प्रदेश १ : प्रादेशिक सञ्चार प्रतिष्ठान र प्रदेश पर्यटन बोर्ड खारेज

विराटनगर । प्रदेश १ सरकारले प्रादेशिक सञ्चार प्रतिष्ठान र प्रदेश पर्यटन बोर्ड खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अघिल्लो सरकारले गठन गरेको संरचना खारेज गरेको हो । मन्त्रिपरिषद् बैठकले प्रदेश पर्यटन बोर्ड नियमावली २०७८ खारेज गर्ने नियमावलीलाई स्वीकृति प्रदान गरेको छ । बोर्ड खारेजसँगै प्रदेश १ मा गत असोज २४ गते गठन भएर नियुक्त भएका फणिन्द्र अधिकारीसहितका सबै पदाधिकारी पदमुक्त भएका छन् ।

बैठकले प्रादेशिक सञ्चार प्रतिष्ठान गठन, सञ्चालन तथा व्यवस्थापन नियमावली २०७७ तथा सो अन्तर्गत गठन भएको प्रादेशिक सञ्चार प्रतिष्ठान पनि खारेज गरेको प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।
बैठकले प्रतिष्ठानको चल अचल सम्पति अधिकार र दायित्व आन्तरिक मामिला तथा कानुन मन्त्रालयको हुने निर्णयसमेत गरेको छ । प्रतिष्ठान खारेज भएसँगै कार्यकारी निर्देशकमा नियुक्त भएका यज्ञप्रसाद शर्मासहित सबै सदस्यहरु स्वतः पदमुक्त भएका छन् ।

मन्त्रिपरिषद् बैठकले प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रम सञ्चालन नियमावली २०७८ तथा प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालन २०७८ खारेज गर्ने नियमावली स्वीकृत गरेको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली तयारीका लागि आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोको संयोजकत्वमा एक कार्यदल गठन गर्ने निर्णयसमेत गरेको छ । कार्यदलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कालिप्रसाद पराजुली र मुख्य मन्त्री कार्यालयका कानुन सचिव किशोरकुमार चौधरी सदस्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *