प्रदेश १ : एमाले पदाधिकारीका आकांक्षी को को ?

विराटनगर । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत प्रदेश १ बाट पदाधिकारीमा को को जान्छन् यकीन भइसकेको छैन । प्रदेश १ मा थुप्रै नेताहरू भएकाले पनि धेरैले पदाधिकारीमा जाने इच्छा व्यक्त गरेको देखिन्छ । प्रदेश १ का दुई पूर्व मुख्यमन्त्री भीम आचार्य र शेरधन राई अहिले पदाधिकारीको लाइनमा देखिएका नेताहरू हुन् । त्यस्तै लालबाबु पण्डित तथा राजेन्द्र गौतम पनि पदाधिकारी बन्ने तयारीमा छन् ।

नेकपा एमालेको नेतृत्व अहिले प्रदेश १ ले सम्हाल्दै आएको छ । झापाका केपी शर्मा ओली एमालेका अध्यक्ष रहेको अवस्थामा उनले पार्टी अध्यक्ष दोहोर्‍याउने देखिन्छ । त्यस्तै अर्का प्रभावशाली नेता सुवासचन्द्र नेम्वाङले पनि पदाधिकारीमा नै उठ्ने तयारी गरेका छन् । सुवासचन्द्र नेम्वाङका अनुसार अहिले नै यो पद भनिहाल्ने भन्दा आवश्यकताको आधारमा जुनसुकै पदमा आफू बस्न तयार रहेको छन् ।

अध्यक्षमा ओलीको दोहोर्‍याउने मनसाय रहेकाले अध्यक्षमा अरुको सम्भावना नरहेकाले अहिले अध्यक्ष बाहेकका पदहरू छलफलमा नै रहेको नेम्वाङ बताउँछन् । थुप्रै केन्द्रीय नेता बोकेको प्रदेश १ मा हालका सचिव भीम आचार्य पनि पदाधिकारीमा उठ्ने नेतामध्येकै एक हुन् । उनले सचिव, महासचिव, उपाध्यक्षमध्ये कुनै एकमा उठ्ने तयारी थालेका छन् । सुदूरपूर्व ताप्लेजुङदेखि नै पदाधिकारीका लागि तयारी भइरहेको देखिन्छ ।

ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने योगेश भट्टराई, ईलामका सुवासचन्द्र नेम्वाङ, भोजपुरका शेरधन राई, सुनसरीका भीम आचार्य, मोरङका गुरु बराल, भानुभक्त ढकाल, लालबाबु पण्डित, जीवन घिमिरे, संखुवासभाका राजेन्द्र गौतम पदाधिकारीको लाईनमा छन् । त्यस्तै खोटाङका विशाल भट्टराई, झापाका हिक्मत कार्की पनि पदाधिकारीको आकांक्षीमा देखिएका छन् । कतिपय सचिवमा आकांक्षा देखाउने र त्यसको बार्गेनिङ केन्द्रीय सदस्यसम्म हुनेमा देखिएको छ ।

अहिले पनि पदाधिकारीमा रहेका र खाइपाइ आएकाहरू पछि हट्ने सम्भावना देखिँदैन एमालेका एक नेताले मकालुखबरलाई जानकारी दिँदै भनेका छन्, ‘त्यस्तो खालका प्रदेश १ मा ५ जनजाति छन् । केन्द्र र प्रदेशमा उच्च पदमा पुगिसकेका र केन्द्रमा पनि प्रभाव जमाउन सक्ने खालका भट्टराई, आचार्य, राई, नेम्वाङ, पण्डित र गौतम अहिले पदाधिकारीको प्राथमिकतामा परेका नेता हुन् । उनीहरू जसरी पनि पदाधिकारीमा हुनैपर्छ भन्नेमा देखिएका छन् । पदाधिकारीको तल्लो तह सचिव पद भएकाले अहिले सचिवको आकांक्षी धेरै देखिएको एमालेका नेताहरू बताउँछन् ।

नेकपा एमाले प्रदेश १ का सचिव विनोद ढकालले अहिलेको अवस्थासम्म हेर्दा कुनै प्यानलगत उम्मेदवार नदेखिएको बताए । आफ्नो इच्छा व्यक्त गर्नेहरू प्रशस्तै देखिए पनि धेरैले मुख खोली नसकेको अवस्थामा प्यानलमा उम्मेदवारी दर्ता हुने सम्भावना नदेखिएको नेता ढकालको भनाइ छ ।

पदाधिकारीमा उठ्ने तयारीमा रहेका लालबाबु पण्डित महाधिवेशनमा नेतृत्वका लागि चुनाव हुने स्थिति नरहेको बताउँछन् । यसअघिका दुईवटा महाधिवेशनमा पुपलर मत पाएको दाबी गरेका पण्डित नेतृत्वका लागि चुनावी प्रक्रियामा जाने स्थिति आएमा उपाध्यक्ष पदमा र यदि सहमतिमा जाँदा जुनसुकै पदाधिकारीमा बस्नका लागि तयार रहेको पण्डितले मकालुखबरलाई जानकारी दिए । उनले आफू अध्यक्ष र महासचिव बाहेकका जुनसुकै पदका लागि तयार रहेको बताएका छन् ।

‘रावलको जमानत जफत हुन्छ’
नेकपा एमालेको अहिलेसम्मको विधानमा भएको व्यवस्थाअनुसार १५ जना पदाधिकारीको सिट छ‚ त्यो १५ जनामा ११ जनाले प्रदेश १ बाट नै पदाधिकारीका लागि आकांक्षा देखाएका छन् । १५ पदका लागि देशभरिबाट १०० जनाभन्दा बढी उम्मेदवारहरू देखिएको पण्डित बताउँछन् । २२ सय प्रतिनिधिमा ९ सय उम्मेदवार मात्रै देखिनु एमालेप्रतिको आकर्षण भएको पण्डितको भनाइ छ ।

अध्यक्षमा हालको अध्यक्षको तुलनामा कोही आउन नसक्ने दाबी गर्दै पण्डितले भने, ‘व्यक्तिगत रुपमा को कहाँबाट उम्मेदवारी दिनुहुन्छ थाहा भएन । जमानत जफत हुने अवस्था आउनसक्छ ।’ भीम रावलप्रति लक्षित गर्दै पण्डितले पहिलो कुरा रावल महाधिवेशनको हलसम्म टिक्न नसक्ने र टिकिहाले पनि १० प्रतिशत भोट नपाएर जमानत जफत हुने अवस्थामा पुग्ने तर्क गरे ।

प्रतिक्रिया

One thought on “प्रदेश १ : एमाले पदाधिकारीका आकांक्षी को को ?

  1. देवराज घिमिरे पनि पदाधिकारीकै दाबेदार होलान् नि? उनको नाम छुटेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *