आज काठमाडौँमा यो बर्षको अहिलेसम्मकै चिसो

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज (बुधबार) यो वर्षको अहिलेसम्मकै कम तापक्रम मापन गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम सात दशमलव चार डिग्री सेल्सियस मापन गरिएको हो ।

मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस थियो । चिसो बढेसँगै विभागले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

काठमाडौँ उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुन्छ ।

केही दिनअघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

आज राति देशको पहाडी भ-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव चार डिग्री र अधिकतम तापक्रम २१ दशमलव आठ डिग्री सेल्सियस रहनेछ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव पाँच डिग्री र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम २९ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *