अमेरिकामा झरेको पैसा टिप्नेको भिडले सडक जाम

काठमाडौँ । अमेरिकामा बख्तरबन्द गाडीबाट पैसा खसेपछि नोट टिप्नेको भिड लाग्दा सडक जाम भएको छ । शुक्रबार बिहान एउटा बख्तरबन्द गाडीबाट पैसा खसेको थियो । उक्त पैसा टिप्नेको भिड लाग्दा सडक जाम भएको हो ।

सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा मानिसहरू गाडीबाट झरेर सडकभरि रहेका नोटहरू हतारहतार टिपिरहेका देखिन्छन् । यो घटना क्यालिफोर्नियाको सान डिएगो काउन्टीको इन्टरस्टेट ५ हाइवेमा भएको हो । प्रहरीका अनुसार चालकहरूले गाडी रोकेर पैसा टिप्न निस्कँदा राजमार्गमा जाम भएको थियो ।

प्रहरीले केहीलाई गिरफ्तार गरेको र पैसा लिएर गएकाहरूलाई फिर्ता बुझाउन अनुरोध गरिएको छ । एउटा गाडीको ढोका बीच सडकमा खुल्दा स्थानीय समयानुसार बिहान सवा नौ बजेतिर सो घटना घटेको बताइएको छ । ‘जेसुकै कारणले भए पनि बख्तरबन्द गाडीबाट पैसा झरिरहेको थियो,’ राजमार्ग गस्ती अधिकृत जीम बेट्टेनकोर्टले भने ।

भिडिओमा गाडीहरू रोकिएको र मानिसहरूले एक र बीस डलरका नोटहरू टिप्दै रमाइरहेको देखिन्छ । राजमार्ग प्रहरीले सङ्घीय जाँच ब्यूरो एफबीआईले जाँच गरिरहेको बताउँदै पैसा फिर्ता दिन आग्रह गरेको छ । बेट्टेनकोर्टले त्यहाँ पैसा टिपेका मानिसहरूमाथि कारबाही हुनसक्ने बताएका छन् । -बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *