प्रमुख दलहरू महाधिवेशनकाे चटाराेमा

काठमाडौँ । प्रभावशाली राजनीतिक दलहरू आ–आफ्नो महाधिवेशनमा केन्द्रित भएका छन् । नेकपा एमालेले मंसिर १० गते १२ गतेसम्म १०औं महाधिवेशन गर्दैछ । एमाले महाधिवेशनमा होमिइसक्दा अरू दलहरू पनि पनि महाधिवेशनमै छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत विभिन्न तहको अधिवेशनमा छ । कांग्रेसको प्रदेश सभा अधिवेशन मंसिर १६–१७ गते हुँदैछ । कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४–२६ सम्म काठमाडौँमा हुनेछ ।

नेकपा माओवादी केन्द्रको शनिवार देशभर एकसाथ वडा सम्मेलन गर्दैछ । मंसिर ११ गते सबै पालिकाहरूमा र मंसिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन हुँदैछ । आगामी पुस ११, १२ र १३ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन हुनेछ ।

यहीबीचमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पनि महाधिवेशन हुँदैछ । राप्रपाको महाधिवेशन मंसिर १५ देखि १७ गतेसम्म काठमाडौँमै हुनेछ ।

एमालेबाट अलग भएर गठन भएको नेकपा (एकीकृत समाजवादी) ले पनि राष्ट्रिय भेलाको तयारी गरेको छ । गत ९ भदौमा निर्वाचन आयोगमा दर्ता भएको समाजवादीले राष्ट्रिय भेलामार्फत पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्ने भएको छ ।

जनता समाजवादी पार्टी, नेपालले विधान अधिवेशन गर्ने भएको छ । विधान अधिवेशनपछि राष्ट्रिय महाधिवेशनबारे छलफल हुने जसपा नेता सुरेन्द्रकुमार यादवले जानकारी दिए ।

जसपाबाट अलग भएर गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी भने तत्काल महाधिवेशनमा नजाने भएको छ । ‘हामी (लोसपा) भर्खरै आयोगमा दर्ता भएका हौँ’, लोसपा नेता केशव झाले भने, ‘पाँच वर्षसम्म महाधिवेशन गर्नुपर्ने बाध्यकारी छैन । यसबारे पार्टीमा छलफल पनि भएको छैन ।’

एमालेमा अध्यक्षको मुख ताक्दै नेताहरू

महाधिवेशन हुने भएपछि नेताहरू दौडधुपमा हुनु स्वाभाविकै हो । तर, एमालेमा अलि फरक दृष्य छ । नेताहरू पदका अकांक्षी भएपनि अध्यक्ष केपी शर्मा ओलीको मुख ताकिरहेका छन् ।

उदाहरणका लागि– नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेलले उम्मेदवारी दिने उनी निकटस्थहरूले प्रचार थालेका छन् । बालकोट पुगेर अध्यक्ष केपी शर्मा ओलीलाई निरन्तर भेटिरहेका स्थायी कमिटी सदस्य पोखरेल स्वयम्ले भने यसबारे मुख खोलेका छैनन् ।

सामाजिक सञ्जालमा पोखरेलको प्रचार देखेपछि उपमहासचिव विष्णुप्रसाद पौडेल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेनिकट नेताहरूले पनि प्रचार थालेका छन् । चितवनमा हुने १०औं महाधिवेशनमा यी तीनै नेताले महासचिव पदको आकांक्षा राखेका छन् ।

तर पौडेल, पाण्डे र पोखरेलको कुन पदमा उम्मेदवारी रहन्छ भन्ने औपचारिक घोषणा हुन सकेको छैन । महाधिवेशन केही दिन मात्रै बाँकी रहेपनि महासचिव पदमा मात्रै नभएर अन्य पदका आकांक्षीहरू पनि अलमलमा देखिन्छन् ।

एमालेका एक स्थायी कमिटी सदस्यकाअनुसार, आकांक्षी नेताहरूले अहिलेसम्म आफ्नो उम्मेदवारी घोषण नगर्नुको प्रमुख कारण अध्यक्ष ओलीको संकेतको पर्खाइ हो । ‘अध्यक्षज्यूले अहिले सबैको नाडी छामिरहनुभएको छ । कसको खुबी कति रैछ त भनेर हेरिरहनुभएको छ,’ ओली सचिवालयका एक सदस्यले भने, ‘पदाधिकारीका लागि तयारी गरिरहनु भएका नेताहरू पनि दिनदिनै भेट्न त आउनुहुन्छ, तर आफू कुन पदको आकांक्षी हो भनेर भन्न सकिरहनुभएको छैन ।’

तर १० बुँदे सहमति गरी एमालेमै रहेका र माओवादी पृष्ठभूमिका नेताहरूले भने फाट्टफुट्ट चाहना सार्वजनिक गर्न थालेका छन् । यद्यपि ओलीले ती नेताहरूलाई पनि ठोस जवाफ दिन सकेका छैनन् ।

आफ्नै उम्मेदवारीबारे प्रष्ट नभए पनि एमाले नेताहरूले यसपटक प्यानल नबन्ने दाबी गरिरहेका छन् । नवौं महाधिवेशनमा प्रष्ट दुई प्यानलमार्फत नेतृत्व चयन भएको थियो । ‘अध्यक्षको आशीर्वाद पाइएन भने जितिन्न भन्ने मानसिकता छ । त्यसैले उहाँले के भन्नुहुन्छ भनेर साथीहहरू बालकोट धाएको धायै छन्,’ ओलीनिकट एक पदाधिकारी भन्छन्, ‘मैले पनि उहाँलाई धेरैपटक भेटिसकेँ । तिमी यही पोष्टमा उठ भन्नुभएको छैन ।’

कांग्रेसमा नेतृत्वका आकांक्षी धेरै

कांग्रेसमा नेतृत्वका आकांक्षी धेरै छन् । उनीहरुको व्यवस्थापन कसरी हुन्छ भन्ने मुख्य चासो देखा परेको छ । ‘नेपाली कांग्रेसको १४औं महाधिवेशनमा म पनि सभापतिको उम्मेदवार हो । शेरबहादुरजी (शेरबहादुर देउवा) ले अब काँध फेर्नुपर्छ ।’ यो भनाइ हो कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठको । श्रेष्ठले थपे, ‘शेरबहादुरजी र रामचन्द्र पौडेलपछि कांग्रेसमा सबैभन्दा सिनियर मै हुँ । अब उहाँहरूले नेतृत्व हस्तान्तरण गर्नुपर्छ । मलाई सहयोग गर्नुपर्छ ।’ तर, शेरबहादुरजी र रामचन्द्र पौडेल दुवै सभापतिमा लड्ने तयारीमा छन् ।

दोस्रो पुस्ताका विमलेन्द्र निधि पनि सभापतिका प्रमुख एक आकांक्षी हुन । निधिले देउवालाई भेटेर आफू सभापतिको आकांक्षी रहेको भनी पटक पटक आफूलाई समर्थन गर्न दबाब दिइरहेका छन् । तर, देउवाबाट यस्तो साथ निधिले पाउने संभावना कम छ ।

अघिल्लो बिहीबार प्रधान मन्त्रीसमेत रहेका देउवाले आफूनिकट पदाधिकारीलाई बालुवाटार बोलाउँदा उपसभापति निधिलाई छुटाएनन् । महाधिवेशनको तयारीका बारेमा छलफल गर्न भन्दै नेताहरू बोलाइएको थियो, तर देउवाले शुरुमै भने, ‘अब म सभापतिमा अगाडि बढेँ, तपाईंहरू सबैको साथ चाहियो ।’

संस्थापन समूहमै रहेर सभापतिका लागि तयारी गरेका उपसभापति निधिले देउवाको आग्रह ठाडै इन्कार गरे । ‘म त सभापतिमा तयारी गरिरहेको छु । १३औं महाधिवेशनमै अर्काे पटक तपाईं नै हो भनेर भन्नुभएको हो । त्यहीअनुसार तयारी गरिरहेको छु,’ निधिले भने, ‘मलाई तपाईंको समर्थन र आशीर्वाद चाहिन्छ ।’
नेताहरूकाअनुसार देउवा र निधिबीच हुने हरेक गुटगत छलफलमा यस्तै सम्वाद दोहोरिने गरेको छ र एकले अर्कालाई समर्थन गर्ने परिस्थिति बनेको पनि छैन ।

१३औं महाधिवेशनमा सभापतिमा प्रत्यासी बनेका देउवा, पौडेल र कृष्णप्रसाद सिटौलामात्र होइन, उपसभापति निधि, महामन्त्री शशांक कोइराला, पूर्वउपभापतिद्वय श्रेष्ठ र प्रकाशमान सिंह, पूर्वसहमहामन्त्रीहरू रामशरण महत र अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू शेखर कोइराला, सुजाता कोइराला र कल्याण गुरुङले १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने बताउँदै आएका छन् ।

संस्थापन इतर समूहबाट एउटा मात्र उम्मेदवार नभए युवा नेताले पनि छुट्टै उम्मेदवारी दिने बताउँदै आएका छन् । तर, सभापतिका आकांक्षी धेरैले पदाधिकारीमै चित्त बुझाउने अवस्था रहेको विश्लेषण गरिँदैछ । देउवा र नेता पौडेलबाहेक नेतृत्वमा आकांक्षी धेरैको व्यवस्थापन पदाधिकारी र सदस्यमा हुनसक्ने कांग्रेस नेताहरूको बुझाइ छ ।

कतिपयले महाधिवेशनमा आफ्नो स्थान सुरक्षित गर्न र प्रचारको लालसाले पनि सभापतिको प्रत्याशी बन्ने बताइरहेको टिप्पणी छ । विगतका महाधिवेशनमा पनि सुरुमा नेतृत्वका लागि आकांक्षी धेरै देखिए पनि अन्तिममा २/३ जनामात्र मैदानमा खडा भएको स्मरण गर्दै एक नेताले १४औं महाधिवेशनमा चार जनासम्म उम्मेदवार बन्न सक्ने विश्लेषण सुनाए । नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल जस्ता भ्रातृ संगठनमा नेतृत्वको दाबी गर्ने र पछि पदाधिकारीमा सीमित हुने गरेको प्रसंग उल्लेख गर्दै कांग्रेस नेताहरू पार्टीमा पनि त्यही रोग भित्रिन लागेको बताउँछन् ।

तर केन्द्रीय सदस्य गुरुराज घिमिरे भ्रातृ तथा शुभेच्छुक संगठनमा जस्तो माथिल्लो पदमा दाबी गरेर तल्लो पदमा आफूलाई सुरक्षित गर्ने सम्भावना पार्टीमा नरहेको बताउँछन् । ‘नेतृत्वका लागि प्रतिस्पर्धा गर्छु भनेर पार्टीका नेता तथा कार्यकर्ताको ध्यान आफूतर्फ केन्द्रित (एटेन्सन) गराउने यो पुरानो फर्मुला हो,’ घिमिरे भन्छन्, ‘अब त्यो फर्मुलाले काम गर्दैन । सभापतिमा दाबी गर्ने अनि तल्लो पदमा उठ्ने छुट अब कसैलाई छैन ।’

पार्टीको उपसभापति, महामन्त्रीसहितका पदमा युवाले उम्मेदवारी दिने घिमिरेको दाबी छ ।

माओवादीमा आन्तरिक निर्वाचन खुला

नेकपा माओवादी केन्द्रले आन्तरिक निर्वाचन प्रणाली खुला गरेको छ । विगतमा नेतृत्व चयनमा मनोनीत हुने गरेको अवस्थामा यसपटक निर्वाचनमा जोड दिने नीति छ । त्यसैअनुसार केन्द्रदेखि स्थानीय तहसम्म संगठन निर्माण र निर्वाचनको तयारी भएको छ ।

तथापि, नेतृत्व चयन सर्वसम्मत गर्ने विषय अहिले पनि प्राथमिकतामै छ । सर्वसम्मत हुन नसके आन्तरिक चुनावका लागि खुला रहने नीति पार्टीले अख्तियार गरेको बताउँछन् माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठ ।

नेतृत्व चयनमा गर्ने विधि र प्रक्रियाबारे नीति कस्तो छ ? भन्ने प्रश्नमा केन्द्रीय निर्वाचन आयोगका प्रमुख श्रेष्ठ भन्छन्, ‘सर्वसम्मत नेतृत्व चयन भयो भने सम्बन्धित निर्वाचन समितिले विधि प्रक्रिया पूरा गर्दछ । यदि सर्वसम्मत भएन भने निर्वाचन प्रक्रियामा जान्छौं । र जसले बढी मत ल्याउँछ उही विजयी भएको घोषणा हुन्छ ।’

निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठ यसपटक पार्टीका सबै तहका सबै संरचनामा निर्वाचित भइ ३ लाख बढीले जिम्मेवारी लिने बताउँछन् । ‘करिब ३ लाख कार्यकर्ता निर्वाचत भइ जिम्मेवारीमा आउनेछन्’ उनले भनेका छन् । उनका अनुसार निर्वाचनको प्रक्रियाबाट कमिटी चयन गर्ने विधिलाई अवलम्बन गरिनेछ ।

केन्द्रीय समिति पार्टीको महाधिवेशन प्रतिनिधिबाट निर्वाचित हुनेछन्, र केन्द्रीय समितिका पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो सदस्य केन्द्रीय समितिका सदस्यहरूको मतबाट निर्वाचित हुनेछन् ।

शान्ति प्रक्रियामा आएपछि माओवादीले भूमिगत संरचनालाई नै विस्तार गर्दै कमिटीहरू सक्रिय बनाउन खोज्यो । केही समय ति किमिटीहरू सक्रिय भए । तर, नेतृत्व विकासका आकांक्षा राख्नेहरु पाखा लाग्दै गए । नेपाली कांग्रेस, नेकपा एमालेले आन्तरिक निर्वाचनमार्फत नेतृत्व चयन गर्ने प्रक्रियालाई दखाएर प्रश्न गर्नेहरु पार्टीभित्र छायामा पर्दै गए, नेताका वरीपरीकाले अवसर लिँदै गए । कार्यकर्ताको यस्तो गूनासो नेतृत्वले खासै सुन्दैनथ्यो । र माओवादीभित्र आन्तरिक लोकतन्त्रको विषय उठिरह्यो । र यसलाई सम्बोधन गर्ने प्रयास माओवादीले यसपटक गरेको छ ।

माओवादी केन्द्रका नेताहरू पार्टीलाई पुनःजीवन दिन र पुराना पार्टीहरूले गर्दै आएका राम्रो अभ्यासलाई अंगीकार गर्दै आन्तरिक निर्वाचनलाई प्रोत्साहन गरिएको बताउँछन् ।

‘विगतमा आन्तरिक निर्वाचन नहुने भन्ने होइन । तर, हामी बिचार र पार्टीभित्र कटिबद्ध व्यक्ति खोज्थ्यौं । अहिले पनि यो प्राथमिकतामै छ । तर, पार्टीप्रति कटिबद्ध र वैचारिक व्यक्तिहरुबीचकै प्रतिस्पर्धालाई रोक्न हुन्न भन्ने प्रयास हो,’ माओवादी केन्द्रका नेता चौलागाईंले भनेका छन् ।

तर, आन्तरिक निर्वाचनले कतै पार्टीमा विभाजित मानसिकता विकास हुन्छ कि भन्ने निन्ताबाट भने नेतृत्व मुक्त हुन सकेको देखिँदैन । यसको उदाहरण हो – प्रवक्ता कृष्णबहादुर महराद्धारा शुक्रबार जारी विज्ञप्ति । उनले विज्ञप्तीमार्फत भनेका छन्, ‘हाम्रो पार्टीको वडा सम्मेलनमा कुनै पनि विभाजित मनोविज्ञान एवं मानरिकता नराखि एकतावद्ध भएर सर्वहारा वर्गप्रति निष्ठावान, जनताप्रति उत्तरदायी र समाजवादी क्रान्तिको यात्रामा लाग्न सक्ने एवं रुपान्तरित पार्टी निर्माणमा लाग्न आम जनसमुदायमा हार्दिक अपिल गर्दै सम्मेलन शुभकामना व्यक्त गर्दछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *