विराटनगर भन्सारका श्रमिक आन्दोलित, १२ गतेदेखि एकीकृत भन्सार जाँच चौकी ठप्प पार्ने चेतावनी

विराटनगर । विराटनगरको रानीमा रहेको एकीकृत भन्सार चौकीमा कार्यरत श्रमिक तथा मजदुरहरूले हड्तालको चेतावनी दिएका छन् ।

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै एकीकृत कारखाना श्रमिक संघले श्रम ऐन कार्यान्वायन गर्न माग राख्दै भन्सार ठप्प पार्ने चेतावनी दिएको हो ।

संघका अध्यक्ष शम्भुकुमार यादवले मजदुरहरूको जायज माग पूरा नगरे मंसिर १२ गतेदेखि एकीकृत भन्सार जाँच चौकी ठप्प पार्ने चेतावनी दिए । संघकै अगुवाईमा २०७७ माघ १९ गते श्रम ऐन २०७४ को परिच्छेद १९ को दफा ११६ को उपदफा १ (क), (ख), (ग) र उपदफा (२) अनुसारका मागहरू राखिएको भएपनि मागको सम्बोधन नभएको उनले बताए ।

हाल कार्यरत सम्पूर्ण कामदर तथा कर्मचारीहरूलाई नियमित गर्नुपर्ने, कार्यरत प्रत्येक कामदार तथा कर्मचारीहरूलाई सात लाख बराबरको बीमा गर्नुपर्ने माग अघि सारेका छन् । उनीहरूले त्यहाँभित्र रहेको ठेकेदार प्रथाको अन्त्य गर्नुपर्ने समेत बताएका छन् ।

‘विदेशी कामदार तथा कर्मचारीहरूलाई श्रम स्वीकृति लिएर मात्र काममा लगाउनु पर्ने हाम्रो माग हो,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रत्येक कामदार तथा कर्मचारीहरूलाई युनिफर्म २ सेटको दरले दिने व्यवस्था गरियोस् ।’

संघले सम्पूर्ण कामदार तथा कर्मचारीहरूलाई अवश्यकताअनुसार जुत्ता, मास्क, पजा र साबुनको व्यवस्था, १ महिना बराबरको चाडपर्व खर्च, कार्यस्थलमा कुनै किसिमको दुर्घटना भए वार्षिक स्वास्थ्य बीमाको माग संघले गरेको छ । ट्रेड युनियन प्रतिनिधिहरूलाई माथिल्लो कमिटीले अयोजना गर्ने गोष्ठी, सेमिनार तथा कार्यक्रममा उपस्थिति हुनु पर्दा काज बिदा, युनियन कार्यालय कोठाको व्यवस्था गर्न पनि उनीहरूले माग गरेका छन् । पटक पटक माग राख्दै आए पनि सुनुवाई नभएपछि हड्तालमा जानुपर्ने अवस्था आएको संघले जनाएको छ ।

श्रमिकका समस्यालाई लिएर उनीहरू श्रम तथा रोजगार कार्यालयमा नगएका पनि होइनन् । कार्यालयले गत वैशाख २६ गते र चैत २० गते वार्ता गराएको थियो । उद्योग तथा वाणिज्य मन्त्रालयको प्रतिनिधिको रोहबरमा वार्ता बस्ने भनिए पनि त्यो वार्ता भने हुन सकेन । मन्त्रालयका प्रतिनिधि नआएपछि वार्ता नै रोकियो र श्रमिकहरू थप सशंकित भए ।

मागको बारेमा जानकारी गराउँदा पनि ध्यान नदिने, सरकारी टोली वार्तामा नबस्नुले श्रमिकको माग पूरा नहुने देखेर हड्तालमै जानुपर्ने अवस्था आएको विज्ञप्तिमा उल्लेख गरिएको छ । उनीहरूले हड्ताल गर्नेबारेमा कात्तिक ११ गते नै जानकारी गराइसकेको बताएका छन् । श्रम ऐन २०७४ को दफा १२१ को उपदफा (२) अनुसार ३० दिन अगावै जानकारी दिनुपर्ने व्यवस्थाअनुसार एकीकृत भन्सार जाँच चौकी तथा सरोकारवाला निकायहरूलाई जानकारी गराइएको एकीकृत कारखाना श्रमिक संघका अध्यक्ष यादवले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *