इजरायली प्रधानमन्त्री भारत भ्रमणमा आउने

नयाँ दिल्ली । इजरायलका नयाँ प्रधानमन्त्री नफ्ताली बेनेट भारत भ्रमणमा आउने भएका छन् । उनी कहिले आउने यकीन नभएपनि अर्को वर्ष सन् २०२२ मा आउने तयारी भइरहेको इजरायली उच्च अधिकारीले जनाएका छन् ।

‘इजरायली प्रधानमन्त्रीको भारत भ्रमणका लागि हामीले काम गरिरहेका छौँ, अहिलेसम्म भ्रमणको मिति तय भएको छैन, चाँडै नै निधो हुने हाम्रो विश्वास छ,’ भारतका लागि इजरायली राजदूत नाओर गिलोनले भने ।

सन् २०२२ को मध्यतिर प्रधानमन्त्री बेनेटले भारतको भ्रमण गर्ने अपेक्षा गरिएको राजदूत गिलोनले जानकारी दिए ।

इजरायली प्रधानमन्त्री बेनेटले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलनका क्रममा ग्लास्गोमा भेटवार्ता गरेका थिए ।

‘साइडलाइन’ भेटवार्ताकै क्रममा उनीहरूबीचमा भ्रमणको कुरा उठेको र द्वीपक्षीय गृहकार्यका आधारमा मिति तय गर्ने सहमति भएको उनले बताए ।

पछिल्लो समय इजरायल र भारतबीचमा सम्बन्ध थप बलियो बनाई सहकार्य गर्नेबारेमा विभिन्न चरणमा छलफल भइरहेका छन् ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *