रिसाइरहने, झर्किरहने बालबालिकालाई कस्तो व्यवहार गर्ने ? 

काठमाडौँ । बच्चाहरू झनक्क रिसाउनु धेरै अभिभावकलाई टाउको दुखाइको विषय बनेको छ । बालबालिकाहरुलाई केही भन्नै नहुने, झर्किने, रिसाउने जवाफ फर्काइहाल्ने बानीले धेरै अभिभावक आजित छन् ।

रिसाउनु भनेको नकारात्मक भावनालाई प्रस्तुत गर्ने अपरिपक्व तरिका हो । बालबालिकाको रिसाउने, झर्किने व्यवहारलाई परिवर्तन गर्न यी टिप्सले सहयोग गर्न सक्छन् ।

बालबालिकालाई आफ्नो भावनाबारे बताउन प्रोत्साहन गर्नुहोस् 

आफ्ना बालबालिकालाई मनका भावना प्रस्तुत गर्ने शब्दावली सिकाउनुपर्छ । रिसाइरहेका बच्चासँग कुरा गर्दा आरामसँग, शान्तसँग कुरा गर्नुपर्छ ।

जस्तैः मलाई थाहा थियो तिमीलाई त्यो चिज चाहिएको थियो, तिमीलाई रिस उठिरहेको छ । यसो भन्नुको साटो तिमी रिसाहा हौ, फटाहा हौ, मूर्ख हौ भन्नु हुँदैन । यी कुरामा अभिभावकले ध्यान दिनुपर्छ ।

शान्त रहनुहोस् 

यदि बालबालिका रिसाइरहेका छन्, झर्किरहेका छन् भने उनीहरूको आवश्यकतालाई त्यहीँ बसेर तिरस्कार गर्नु हुँदैन । केही आफैले चाहिएको जस्तो नपाएर अथवा भनेको जस्तो नभएर बच्चा रिसाइरहेका छन् भने उनीहरूलाई त्यो कुराबाट बाहिर निकाल्न कोसिस गर्नुपर्छ ।

कहिलेकाही विषयवस्तु नै परिवर्तन गर्ने कोसिस गर्नुपर्छ । त्यति गर्दा पनि बच्चा रिसाउन छोड्दैन भने उसको रिस नियन्त्रणमा नआएसम्म त्यो कोठा नै छोडेर जानुपर्छ ।

बालबालिकालाई सुरक्षा दिनुहोस् 

यदि बालबालिका रिसाएर बसे, बोल्नै चाहेनन् भने पनि उनीहरूलाई सुरक्षित राख्न जरुरी हुन्छ । बालबालिकालाई समयको अभावले ध्यान दिन नसक्दा पनि उनीहरूलाई आफ्नो मनमा लागेका कुरा आफ्नै शब्दमा राख्ने मौका दिनुपर्छ ।

त्यसो गर्दा उनीहरूको रिस बिस्तारै नियन्त्रण हुँदै जान्छ र आफू सुरक्षित भएको महसुस गर्न सक्छन् ।

बालबालिकाको खाने, सुत्ने, पढ्ने समय तालिका पछ्याउन सहयोग गर्नुहोस् 

बालबालिकालाई निद्रा पुगेन, भोक लाग्यो, थकान महसुस भयो भने उनीहरू धेरै रिसाउने, झर्किने गर्न थाल्छन् । जब उनीहरुको भोक, थकान र निद्राको समस्या समाधान हुन्छ त्यसपछि आफै प्रेमपूर्वक आमा बुबाको काखमा आउँछन् ।

आफ्नो आक्रोश शान्त भएपछि अभिभावकसँग नजिकिएका बेला उनीहरूलाई प्रेमपूर्वक तिमी अघि धेरै भोकाएको थियौ है, अनि एकदम रिसाएको थियौ है । म यही बसेर तिमीलाई हेरिरहेको थिएँ जस्ता वाक्य प्रयोग गर्नुपर्छ ।

यसो गर्नाले बालबालिकामा आफू जुनसुकै अवस्थामा रहँदा पनि अभिभावकले माया गर्ने रहेछन् भन्ने अनुभूति गर्छन् । उनीहरूलाई भोक, थकान, निद्राको समस्याबाट बचाउन एउटा निश्चित समय तालिका बनाएर पछ्याउन सहयोग गर्नुपर्छ । खाना उपलब्ध गराउनुपर्छ । यसो गर्नाले बालबालिका आक्रोशित हुन पाउँदैनन् ।  मायो क्लिनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *