प्रदेश १ : मुख्यमन्त्री राईले पाए विश्वासको मत

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री राईले बुधबार बसेको प्रदेश सभा बैठकबाट विश्वासको मत प्राप्त गरेका हुन् ।

पाँच दलीय गठबन्धनबाट गत कात्तिक १६ गते बनेको प्रदेश सरकारका मुख्यमन्त्रीमा राई नेतृत्वको सरकारले विश्वासको मत पाएको हो । अहिले प्रदेश सभामा कायम रहेको ९२ जना प्रदेश सभा सदस्य रहेकोमा ५० मत प्राप्त गरेको सभामुख प्रदिपकुमार भण्डारीले घोषणा गरे ।

यसैगरी विपक्षमा २९ मत परेको छ । आजको प्रदेश सभा बैठकमा ७९ जना सांसद उपस्थित थिए । योसँगै अब राई नेतृत्वको सरकार कायम हुने भएको छ ।

मुख्यमन्त्री राईलाई एकीकृत समाजवादीका अतिरिक्त माओवादी केन्द्र, नेपाली कांग्रेस, र जनता समाजवादी पार्टीले मत दिएका हुन् । उनी केन्द्रीय गठबन्धनअनुसार मुख्यमन्त्री बनेका हुन् ।

प्रदेश सभामा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १० जना, जनता समाजवादी पार्टीका ३ जना, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चका १ जना सांसदहरू रहेका थिए । ७९ जना सांसदले मतदान गरेकोमा २९ जनाले विपक्षमा र ५० जनाले सरकारको पक्षमा मतदान गरेको सभामुख प्रदिपकुमार भण्डारीले घोषणा गरे ।

यसअघि प्रदेशमा एमाले नेतृत्वको सरकार थियो । एमालेको तर्फबाट शेरधन राई मुख्यमन्त्री बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *