गाँजा बेचेको आरोपमा एमजनका कार्यकारी निर्देशकलाई मुद्दा

काठमाडाैँ । भारतमा गाँजा तस्करीका लागि अनलाइन किनमेल वेबसाइट एमजन प्रयोग भएको आरोप लागेपछि उक्त कम्पनीका वरिष्ठ अधिकृतहरूमाथि लागुपदार्थ कारोबारको मुद्दा परेको छ ।

गत साता मध्यप्रदेश प्रहरीले दुई व्यक्तिलाई भारतका अन्य राज्यमा २० केजी गाँजा तस्करी गरेको आरोपमा पक्राउ गरेको थियो । ती व्यक्तिले एमजन वेबसाइटमा स्टिभियाको पात भन्दै भाङ बेचेका थिए । एमजनले आफ्नो साइटमा गैरकानुनी पदार्थ बेच्न राख्न नपाइने नियम भएको बताएको छ ।

कम्पनीले त्यस्तो कार्य गर्ने व्यापारीमाथि कडा कारबाही गर्ने बताएको छ । ‘यो विषय हामीलाई जानकारी गराइएको छ र हामी अहिले यसमाथि अनुसन्धान गरिरहेका छौँ,’ एमजनले एउटा विज्ञप्तिमा भनेको छ । राज्य प्रहरीले एमजन इन्डियामा कार्यकारी निर्देशकहरूमाथि लागुऔषधसम्बन्धी कानुनअन्तर्गत मुद्दा चलाइएको बताएको छ ।

सो वेबसाइट प्रयोग गरेर लगभग एक लाख ४८ हजार अमेरिकी डलर बराबरको गाँजा बेचिएको अनुमान छ । यो घटनाबाट एमजनलाई भारतभित्र व्यापार गर्न अर्को कानुनी समस्या बनेको छ । भारतमा एमजनमाथि प्रतिस्पर्धासम्बन्धी विषयमा पनि अनुसन्धान भइरहेको छ ।

एमजन र अर्को अमेरिकी कम्पनी वाल्मार्टद्वारा सञ्चालित फ्लिपकार्टले केही व्यापारीहरूलाई विशेष व्यवहार गरेको आरोपबारे छानबिन भइरहेको छ । एमजनले सेप्टेम्बरमा एक वा बढी कर्मचारीले भारतीय सरकारी अधिकारीहरूलाई घुस दिएको दाबीबारे आन्तरिक छानबिन सुरु गरेको थियो ।

हालैका वर्षहरूमा भारतीय प्रहरीले लागुऔषध तस्करी र प्रयोगविरुद्ध आफ्नो कारबाहीलाई तीव्र बनाएको छ । गत वर्ष धेरै चर्चित भारतीय कलाकार र टेलिभिजन प्रस्तोताहरू लागुऔषधसम्बन्धी अनुसन्धानको दायरामा परेका थिए । –बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *