कोरोनाको नयाँ भेरिअन्ट ओमिक्रोन किन हो चिन्ताको विषय ?

कोरोना भाइरसको ओमिक्रोन भेरिअन्ट अहिले विश्वभरिका मानिसका लागि टाउको दुखाइको विषय बनेको छ । ओमिक्रोनलाई विश्व स्वास्थ्य संगठनले नै चिन्ताको विषय भनेको छ । यसबारे अहिलेसम्म के के थाहा छ र के नयाँ छ भन्नेबारे चर्चा गरौँ :-

खोजकर्ताहरूका अनुसार ओमिक्रोनको ३० भन्दा बढी उत्परिवर्तन (म्युटेसन) भइसकेको छ । यो म्युटेसन भाइरसको ‘स्पाइक प्रोटिन’ क्षेत्रमा भएको हो । भाइरसविद्हरूका अनुसार भाइरसको स्पाइक प्रोटिन क्षेत्रमा हुने म्युटेसनले कोरोनाविरुद्धको खोपले बनाएको एन्टिबडीलाई जितेर भाइरसले काम गर्न सक्ने क्षमता त्यो भेरिअन्टमा विकास गर्छ । यस्तो म्युटेसन प्रतिरक्षा प्रणालीका लागि समस्याको विषय बन्न जान्छ । ओमिक्रोन देखिएपछि विश्वभरि बनेका कोरोनाविरुद्धको भाइरसको समीक्षा गर्नुपर्ने स्थिति सिर्जना भएको छ । किनभने सबै खोप स्पाइक प्रोटिनसँग जुध्ने एन्टिबडी विकसित गर्ने गरी बनाइएको छ । यही आधारमा भ्याक्सिनले रोगविरुद्ध काम गरेको थियो ।

सामान्य लक्षण 
भाइरसको यो नयाँ भेरिअन्ट नोभेम्बरको सुरुवातमा दक्षिण अफ्रिकामा पत्ता लागेको थियो । केही दिनपछि नोभेम्बर २४ मा दक्षिण अमेरिकामा भेरिअन्ट पुष्टि भएको जानकारी विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले दिएको थियो । पछिल्लो हप्ता डब्लूएचओले यो भेरिअन्टलाई चिन्ताको विषय बताउँदै ओमिक्रोन नामाकरण गरेको थियो । संगठनले विज्ञप्ति जारी गर्दै यो भेरिअन्टमा धेरै म्युटेसन भएको र पुनः सङ्क्रमण हुने खतरा रहेको प्रारम्भिक संकेत गरेको थियो । कोरोनाको यो नयाँ भेरिअन्ट अफ्रिकी चिकित्सक एन्जेलिक कोएत्जीले पत्ता लगाएकी थिइन् ।

उनले भेरिअन्ट पत्ता लागेपछि उक्त भेरिअन्टबाट सङ्क्रमितलाई कोरोनाको अती सामान्य लक्षण मात्र देखिएको बताएकी थिइन् । ‘अधिकांश सङ्क्रमितले शरीर दुख्ने, धेरै थकाइ लाग्ने जस्ता लक्षणहरू बताएका छन् । म सङ्क्रमित युवा वर्गको कुरा गर्दैछु‚ अरूको होइन । सङ्क्रमण भएर उच्च जोखिममा रहेका व्यक्तिहरूमा यस भेरिअन्टको प्रभावको गम्भीरता अनुमान गर्न अझै समय लाग्छ‚’ डाक्टर कोएत्जीले भनिन् ।

वैज्ञानिकहरू ‘चकित’
दक्षिण अफ्रिकासहित विश्वका अन्य देशमा पनि यो कोभिडको यो नयाँ भेरिअन्ट फेला परिसकेको छ । बोत्सवाना, बेल्जियम, हङकङ, इजरायल, जर्मनी, ब्रिटेनलगायतका देशमा ओमिक्रोनका सङ्क्रमित भेटिएका छन् । दक्षिण अफ्रिकास्थित सेन्टर फर एपिडेमिक रेस्पोन्स एन्ड इनोभेसनका प्रोफेसर टुलियो डी ओलिभेराले ओमिक्रोन अन्य भेरिअन्टभन्दा धेरै फरक र म्युटेसनको असामान्य समूह भएको बताएका छन् ।

उनले भने, ‘यो भेरिअन्टले हामीलाई अचम्मित बनाएको छ । भाइरसमा जुन प्रकारको उत्परिवर्तन हुन्छ र जस्तो उत्परिवर्तन हुन्छ भनेर अपेक्षा राख्न सकिन्छ त्योभन्दा धेरै तीव्र गतिमा यसमा उत्परिवर्तन भइरहेको छ । यो भेरिअन्टमा जम्मा ५० म्युटेसन छ र ३० म्युटेसन स्पाइक प्रोटिनमा भएको छ ।’

अहिले भाइरसले हाम्रो शरीरको कोशिकासँग सम्बन्धित भागमा १० म्युटेसन भएको छ । जबकि विश्वभर त्रास फैलाएको डेल्टा भेरिअन्टमा २ म्युटेसन थियो । अमेरिकाका सरुवा रोग विशेषज्ञ एन्थनी फाउचीले भने, ‘नयाँ भेरिअन्ट फेला पर्नु खतराको संकेत हो‚ तर कोरोनाको खोपले यस नयाँ भेरिअन्टले सङ्क्रमितमा ल्याउने गम्भीर अवस्थालाई रोक्नलाई सक्षम हुन्छ । जबसम्म राम्रो सँग अध्ययन गरिँदैन त्यतिबेला यसले भाइरसबाट बचाउने एन्टिबडीलाई जित्न सक्छ कि सक्दैन भन्न सकिँदैन ।’

कति गम्भीर छ यो म्युटेसन ? 
सबै उत्परिवर्तन अर्थात् म्युटेसनको अर्थ खराब नै हुन्छ भन्ने छैन । यसमा के उत्परिवर्तन भएको छ भनेर हेर्नु महत्त्वपूर्ण हुन्छ । तर चिन्ताको विषय के छ भने यो भाइरस चीनको वुहानमा फेला परेको मूल भाइरसभन्दा मौलिक रूपमै फरक छ । यसको अर्थ के हो भने त्यो मूल भाइरसलाई आधार मानेर बनाइएका खोपहरू यस संस्करणमा प्रभावहीन हुन सक्छन् । केही उत्परिवर्तनहरू भने अन्य भेरिअन्टमा पनि देखिएकै छ‚ जसले म्युटेसनमा अन्य भेरिअन्टको भूमिकाबारे जानकारी दिन सक्छ । जस्तै: एन ५०१ वाईले कोरोना भाइरस फैलाउन सजिलो बनाउँछ । यसमा भएका केही उत्परिवर्तन छन्‚ जसले भाइरस पहिचान गर्न गाह्रो बनाउँछ र खोपको प्रभावकारिता घटाउँछ ।

केही उत्परिवर्तन पूर्ण रूपमा फरक छन् । दक्षिण अफ्रिकाको क्वाजुलु नताल विश्वविद्यालयका प्राध्यापक रिचर्ड लेसल्स भन्छन्, ‘यसले एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने क्षमता बढाउन सक्छ भन्ने मात्र हाम्रो चिन्ताको विषय हो । यो प्रतिरक्षा प्रणालीलाई छलेर बाच्ने खालको छ । तर उदाहरणको रूपमा हामीले यस्ता भेरिअन्टलाई लिनुपर्छ जस्तो कि बीटा भेरिअन्ट । सुरुमा बिटा भाइरस चिन्ताको विषय थियो‚ किनभने यो भाइरस प्रतिरक्षा प्रणालीलाई जित्ने किसिमको थियो । पछि विश्वभरि फैलिएर डेल्टा भेरिअन्टले दुःख दियो । क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रवि गुप्ता भन्छन्, ‘बीटा प्रतिरक्षा प्रणालीलाई जित्ने थियो भने डेल्टा भेरिअन्टको संक्रमणदर धेरै थियो तर यो प्रतिरक्षा प्रणालीसँग सजिलैसँग पराजित हुन्थ्यो ।’

बीबीसी हिन्दीबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *