पदमा बढुवाका लागि लिइएको परीक्षामा एउटा पदमा मात्र माग बमोजिम परीक्षार्थी उत्तीर्ण भएका छन् । बाँकी चारवटा सेवा समूहमा माग भन्दा कम सङ्ख्यामा परीक्षार्थी उत्तीर्ण भएका छन् भने १३ वटामा कोही पनि उत्तीर्ण हुन नसकेको नतिजा सार्वजनिक भएको छ ।

१३ पदमा नतिजा शून्य
त्रिवि सेवा आयोगले गत वर्षको मङ्सिरमा सञ्चालन गरेको आन्तरिक लिखित परीक्षाको नतिजा सोमवार प्रकाशन गरेको हो । आयोगले लिएको नर्सिङ सह नियन्त्रक, नर्सिङ सहायक, नर्सिङ अधिकृत, आर्थिक उपनियन्त्रक, लेखा अधिकृत, पुस्तकालयध्यक्ष, मुख्य कार्यालय सहायक, उप पुस्तकालयध्यक्ष, कार्यालय सहायक, पुस्तकालय सहायक, ल्याब अधिकृत, मुख्य प्राविधिक सहायक कम्प्युटर र प्राविधिक सहायक पदमा कोही पनि उत्तीर्ण हुन नसकेको नतिजा प्रकाशित भएको छ ।

एक जनाका नर्सिङ सह नियन्त्रक पदका लागि चारजना, पाँचजना नर्सिङ अधिकृतका लागि १४ जना, आठजना आर्थिक उपनियन्त्रकमा १५ जना, सातजना लेखा अधिकृतमा १९ जना, एकजना सह-पुस्तकालयध्यक्ष (अधिकृत प्रथम) पदमा दुई जनाले परीक्षा दिएकोमा कसैको पनि नाम निस्किएन ।

त्यस्तै तीनजना उप-पुस्तकालयध्यक्ष पदमा एकजना, पुस्तकालय सहायक पदमा तीनजना, एकजना ल्याब अधिकृतको लागि एकजना, चारजना मुख्य प्राविधिक सहायक (कम्प्युटर) मा एकजना, पाँचजना प्राविधिक सहायकमा पाँच जना, २१ जना मुख्य कार्यालय सहायक पदमा २६ जना र १३ जना कार्यालय सहायक पदमा ३७ जनाले परीक्षा दिएकोमा नतिजा शून्य रहेको सेवा आयोगको नतिजा प्रकाशनमा उल्लेख छ ।

माग भन्दा कम उत्तीर्ण
यस्तै सहप्रशासक (अधिकृत प्रथम) पदको लागि ८ जना पदपूर्ति हुनुपर्नेमा लिखित परीक्षामा सहभागी २५ जनामध्ये दुई जनाले मात्र नाम निकाल्न सफल भएका छन् । यस्तै उपप्रशासक (अधिकृत द्वितीय) पदमा १६ जना माग भएकोमा एक जना मात्र उत्तीर्ण भएका छन् । यो पदको लिखित परीक्षामा र ६१ जना सहभागी थिए । यस्तै २० जना शाखा अधिकृत माग गरिएकोमा ९३ जना परीक्षार्थीले परीक्षा दिँदा एकजना मात्र उत्तीर्ण भएका छन् । यसैगरी ३ जना माग गरिएको आर्थिक प्रशासनतर्फको आर्थिक सह नियन्त्रक पदको परीक्षामा १४ जनाले परीक्षा दिएकोमा दुई जना मात्र उत्तीर्ण भएको त्रिवि सेवा आयोगले जनाएको छ ।

एक पदमा मात्र माग बराबर उत्तीर्ण
परीक्षामा स्वास्थ्य सेवातर्फ नर्सिङ उपनियन्त्रक पदमा तीनजना माग भएकोमा तीनैजना उत्तीर्ण भएका छन् । यो परीक्षामा सहभागी ४२ जनामध्ये तीन जनाले मात्र नाम निकाल्न सफल भएका आयोगले जनाएको छ ।

२० जनाको उत्तर पुस्तिका रद्द
परीक्षाको मर्यादा विपरीत कार्य गरेको भन्दै २० जनाको उत्तर पुस्तिका आयोगले रद्द गरेको छ । जसमा सह प्रशासक पदका पाँचजना, उपप्रशासक पदका आठजना, शाखा अधिकृत पाँचजना तथा कार्यालय सहायक र आर्थिक उपनियन्त्रक एक एक जनाको उत्तर पुस्तिका रद्द भएको आयोगले निकालेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *