मोरङ कांग्रेसको चुनावमा राजमार्ग अस्तव्यस्त

विराटनगर । नेपाली कांग्रेस मोरङको जिल्लाम नेतृत्व चयनका लागि चुनावी कार्यक्रम थियो । बिहान १० बजेदेखि नै चुनावी कार्यक्रम भएकाले त्यसअघि नै नेता/कार्यकर्ताको भिड लागिसकेको थियो । विराटनगरको मुख्य चोक बरागछीबाट उत्तरपट्टीको मनास्लु होटलमा चुनावी कार्यक्रमको आयोजना गरिएकाले अगाडि नै नेता/कार्यकर्ता कार्यक्रम स्थलमा पुगिसकेका थिए ।

ठुलो ठाउँ भएकाले मनास्लु होटलसँगै टाँसिएको खाली जग्गामा चुनाव गरिएको थियो । कोशी राजमार्गसँग जोडिएको यो क्षेत्रमा निक्कै सवारी चाप पर्ने भएपछि समस्या देखिन्थ्यो । चुनावी कार्यक्रम भएकाले नेता तथा त्यसका मतदाता आउने त भए नै‚ चुनावी प्रचारका लागि आएका अन्य कार्यकर्ताका कारण पनि विराटनगरको यो क्षेत्र निक्कै अस्तव्यस्त देखिन्थ्यो ।

बिहान १० बजेदेखिका चुनावी कार्यक्रम साँझसम्म चलेकाले ६ लेन सडकको एक भाग पूरै बन्द गर्नुपर्ने अवस्था आएको थियो ।

No description available.

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका निमित्त प्रमुख प्रहरी नायव निरीक्षक शिव शर्माले बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म निक्कै सकस भएको बताए । त्यो ठाउँ बाहेक अन्यत्र चुनावी कार्यक्रमको आयोजना गरिएको भए यातायात व्यवस्थापनमा समस्या नहुने तर राजमार्गसँग जोडिएकाले समस्या भएको उनले बताए ।

ट्राफिक प्रहरीलाई निक्कै समस्या भए पनि कुनै दुर्घटना हुन भने नदिएको उनले बताए । ‘प्रेसरमा गाडी चलिरहेको थियो,’ उनले भने, ‘ट्राफिक व्यवस्थापनमा समस्या आउँदा वान वे पनि ब्रेक गर्नुपर्ने अवस्था आयो ।’
बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म निरन्तर एउटै व्यक्तिले खटेर ट्राफिक व्यवस्थापन गर्नुपरेको थियो । जिल्लाका विभिन्न युनिटमा रहेका ३५ जना ट्राफिक प्रहरी कांग्रेसको चुनावी कार्यक्रमलाई सहज बनाउन सडकको ट्राफिक व्यवस्थापनमा खटिएका थिए ।

नेपाली कांग्रेसले सडकमा हुनसक्ने दुर्घटना तथा पार्किङ व्यवस्थापनका लागि कुनै स्वयंसेवक परिचालन नगरिएको र पार्किङ स्थलका लागि कुनै समन्वय नगरिँदा पनि समस्या आएको ट्राफिक प्रहरीले जनाएको छ ।

No description available.

नेपाली कांग्रेसले भने ठाउँ ठुलो भएकाले त्यस ठाउँलाई रोजिएको जनाएको छ ।

नेपाली कांग्रेस मोरङको निर्वाचन प्रक्रिया सकिएको छ । ३ हजार ५८५ जना मतदाताले जिल्लाको नेतृत्वका लागि मतदान गरेका थिए । मोरङ सभापतिका लागि संस्थापन पक्षबाट सभापति दिलिप गच्छदारसहित उप-सभापति गोपालबहादुर थापा, सुवोधकुमार सिंह, सचिवमा अर्जुन निरौला, शिवप्रसाद ढकाल, सह-सचिवमा अशोक रिजाल र सुवास भण्डारी चुनावी मैदानमा छन् ।

कोइराला-पौडेल पक्षबाट सभापतिमा डिकबहादुर लिम्बु, उपसभापति नागेश कोइराला, भक्तिनाथ माझी, सचिव मोदराज घिमिरे र ललितकुमार श्रेष्ठ, सह-सचिव भुवनेश्वर मण्डल लगायत रहेका छन् । नेता कृष्ण सिटौला पक्षबाट सभापतिमा यदु विष्टको नेतृत्वमा प्यानल मैदानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *