लिबियाका शक्तिशाली नेताद्वारा राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा

त्रिपोली । लिबियाका शक्तिशाली नेता तथा पूर्वगृहमन्त्री फाथी बसाघाले राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेका छन् । तेलको धनी राष्ट्र लिबियामा आगामी महिना हुन लागेको राष्ट्रपतीय निर्वाचनका लागि उनले उम्मेदवारी घोषणा गरेका हुन् ।

न्यायसहितको नयाँ लिबिया बनाउने उद्घोषका साथ उनले राजधानी त्रिपोलीमा घोषणापत्रसमेत सार्वजनिक गरेका छन् । त्यसैगरी उनले मानवअधिकारको सम्मान गर्ने र बजार नियन्त्रित अर्थतन्त्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रपतिका लागि ५९ वर्षीय बसाघाले उम्मेदवारी घोषणा गरेसँगै अहिलेसम्म उम्मेदवारहरूको सङ्ख्या चार पुगेको छ । देशको राष्ट्रपति बन्नका लागि प्रतिस्पर्धा गर्न मैदानमा उत्रिएका उम्मेदवारहरूमध्ये पूर्वराष्ट्रपति मोहम्मद गद्दाफीका छोरा पनि रहेका छन् ।

गद्दाफीका माइला छोरा सइफ अल इस्लाम गद्दाफीको उम्मेदवारीलाई लिबियालाई पुरानै अवस्थामा फर्काउने प्रयत्नको रूपमा व्याख्या गरिएको छ ।

आफ्नो पिताका सबैभन्दा योग्य उत्तराधिकारीका रूपमा हेरिएका उनलाई जिन्टन सहरको एक मिलिसियाको नियन्त्रणमा राखिएकोमा रिहा गरिएपछि उनले राजनीतिक गतिविधि गर्न लागेका हुन् ।

उनीप्रति लक्षित गर्दै नयाँ उम्मेदवार बसाघाले भनेका छन्, ‘लिबिया फेरि पुरानै अवस्थामा फर्किन सक्दैन, आमनागरिक नयाँ लिबिया चाहन्छन्, म त्यसका लागि काम गर्नेछु ।’

उनले लिबियामा रगत र आँसु बगाउने दिनको आफूले अन्त्य गर्ने र सबैलाई खुसी र सुखी राख्ने अठोट व्यक्त गरेका छन् । ‘हामीले अब पुनर्निर्माण, पुनःस्थापना र पुनर्जागरणको अभियान चलाउनुपर्छ, त्यसका लागि मलाई जिताउनुहुनेछ भन्ने विश्वास लिएको छु,’ उनले भने ।

पूर्वसैन्य विमान चालक तथा व्यवसायी बसाघाले फायज सार्जा नेतृत्वको अघिल्लो सरकारमा सन् २०१८ देखि गृहमन्त्रीको रूपमा जिम्मेवारी निर्वाह गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घको समर्थन प्राप्त शक्तिशाली सरकारमा गृहमन्त्री बन्ने मौका पाएका बसाघालाई लिबियाको शक्तिशाली नेताका रूपमा चिनिन्छ ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *