प्रेस सेन्टर विवाद : ‘नोट अफ डिसेन्ट’ लेखेर बाहिरियो सोलुखुम्बु

विराटनगर । विवादका बिच प्रेस सेन्टर नेपाल प्रदेश १ को भेला सकिएको छ । नयाँ नेतृत्व चयन गर्ने क्रममा विवाद भएको थियो । होटल व्यवसायीलाई नेतृत्वमा ल्याएको तथा गुटगत राजनीति गरेकोमा विरोध हुँदाहुँदै नयाँ नेतृत्व चयन भएको भन्दै प्रेस सेन्टर सोलुखुम्बुले विरोध जनाएको हो ।

नयाँ नेतृत्व चयन गर्ने क्रममा सोलुखुम्बु जिल्लाका प्रतिनिधिहरूले मध्यरातमा नेतृत्वप्रति असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेर बाहिरिएका थिए । होटल व्यवसायी तथा पहुँचवालालाई नेतृत्वमा ल्याएको, ठूलाे संगठन भएर पनि सोलुखुम्बुलाई बेवास्ता गरिएको उनीहरूको भनाइ छ । प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष महेश्वर दाहालसमेत उपस्थित भएको कार्यक्रममा नेतृत्व चयनमा बेवास्ता गरिएको भन्दै सोलुखुम्बु जिल्लाका प्रतिनिधि नोट अफ डिसेन्ट लेख्दै कार्यक्रम स्थलबाट बाहिरिएका थिए ।

प्रेस सेन्टर सोलुखुम्बुका अध्यक्ष माेतीराम रसाइली, उपाध्यक्ष तेज किराती, सचिव धनबल राई, समावेशी सहसचिव वसन्ती राई, खुल्ला सहसचिव ररमन बन, प्रदेश प्रतिनिधि डाकमान राई तथा प्रदेश १ का सदस्य भरतराज शर्मा (गोपाल)ले पनि विधि र प्रक्रिया नपुर्‍याइ पदाधिकारी चयन गरिएकोप्रति आपत्ति जनाउँदै विरोध गरेका छन् ।

उनीहरूले संयुक्त हस्ताक्षरसहित निर्वाचन समितिका गणेश लम्साललाई असहमतिको पत्र बुझाएका हुन् । सोलुखुम्बुले बुझाएको नोट अफ डिसेन्ट पत्रमा प्रदेशमा भएको गुटबाट निर्देशित प्रेस सेन्टर नेपाल प्रदेशको पेलाइलाई अस्वीकार गरेको, एउटै जिल्लालाई दुईवटा सचिव दिएको, सेन्टरलाई मोरङ र सुनसरीकेन्द्रित बनाउने काम भएको, होटल व्यवसायीलाई पदाधिकारी बनाउने कामले प्रेस सेन्टर सोलुखुम्बुले असहमति जनाएको नोट अफ डिसेन्ट पत्रमा उल्लेख छ ।

‘१३ पदाधिकारीको प्रस्ताव घोषणा भइसकेपछि पनि पटक पटक नेतृत्व (आयोजक)को ध्यानाकर्षण गरियो‚ तर सम्बोधन भएन,’ नोट अफ डिसेन्टमा भनिएको छ, ‘सोलुखुम्बुलाई पेलेरै जाने नीति लिइयो, हामीले हाम्रो मागदाबी ताकेता गर्दा पनि नजरअन्दाज गरेको कार्यले भावनात्मक चोट पुगेको छ ।’

प्रेस सेन्टर नेपालले दोस्रो प्रदेश अधिवेशन मंगलबार विराटनगरमा आयोजना गरेको थियो । नेतृत्व चयनका लागि गएराति मध्यरातसम्म सहमतिको प्रयास भएको थियो । सहमतिको आधारमा नेतृत्व चयन गर्ने क्रममा केही व्यवसायी पनि पदाधिकारीमा आएपछि जिल्ला प्रतिनिधिहरूले विरोध जनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *