मानव तस्करीमा ट्याक्सी रिजर्भ गर्ने गरेको खुलासा

विराटनगर । विराटनगरको रानी नाकामा हुने मानव ओसारपसार नियन्त्रणका लागि माइती नेपालले चालक प्रशिक्षण अभियान सुरु गरेको छ । सीमा नाकामा सवारी चलाउने चालकलाई लक्षित गरी प्रशिक्षण सुरु गरेको माइती नेपालले जनाएको छ ।

१६ दिने लैंगिक हिंसाविरुद्धको अभियान अन्तर्गत सीमामा हुने मानव तस्कर नियन्त्रणको लागि यो अभियान चलाइएको माइती नेपाल विराटनगरका कार्यक्रम संयोजक विनोद पोखरेलले जानकारी दिए ।

माइती नेपालको आयोजनामा मिनिबस, सिटी तथा टेम्पोका चालकलाई मानव बेचबिखन तथा ओसारपसारविरुद्धको सचेतना प्रदान गरेको छ । रानी नाका भएर मानव तस्करहरूले महिला बालबालिकाको ओसारपसार गर्ने तथा बेचबिखनमा पर्ने सम्भावनालाई मध्यनजर राखेर सवारी चालकलाई प्रशिक्षण दिइएको कार्यक्रम संयोजक पोखरेलले बताए ।

प्रशिक्षणमा इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश राउतले मानव ओसारपसार भएको जानकारी प्राप्त हुनासाथ तत्काल प्रहरी परिचालित हुने बताए । विभिन्न भेषमा मानव ओसारपसार हुने गरेको जानकारी दिँदै यस्ता बारेमा चालकहरू पनि सचेत हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागी चालकहरूले रानी नाकामा मात्रै निगरानी गर्न भन्दा पनि अन्य छोटी नाकाहरूमा पनि निगरानी बढाउन सुझाव दिएका छन् । उनीहरूले खुल्ला सिमाना भएको कारण अन्यत्रबाट पनि भगाएर भारतीय बजारसम्म लग्न सक्ने भएकाले ती नाकाहरूमा पनि ध्यान दिन प्रहरीलाई आग्रह गरे । मानव तस्करहरूले पछिल्ल्लो समय ट्याक्सी नै रिजर्भ गर्ने गरेकाले ट्याक्सी चालकलाई पनि प्रशिक्षण दिनुपर्ने सुझव सहभागीको थियो । माइती नेपालले सीमा नाकामा बिहान ६ बजेदेखि राति १० बजेसम्म सीमा निगरानी गर्दै आएको छ ।

भारतको जोगवनी रेल्वे स्टेसनबाट दिल्ली जानसक्ने सम्भावनालाई मध्यनगर राखेर रातीसम्म नै सीमानाकाको निगरानी गर्ने तथा रेल्वे स्टेशनहरुसम्म पुगेर अनुगमन गर्ने गरिएको माईती नेपालका मनोबिमर्शकर्ता गिताञ्जली शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *