हेल्थ डेस्कमा हात धुने समस्या

विराटनगर । विराटनगर महानगरपालिका १६ को मुख्य प्रवेशद्वार नजिकै हात धुने बेसिन राखिएको थियो । कोभिडको महामारीको बेलामा सरकारले धान्न नसकिरहेको बेलामा युनिसेफले एउटा धारा जडान गरेको थियो ।

युनिसेफले बनाएको हात धुने ट्याङ्कीसहितको धाराको संरचना कान्छाराम कन्स्ट्रक्सनले सडक निर्माण गर्ने क्रममा भत्काएपछि अहिले स्वास्थ्यकर्मीलाई समस्या भएको छ । कोभिड सुरु भएपछि बनाइएको संरचना सडक निर्माण गर्ने बेला जोगाउन भनिए पनि बेवास्ता गरेर भत्काइएको स्वास्थ्यकर्मीको भनाइ छ ।

कोभिड सुरु हुँदा भारतबाट आउने सर्वसाधारणको सङ्ख्या बढेपछि विराटनगर महानगरपालिका र प्रदेश सरकारले सीमा क्षेत्रमा स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क राखेका थिए । हेल्थ डेस्कसँगै हात धुनका लागि अनिवार्य व्यवस्था गर्न पानी ट्याङ्की हितको धाराको व्यवस्थापन गरिएको थियो । हेल्थ डेस्क तथा स्वास्थ्यकर्मी त्यहीँ भए पनि पानीको सबै संरचना निर्माण कम्पनीले भत्काइदिँदा स्वास्थ्यकर्मीलाई हात धुनसमेत समस्या हुने अवस्था आएको ३ महिना पुगिसकेको हेल्थ डेस्कका इन्चार्ज डा. कमलकिशोर यादवले बताए ।

यसरी भत्काएको ३ महिना बितिसक्दा पनि पानीको व्यवस्थापन नभएको र आजभोलि‚ आजभोलि भन्दा भन्दै अहिलेसम्म हात धुने पानीको समस्या भएको उनले बताए । कोभिड टेस्ट गर्दा हात धुनुपर्ने हुन्छ‚ त्यो सर्ने रोग भएकाले हात नधुँदा झन् सर्ने सम्भावना बढेर जान्छ । बोर्डरमा भएकाले हात धुने राम्रो व्यवस्था हुनुपर्नेमा अहिलेसम्म कसैको ध्यान नगएको उनको गुनासो छ ।

‘एकै ठाउँबाट कोभिड, औलो र क्षयरोग परीक्षण भइरहेको अवस्थामा प्रत्येक व्यक्तिको परीक्षणपछि हात धुनैपर्छ,’ उनले भने‚ ‘सडक निर्माणको बेला भत्काएपछि कलमा गएर धुनुपर्ने वा बाल्टिनमा ल्याएर राख्नुपर्ने बाध्यता छ ।’

यहाँ खुट्टाले थिचेपछि पानी आउनेखालको धारा जडान गरिएको थियो । तर सडक निर्माणको क्रममा त्यो भत्काएर फालिदिएपछि भारतबाट आउनेले हात धोएर नेपाल प्रवेश त गर्न पाएनन् नै‚ स्वास्थ्यकर्मीले समेत हात धुन पाएका छैनन् । ‘यो सीमा क्षेत्र बोर्डर भएर पनि हामीले हात धुने पानीसमेत नपाउने अवस्था आयो,’ उनले भने, ‘कान्छाराम निर्माण सेवाले सडक निर्माण गर्दा व्यवस्थित रूपमा अन्यत्र सानेर निर्माण गरिदिनुपर्नेमा भत्काइदिँदा समस्या आयो ।’

त्यसबारेमा पटक पटक निर्माण कम्पनी कान्छाराम निर्माण सेवालाई जानकारी गराउँदा गराउँदै आए पनि अटेर गरेको वडा नम्बर १६ का वडा अध्यक्ष मनोज सुब्बाले बताए । वडा र महानगरपालिकाको समन्वयमा बनाइएको धारा भत्काएपछि समस्या भएको उनी सुनाउँछन् । ‘हामीले पटक पटक निर्माण कम्पनीलाई फोन गरेर निर्माण गर्न भन्यौँ, उनीहरूले वास्ता गरेनन्,’ वडा अध्यक्ष सुब्बाले भने, ‘अहिले त फोन गर्दा फोन पनि उठाउन छाडेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *