झापामा सिटौलाको विरासत खस्कँदै‚ विश्वप्रकाशको कडा टक्कर

विराटनगर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकिँदै गर्दा झापामा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र वर्तमान प्रवक्ता विश्वप्रकाश शर्मा पक्षबीच कडा टक्कर देखिएको छ ।

समग्रमा महाधिवेशन प्रतिनिधिमा सिटौला पक्षका करिब ५२ प्रतिशत र विश्वप्रकाश पक्षका करिब ४८ प्रतिशत छनौट भएका छन् । नेपाली कांग्रेस झापा प्रचार विभागका अनुसार झापामा निर्वाचित ३ हजार ५ सय ६७ जना क्षेत्रीय प्रतिनिधि चुनिएका मध्येबाट १३१ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि छनौट भएका छन् ।

छनौट भएकाहरू आधाभन्दा केही कम शर्मा पक्षीय प्रतिनिधि छन् । प्रदेश निर्वाचन क्षेत्रमा दुवै पक्षका बराबर क्षेत्रीय सभापतिले जितेका थिए । त्यो अङ्कगणित प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय सभापतिसम्म आउँदा केही फेरबदल भएको छ । क्षेत्रीय सभापतिमा विश्वप्रकाशका २ जना सभापति बनेका छन् भने ३ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको सभापतिमा कृष्णप्रसाद सिटौलाका उम्मेदवारले जितेका छन् ।

यसरी हेर्दा झापामा अझै सिटौला पक्ष बलियो देखिए पनि विश्वप्रकाशले कडा टक्कर दिँदै आएका छन् । १३औँ महाधिवेशनसम्म झापामा एकछत्र राज गरेका सिटौलालाई अहिले विश्वप्रकाशका उम्मेदवार हराउन हम्मेहम्मे परेको छ । सिटौलाका उम्मेदवारले जितेका निर्वाचन क्षेत्रमा पनि झिनो मतान्तरले मात्र जितेका छन् ।

नेपाली कांग्रेस निर्वाचन समितिले दिएको जानकारीअनुसार झापाको निर्वाचन क्षेत्र १ मा ईन्द्रबहादुर बुढाथोकी, २ मा खगेन्द्र मैनाली, क्षेत्र नम्बर ३ मा गणेश पोखरेल, क्षेत्र नम्बर ४ मा जयनारायण शाह र क्षेत्र नं. ५ को क्षेत्रीय सभापतिमा ढुण्डीराज भण्डारी निर्वाचित भएका छन् ।

निर्वाचित सभापतिहरूमध्ये प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ र ५ विश्वप्रकाश पक्षका उम्मेदवारले सभापतिमा जितेका हुन् भने २, ३ र ४ नम्बर क्षेत्रमा सिटौलाका उम्मेदवारले जितेका छन् । झापामा रोचक मानिएको सिटौला र शर्माको प्रतिस्पर्धाले केन्द्रको राजनीतिमा पनि प्रभाव पार्ने कांग्रेसका नेता तथा कार्यकर्ताहरू बताउँछन् । ‘पहिला झापामा कांग्रेसभित्र सिटौलाको एकलौटीजस्तै थियो‚’ एक नेताले भने, ‘यो महाधिवेशनको अङ्कलाई केलाएर हेर्ने हो भने संख्याले बढी भए पनि सिटौला पहिलेभन्दा कमजोर देखिनु भएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *