तत्काल मेडिकल कलेज खोल्न डा. केसीको माग

पोखरा । चिकित्सा शिक्षा सुधारको अभियानमा रहेका डा. गोविन्द केसीले तत्कालै सरकारी मेडिकल कलेज खोलेर सहज अध्ययनको वातावरण बनाउन प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । उनले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई भेटेर ध्यानाकर्षण पत्र बुझाए । अन्तर्राष्ट्रिय मान्यता अनुसार स्वास्थ्य र शिक्षा क्षेत्र गैर नाफामूलक हो ।

तर अधिकांश मेडिकल कलेजहरू निजी कम्पनीले चलाएर नाफाको व्यापार गरिरहेका छन् । लामो समयदेखि शिक्षा र स्वास्थ्यको निजीकरण तोड्ने अभियान चलाएका केसीले गण्डकीमा तुरुन्तै सरकारी मेडिकल कलेज स्थापना गर्न माग गरेका हुन् । ‘संविधानले गुणस्तरीय, सस्तो, सुलभ रूपमा शिक्षा र स्वास्थ्यमा नागरिकको पहुँच ग्यारेन्टी गरेको छ,’ उनले भनेका छन्, ‘तर नेपालीहरू सो अधिकारबाट वञ्चित छन् । सेवामूलक हुनुपर्ने क्षेत्रमा निर्लज्ज र अन्यायपूर्ण रूपमा व्यापारीकरण गरिएको छ ।’

चिकित्सा शिक्षा ऐन आइसकेको अवस्थामा समेत गण्डकीले मेडिकल कलेज खोल्न सकेको छैन । नेपालका ७ मध्ये ५ प्रदेशमा सरकारी मेडिकल कलेज खुलेको छ । गण्डकी र प्रदेश नम्बर २ ले यो प्रक्रिया अघि बढाएका छैनन् । गण्डकी सरकारले आफ्नै विश्वविद्यालय स्थापना गरेको छ । चिकित्सा शास्त्र अध्ययन गराउने भनिएपनि प्रक्रिया सुरु भएको छैन ।

केसीको ध्यानाकर्षणपछि मुख्यमन्त्री पोखरेलले तत्कालै काम थाल्ने विश्वास दिलाए । ‘हामीले सुलभ र गुणस्तरीय शिक्षाकै लागि छुट्टै विश्वविद्यालय बनाएका छौँ । यही अन्तर्गत रहने गरी मेडिकल कलेज चलाउने प्रक्रिया अघि बढिसकेको छ,’ उनले भने, ‘प्रक्रियागत झन्झटले केही ढिलाइ भइरहेको छ । अब छिटै सरकारी मेडिकल कलेज यहाँ स्थापना हुन्छ ।’

तनहुँको बेलचौतारा स्थित भानुभक्त क्याम्पसको जग्गा लिएर गण्डकी सरकारले मेडिकल कलेज चलाउने प्रस्ताव अघि सारेको छ । जग्गा प्राप्ति र सम्पत्ति हस्तान्तरणका कारण ढिलाइ भएको पोखरेलले बताए । अनौपचारिक कुराकानीमा डा. केसीले मेडिकल कलेज खोल्ने अभियानका लागि आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । उनले पोखरामै आमरण अनसन बस्ने बताएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *