प्रचण्डको सन्देश- माओवादीलाई क्रान्तिकारी स्पिरिटमा पुनः उठाउँछौँ

काठमाडौँ । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी अरू पार्टी जस्तो नभएको बताएका छन् । पार्टीको पालिका सम्मेलनको भर्चुअल उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी अरू पार्टीभन्दा फरक भएको बताएका हुन् ।

माओवादीको विगत र विरासत दुवै क्रान्तिकारी रहेको उनको भनाई छ । ‘माओवादी त्याग, तपस्या, वीरता र बलिदानले भरिएको छ । क्रान्तिकारी सामाजिक रूपान्तरण गर्दै समाजवादमा जाने अभिस्ट छ,’ प्रचण्डले भने, ‘यो बीचमा क्रान्तिकारी सक्रिय हुनुपर्ने हो । जति सक्रिय र व्यवस्थित हुनु पर्ने हो । भएन । अब हुनुपर्नेछ ।’

सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले माओवादी केन्द्रलाई क्रान्तिकारी स्पिरिटमा पुनः उठाउने बताए । ‘सबैभन्दा पहिलो विचार विकास र परिमार्जन गर्नु जरुरी छ । अब समाजवादी क्रान्तिको मोडल आर्थिक, सामाजिक, सांस्कृतिक पार्टी संगठन र कार्यशैली विकसित गर्नुपर्छ,’ प्रचण्डले भने, ‘यसबाट मात्रै क्रान्तिकारी स्पिरिटमा पुनः उठाउन सकिन्छ ।’

उनले नेकपा विघटन हुनुको मुख्य कारण तत्कालीन अध्यक्ष केपी ओली रहेको आरोप लगाए । प्रतिनिधिसभालाई दुई दुई पटक विघटन गरेर संविधान नै खारेज गर्ने षड्यन्त्रमा ओली फसेको दाहालले दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *