दोलखा र काभ्रेमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ । काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले दोलखा र काभ्रेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय संघ–संस्थासँग सहकार्य गरेर दोलखाको तामाकोशी गाउँपालिका र काभ्रेको पाँचखाल नगरपालिकामा शिविर सञ्चालन गरिएको हो ।

दुवै शिविरमा गरी सोमबार १ हजार ९ सय २४ बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । च्यामा–काठमाडौँ सेवा समाजसँग सहकार्य गरेर दोलखाको तामाकोशी गाउँपालिका–६ च्यामास्थित महेन्द्र उच्च माध्यमिक विद्यालयमा दुई दिने शिविर आयोजना गरिएको छ ।

शिविरको पहिलो दिन १ हजार १ सय ९ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १९८ जनाको इसीजी, २०७ जनाको ल्याब टेस्ट र १९९ जनाको भिडियो एक्स-रे गरिएको छ । दाँतमा समस्या भएर आएका ४५ जना बिरामीको दाँत उखेलिएको छ । त्यस्तै, शिविरमा उपचार सम्भव नभएर अप्रेसन गर्नुपर्ने देखिएका ६५ बिरामीलाई अप्रेसनका लागि अस्पताल रेफर गरिएको छ ।

यता, पाँचखाल नगरपालिका वडा नं.७ सँग सहकार्य गरेर स्थानीय रामपाटी स्वास्थ्य चौकी र सहकारी विकासको भवनमा एक दिने शिविर सञ्चालन गरिएको हो । शिविरमा ८ सय १५ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ । त्यस्तै, १६२ बिरामीको इसीजी, १८१ बिरामीको ल्याब परीक्षण र १५० जना बिरामीको भिडियो एक्स-रे गरिएको केएमसीका जेनेरल मेनेजर दाहालले जानकारी दिए ।

उनका अनुसार शिविरमा २५ जनाको दाँत खोलिएको छ भने २० जना बिरामीलाई अप्रेसनका लागि अस्पताल रेफर गरिएको छ । केएमसीले विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *