डब्लुएचओको चेतावनी- ‘ओमिक्रोन सङ्क्रमणको उच्च जोखिम विश्वभरि’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्टले विश्वभरि नै सङ्क्रमणको उच्च जोखिम बढाउने भन्दै चेतावनी दिएको छ । सोमबार डब्लुएचओले यो भेरिअन्टले विश्वका केही क्षेत्रमा गम्भीर परिणामहरू निम्त्याउन सक्ने बताएको हो ।

सङ्गठनका प्रमुख डाक्टर टेड्रोस एडह्यानम गेब्राएससले गरिब देशहरूमा खोप पठाउनका लागि पुन: आह्वान गरेका छन् । यो महिनाको सुरुमा ओमिक्रोन दक्षिण अफ्रिकामा पत्ता लागेको थियो। प्रारम्भिक प्रमाणहरूले यसको सङ्क्रमण जोखिम धेरै रहेको देखाएका थिए । उक्त भेरिअन्टबारे छिट्टै खबर गरिएको भनेर दक्षिण अफ्रिकाको प्रशंसा पनि गरिएको छ ।

अध्ययन हुँदै
सोमवार बोल्दै डाक्टर टेड्रोसले विश्वभरका वैज्ञानिकहरूले नयाँ भेरिअन्ट उच्च सङ्क्रामक छ/छैन, पुन: सङ्क्रमण हुने खतरा कति छ र खोपले कति काम गर्छ भनेर पत्ता लगाउन काम गरिरहेको बताए । ‘ओमिक्रोन देखिनुले कोभिड अब सकियो भन्ने हामी मध्ये धेरैले सोचे पनि त्यो होइन भनेर सम्झाएको छ,’ उनले भने ।

नयाँ भेरिअन्टका कारण कसैको ज्यान गएको भन्ने अहिलेसम्म नपाइएको पनि उनले बताए । यो नयाँ भेरिअन्ट युके, क्यानडा, पोर्चुगल, बेल्जियम र नेदरल्याण्डस्‌लगायत थुप्रै देशमा देखिइसकेको छ । नयाँ भेरिअन्ट देखापरेपछि अमेरिका, युके र युरोपेली संघले दक्षिण अफ्रिकी देशहरूका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाएका छन् ।

उक्त निर्णयको दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसाले आलोचना गरेका छन् । जापानले नयाँ विदेशी पर्यटकलाई मङ्गलवार रातिदेखि सीमा बन्द गरिने घोषणा गरेको छ । अस्ट्रेलियाले पनि सीमा प्रतिबन्ध खुकुलो पार्ने लामो समयदेखिको योजना स्थगित गरेको छ ।

अस्ट्रेलिया जान चाहने विदेशी विद्यार्थी र दक्ष कामदार बुधवारबाट पुन: जान पाउने भनिए पनि अब फेरि डिसेम्बर १५ तारिखसम्मका लागि पर सारिएको छ । इजरेलले पनि विदेशीलाई देश प्रवेशमाथि प्रतिबन्ध लगाएको छ । युकेमा ओमिक्रोनको नयाँ लहरलाई रोक्न मद्दत पुगोस् भनेर १८ वर्षमाथिका सबैलाई कोभिडको बुस्टर खोप दिन लागिएको छ ।

अमेरिकी राष्ट्रपतिले पनि आफ्ना सबै नागरिकलाई बुस्टर खोप लगाउन भनेका छन् । उनले घरभित्र बस्दा पनि मास्क लगाउन आह्वान गरेका छन् । तर बाइडनले अमेरिकामा थप यात्रा प्रतिबन्ध लगाइने वा लकडाउन हुने कुनै अनुमान नगरिएको बताए । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार सन् २०२० मा विश्वव्यापी महामारी सुरु भएयता विश्वभरि २६ करोडभन्दा बढी मानिस सङ्क्रमित भएका छन् र ५० लाखको ज्यान गएको छ । -बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *