प्रदेश १ : बारको आन्दोलनमा वकिलहरू भन्छन्- आफ्ना गल्ती पनि सुधारौँ

विराटनगर । प्रदेश १ का वकिलहरूले न्यायालयसँगै बार पनि सच्चिनुपर्ने बताएका छन् । अरुमाथि प्रश्न उठाइरहँदा बार पनि त्यसबारेमा स्पष्ट हुनुपर्ने र कमी कमजोरी भए सच्याएर अघि बढ्नुपर्ने बताएका हुन् ।

उच्च अदालत बारको आयोजनामा भएको धर्नापछिको अन्तरक्रिया कार्यक्रममा बोल्दै अधिवक्ताहरूले न्यायालयभित्र छिरेको वेथितिलाई अन्त्य गर्नका लागि अहिलेको आन्दोलन महत्वपूर्ण भएको बताए । अभिवक्ता उद्धवचन्द्र घिमिरेले न्यायालयका बारेमा आन्दोलन गरिरहँदा कुन बेला कहाँ हान्ने भन्नेमा बार स्पष्ट हुनुपर्ने बताए ।

घिमिरेले पहिला बारभित्रका समस्या पहिचान गरी त्यसको समाधानतर्फ लाग्दै न्यायालयभित्रका विकृति र विसंगतिको बारेमा औँल्याउँदै आन्दोलनलाई उचाईमा पुर्‍याउन सकिने बताए ।

सुनसरी वारका उपाध्यक्ष सुमनचन्द्र कार्कीले बारले पनि आफ्नो आचरण र व्यवसायिक कौशलतालाई कसरी अगाडि बढाएका छौँ‚ त्यो ख्याल गरिनुपर्ने बताए । ‘कानुन व्यवसायी पनि जनमैत्री, पेशाप्रति उत्तरदायी भएका छन् कि छैनन् भन्ने मुख्य कुरा हो,’ उनले भने, ‘न्यायालय बनाउने आन्दोलनको साथमा रहेका हामी सबैले आफ्नो पेशालाई पनि विचार गर्नु पर्ने हो कि ?’

नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्य मनोज चौधरीले नेपाल बारको आन्दोलनले सेवाग्राही प्रभावित भएको स्वीकार गरे । कालो कोट लगाएपछि सेवाग्राहीको सेवा गर्नुपर्ने हाम्रो धर्म र अवस्था आएको हो‚’ उनले भने, ‘सेवाग्राहीको सेवा पाउने अधिकार खोसिएको छ, हामी कानुन व्यवसायी सेवाग्राहीप्रति क्षमा याचना गर्छौँ ।’ योभन्दा अघिका प्रधान न्यायाधीश पनि स्वच्छ र ईमान्दार नरहेको र अहिलेका झन् कलंकित भएकाले न्यायालय बचाउने अभियानमा बार लागेको उनले स्पष्ट पारे ।

अभिवक्ता पुरूषोत्तम नेपालले सर्वोच्चभित्रको विकृति विसङ्गति रहेछ भन्ने स्पष्ट देखिएकाले प्रधान न्यायाधीशमाथिको नैतिक प्रश्न उठेको आरोप लगाए । नेपालले प्रधान न्यायधीश चोलेन्द्र शमशेर राणाले राजीनामा दिएर मात्र नपुग्ने भन्दै भोलि पाउने सेवा सुविधा पनि कटौती हुनुपर्ने माग राखे ।

No description available.

अभिवक्ता पेशल न्यौपानेले सबैभन्दा बढी भ्रष्ट न्यायाधीशको रूपमा कलंकित भएका व्यक्ति राणा भएको आरोप लगाए ।

‘उनी घ्यू कुरौनी प्रथाका प्रधान न्यायाधीश हुन्,’ उनले भने, ‘उनका विचौलियाले घ्यू कुरौनी बोकेर जानुपर्ने अवस्था छ; त्यस्ता प्रधान न्यायाधीश हाम्रा लागि उपयुक्त छैनन् ।’

प्रधान न्यायाधीश विचौलियाको चंगुलमा फसेकाले एक दिन पनि कार्यालयमा बस्न योग्य नरहेको बताए । कार्यक्रममा सहभागी हुन केन्द्रीय बारबाट टिकाराम भट्टराईलगायत जिल्ला बारका पदाधिकारीहरू कार्यक्रममा सहभागी भएका थिए । उच्च अदालत बारले १० देखि १२ गतेसम्म हरेक दिन बिहान धर्ना तथा आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *